स्वास्थ्यकर्मीलाई ‘पेन प्याकेज’ सम्बन्धि तालीम दिदै काठमाडौँ महानगरपालिका

काठमाडौँ, ९ बैशाख । काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग (प्याकेज अफ एसेन्सियल नन कम्युनिकेवल डिजिज पेन) सम्बन्धि चार दिने तालीम सुरु गरेको छ ।

तालीममा महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रमा कार्यरत चिकित्सक, नर्स, प्यारामेडिक्स सहितका स्वास्थ्यकर्मीहरु सहभागी छन् ।

तालीमको आवश्यकता किन ?

अहिले विश्व नै नसर्ने रोगको चपेटामा परेको छ । नेपाल त्यसमा अछुतो रहने कुरै भएन । विश्व स्वास्थ्य संगठनले नसर्ने रोगको बढ्दो प्रकोपलाई जनस्वास्थ्यमा महामारीको संज्ञा दिन थालेको छ । काठमाडौँ महानगरपालिकाले महामारीको रुप लिन थालेको नसर्ने रोग न्युनिकरणका लागि सहयोग पुगोस भनेर स्वास्थ्यकर्मीहरुका लागि तालीम आयोजना गरेको जनाएको छ ।

हुन पनि महानगरपालिका भित्रका अस्पतालहरु (सरकारी, सामुदायिक, निजी), स्वास्थ्य केन्द्रहरुमा गएको ६ महिनाभित्र उपचारका लागि गएका बिरामीहरुको संख्या हेर्दा सबैभन्दा धेरै मधुमेह (२१ हजार ४३५ जना) का बिरामी छन् । यसपछि उच्चरक्तचाप (१९ हजार ६९२ जना), श्वासप्रश्वास सम्बन्धी (११ हजार २११ जना), दाँत सम्बन्धी (१० हजार १ सय जना), आँखा सम्बन्धी (रिफ्राक्टिभ इरर) (१० हजार २६ जना), दाँत दुख्ने बिरामी (९ हजार २ जना), ज्वरो आउने (८ हजार २४० जना), पेट सम्बन्धी समस्या भएका (७ हजार ५१५ जना), युरिनरी ट्र्याकको इन्फेक्सन भएका (६ हजार २०७ जना) बिरामीले उपचार लिएका छन् । महानगरपालिकाले यो तथ्याङ्क डिष्ट्रिक्ट हेल्थ इन्फरमेसन सिस्टम (डीएचआइएस) बाट उपलव्ध भएको जनाएको छ ।

तथ्याङ्क उधृत गर्दै स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन भन्छिन्, ‘यस्ता समस्या समाधानका लागि औषधिको मात्रासँगै स्वस्थ्यकर जीवन र खानपानका लागि परामर्श आवश्यक पर्छ । यसकारण विरामीको जाँच गर्ने र औषधि प्रदान गर्नेहरुका लागि तालिम आयोजना गरिएको हो ।’

त्यसो त प्रणालीमा गएको बर्षको अङ्क हेर्दा काठमाडौँ महानगरपालिका अस्पतालहरुमा उपचारका लागि गएका २ लाख ९७ हजार ९०९ जना नसर्ने खालको रोगसँग सम्बन्धित थिए ।

यसमध्ये मधुमेहका विरामीको संख्या सबैभन्दा धेरै ३२ हजार ३७५ जना थियो । यसपछि हाइपर टेन्सनका विरामीको संख्या ३१ हजार ३०८ जना, दाँत सम्बन्धी समस्या भएका विरामीको संख्या १८ हजार १७७, श्वाश प्रश्वास सम्बन्धी समस्या भएका विरामी १८ हजार १५ जना, टाउको दुखाइ भएका विरामी १६ हजार ७३५ जना, दाँतको दुखाइ भएका विरामीको संख्या १६ हजार १३४ जना, पेटको समस्या भएका १४ हजार ८८५ जना, निमोनिया भएका १३ हजार ४३० जना थियो ।

सर्ने रोगहरुमा डेङ्गीका विरामीको संख्या १४ हजार ९७५ जना रहेको थियो ।

नेपालमा सन् २००२ बाट यस प्रकारका समस्याको कुरा गर्न थालिएको हो । सन् २०१४ बाट कार्यक्रम सञ्चालनमा ल्याइएको हो । ‘अवस्था र आवश्यकताका विषयमा ज्ञान र सिप दिन पूरा ४ कार्य दिनको कक्षा हुनेछ ।

पहिलो दिन नसर्ने रोगको भार र जोखिम तत्वहरु, प्राथमिक स्वास्थ्य अवधारणामा नसर्ने खालका रोगको परिचयात्मक कक्षा सञ्चालन भएको जनाएको छ । भोली दोस्रो दिन आहारविहार सुधार, धुमपान तथा मद्यपान त्याग गर्नका आवश्यक आचरण, शारीरिक क्रियाकलाप र परामर्श सिप सम्बन्धी कक्षा हुनेछ ।’ डा. मल्लका अनुसार तेस्रो दिन प्राथमिक स्वास्थ्य सेवामा मुटु तथा रक्तनलीका रोग, मधुमेह, श्वाशप्रश्वास सम्बन्धी रोग, छाती र फोक्सोको व्यायाम, प्रोटोकलअनुसारको केस व्यवस्थापन अभ्यास हुनेछ । चौथो दिन, सामुहिक सहयोग, सञ्चार र प्रेषण (रेफर), समुदाय परिचालन र सहभागिता, अभिलेखन र प्रतिवेदन सम्बन्धी कक्षा सञ्चालन हुनेछ ।

जनस्वास्थ्य अधिकृत मञ्जु मास्केका अनुसार, असार मसान्तभित्रमा ७५ जना स्वास्थ्यकर्मीलाई तालिम दिने कार्यक्रम छ । एउटा समूहमा २५ जना राखेर २ समूहमा तालिम दिइनेछ । यसबाट नसर्ने रोगका विरुद्धका कार्यक्रममा प्रभावकारिता बढ्ने अपेक्षा राखिएको, मास्केले जानकारी दिईन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *