स्वास्थ्य बीमा बोर्डमा जनशक्ति अभाव : सेवा प्रभावित

एक वर्षे करारमा ५५ जना दर्ता अधिकारी नियुक्त गर्न खोजियो, आठ महिना अघिको सो विज्ञापनको नतिजा नै रोकियो

डाटा इन्ट्रि नहुँदा १ मंसिर देखि पाउनु पर्ने सुविधा पाएनन् विमितले
फाइल तस्बिर

काठमाडौँ, २४ मंसिर । स्वास्थ्य बीमा बोर्डले ५५ जना दर्ता अधिकारी करार सेवामा पदपूर्ती गर्न आठ महिना अघि विज्ञापन गरे पनि नतिजा प्रकाशित गर्न सकेको छैन्।

नतिजा प्रकाशनमा ढिलाई हुँदा त्यसको असर स्वास्थ्य बीमा गराइ सेवा लिने समय भएका नयाँ विमितहरुमा परेको छ ।  यता बीमा बोर्डमा रोजगारीको आशामा नयाँ काम थालनी नगरी बसेका १ हजार ४२९ जना आवेदकहरुमा झन् अन्योल थपिएको छ ।

काजमा रहेर दर्ता अधिकारीको रुपमा काम गरेका पाँचौँ तहका स्वास्थ्यकर्मीहरुलाई पुरानै दरबन्दीमा फर्कन स्वास्थ्य मन्त्रालयले निर्देशन दिने भएपछि स्वास्थ्य बीमा बोर्डले त्यस अघि नै ५५ जना दर्ता अधिकारीका लागि विज्ञापन गरेको थियो ।

पहिलो सूचना १४ बैशाखमा १५ दिनको अवधी राखेर प्रकाशित गरेको बोर्डले त्यसपछि थप एक साता लम्व्याएको थियो । परीक्षा भने २ असारका लागि तोकेको थियो ।

तोकिएको अवधी भित्र १ हजार ४३७ जनाले फारम भरे पनि ८ जनाको आवश्यक कागजात नपुगेको भन्दै परीक्षा समितिले आवेदन रद्ध गरेको थियो । तर, परीक्षा लिएको समेत साढे पाँच महिना वितिसक्दा नतिजा आउन सकेको छैन ।

त्यसो त आवेदकको संख्या ठूलो भएपछि पाठ्यक्रम तयार गर्न परीक्षा लिन बीमा बोर्डले लोक सेवा आयोगसंग सहयोग लिएको थियो । परीक्षा आयोगले आफ्नै विधि अनुसार लिएको छ । परीक्षार्थीहरुको कापी जाँच कोडिङ भइसकेको छ । नतिजा पनि तयार भइसकेको छ तर को को उत्तीर्ण भए भनेर जान्नका लागि नतिजालाई डिकोडिङ गर्नु पर्छ । बोर्डले ‘गो अहेड’ नभन्दा नतिजा रोकिएको हो ।

बाहिरबाट हेर्दा बोर्ड देखिए पनि नतिजा प्रकाशनका लागि मन्त्रालयले ‘ग्रिन सिङ्नल’ नदिएका कारण यो ढिलाई भएको बोर्डका एक कर्मचारी बताउँछन् ।

उता बोर्डकै निमित्त कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले भने आफू बोर्डका कार्यकारी निर्देशक निलम्बनमा र सदस्यहरुले राजिनामा दिएपछि सम्हाल्न गएको भन्दै अब बोर्ड अध्यक्ष र केही सदस्यहरु पनि नियुक्ति भइसकेकोले यसलाई चाँडो टुंग्याउने पक्षमा रहेको बताउँछन् । ‘अगाडी किन ढिलो भयो भन्ने कुरा त मैले जान्ने कुरा भएन, मैले त अहिले निमित्तको रुपमा काम गरिरहेको छु, म आउँदा न अध्यक्ष न सदस्यहरु कोही पनि भएको अवस्था थिएन । अब चाहि अध्यक्ष र दुई जना सदस्य नियुक्त हुनु भएको छ । अब छिटैनै यो विषयले टुंगो लाग्छ होला,’ डा उपाध्यायले भने ।

नतिजा ढिलाईले सेवामा परेको असर

सांकेतिक तस्बिर : एआईद्धारा तयार पारिएको

दर्ता अधिकारी भनेको दर्ता सहयोगीहरुले बीमा गराएर ल्याएको व्यक्तिहरुको रुजु गरी दर्ता गर्ने अधिकारीहरु हुन् । यसअघि ३०५ जनाको दरबन्दी रहेकोमा अहिले १२२ जना जतिले मात्रै काम गरेका छन् । जनशक्ति कम हुँदा बोर्डको सिस्टममा समयमै विमितको दर्ता नहुने र सेवा लिन अस्पताल जाँदा सुविधा नपाउने भएको छ ।

‘खासमा मंसिर १ देखि सेवा लिने मान्छेहरु तीन महिना नै विमित भएका हुन्छन् । साउन भदौ असोज गरी तीन महिना भरी बीमा आवद्ध गरिन्छ । कात्तिक १ महिना खाली हुन्छ, यो महिना डाटा इन्ट्री गर्ने महिना हो । उनीहरुले मंसिर १ देखि उपचार सेवा लिँदा बीमाको सुविधा पाउनु पर्ने हो । अहिले आधा भन्दा कम जनशक्ति भएको कारण समयमै डाटा इन्ट्री नै हुन सकेको छैन् । कात्तिक महिना भित्रै सक्काउनु पर्ने डाटा इन्ट्रिको काम मंसिरको तेस्रो साता पुग्दासम्म मुस्किलले ७० प्रतिशत भएको छ । बाँकी ३० प्रतिशत त अझै बाँकी नै छ । मंसिर १ गते देखि नै सुविधा पाउनु पर्ने ती ३० प्रतिशतले अहिले अस्पताल गए भने वीमा सुविधा पाउँदैनन्,’ एक कर्मचारीले भने ।

गत १४ मंसिरमा अध्यक्षमा नियुक्त भएका डा गुणराज लोहनी र त्यसभन्दा अघि सदस्यमा नियुक्त भएका डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठ यो विषयमा कत्तिको चासो राख्छन् त्यो भने हेर्न बाँकी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *