स्वास्थ्य बीमा बोर्ड : एक वर्षे करारमा पदपूर्ति गर्न खोलिएको दर्ता अधिकारीको विज्ञापन ११ महिना पछि रद्ध

काठमाडौँ, २९ फागुन । स्वास्थ्य बीमा बोर्डले एक वर्षे करार सेवामा पदपूर्ति गर्न ११ महिना अघि प्रकाशित गरेको दर्ता अधिकारीको विज्ञापन रद्ध गरेको छ । लिखित परीक्षामा प्राविधिक त्रुटि भएको भन्दै गत २४ फागुनमा बसेको बोर्डको बैठकले सो विज्ञापन रद्ध गरेको हो ।

बोर्डले गत १४ बैशाख २०८० मा ५५ जना दर्ता अधिकारी पदपूर्तिका लागि पहिलो पटक सूचना प्रकाशित गरेको थियो । सो सूचना बमोजिम १ हजार ४२९ जनाले आवेदन दिएका थिए ।

आवेदकहरु धेरै भएपछि बोर्डले छनौटको जिम्मा लोकसेवा आयोगलाई दिएको थियो । आयोगले २ असारमा परीक्षा समेत लिएको थियो । तर बीचमा सरकारका मन्त्रीहरुमा भएको फेरवदल, बोर्डका पदाधिकारी तथा कार्यकारी निर्देशक फेरिने क्रमले नतिजा प्रकाशनमा ढिलाई हुँदै आएको थियो ।

गत २४ फागुनको बोर्ड बैठकले २ असारमा लिइएको लिखित परीक्षामा प्राविधिक त्रुटि भएको बताएको छ । उसले अब ५५ जनाको मात्रै नभई थप रिक्त ८८ जना समेतलाई जोडेर कुल १४३ जना पदपूर्ति गर्न दरखास्त आव्हान गर्ने जनाएको छ । नयाँ पदपूर्ति गर्दा यसअघि परेको १ हजार ४२९ जनाको दरखास्तलाई यथावत राख्ने अर्थात उनीहरुले पुन दरखास्त दिन नपर्ने निर्णय बोर्डले गरेको छ ।

देशव्यापी रुपमा विस्तार भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अघि बढाउन जिल्ला तथा केन्द्रमा दर्ता अधिकारीहरुको महत्वपूर्ण भूमिका रहेको छ । दर्ता सहयोगीले उपलव्ध गराएको विवरणलाई उनीहरुले डाटा इन्ट्रि गरेपछि मात्रै व्यक्ति स्वास्थ्य बीमा कार्यक्रम आवद्ध हुने र सेवा सुविधा लिन सक्छ ।

तर, ठूलो संख्यामा दर्ता अधिकारीहरु रिक्त भएको र पदपूर्ति पनि लामो समय देखि हुन नसक्दा स्वास्थ्य बीमा कार्यक्रमले प्रभावकारी रुपमा गति लिन समेत सकेको छैन ।

यो पनि पढ्नुहोस्………………..

एक वर्षे करारमा ५५ जना दर्ता अधिकारी नियुक्त गर्न खोजियो, आठ महिना अघिको सो विज्ञापनको नतिजा नै रोकियो

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *