शिक्षा मन्त्रीको निर्देशन टेरेन केएमसीले, प्रिन्सिपल प्राडा श्रेष्ठ भन्छन्-‘यो अवस्थामा कार्वाही फुकुवा हुँदैन्’

काठमाडौँ, २४ पुस । मंगलबार काठमाडौँ विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको निर्देशन पछि काठमाडौँ मेडिकल कलेज (केएमसी)ले आवासीय चिकित्सक डा. विशद दाहालमाथि गरेको निलम्बन सम्वन्धी कार्वाही फिर्ता अपेक्षा गरिएको थियो ।
तर, केएमसीले आज पनि डा दाहाललाई कलेजमा छिर्न दिएन ।
आवासीय चिकित्सकहरुले पत्र लिएर सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा छिर्न बल गरेपनि गेटमा तैनाथ सुरक्षाकर्मीहरुले छिर्न दिएनन् । सो क्रममा केहीवेर धकेलाधकेल समेत भएको थियो ।
मन्त्री राईले काठमाडौँ विश्वविद्यालयका उपकुलपतिलाई पत्र पठाउँदै निलम्बित विद्यार्थी डा. दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा शैक्षिक वातावरण तयार गर्न निर्देशन दिएका थिए।
पीजीका विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गर्न शिक्षामन्त्री राईको निर्देशन
सो पत्रको बोधार्थ केएमसीलाई पनि दिइएको थियो र त्यसमा भनिएको थियो, ‘विश्वविद्यालयको निर्देशन पालना गरी यस मन्त्रालयलाई जानकारी गराउने ।’
तर, केएमसी टसमस भएको छैन ।
उसले आफ्नो कार्वाही सम्वन्धी निर्णय मन्त्रालयको पत्रको आधारमा परिवर्तन नहुने बताएको छ ।
केएमसी प्रिन्सिपल प्राडा रतिन्द्रनाथ श्रेष्ठले डा. दाहालमाथि विद्यार्थी अनुशासन सम्वन्धी कार्वाही गरिएको भन्दै त्यसमा कलेज पछि नहटने बताए । ‘कलेजको अनुशासन सम्वन्धी आफ्नो नीति हुन्छ । त्यसमा विद्यार्थीले अनुशासनहीन गतिविधि गरेमा कार्वाही गर्न कलेज स्वतन्त्र हुन्छ । त्यहि गरिएको हो । यसलाई अनावश्यक रुपमा विश्वविद्यालय र सरकारले हस्तक्षेप गर्न खोजेको छ । यो हामीलाई मान्य हुँदैन,’ डा श्रेष्ठले भने ।
यस विषयमा प्रिन्सिपल प्राडा रतिन्द्रनाथ श्रेष्ठसंग नेपाली हेल्थका रामप्रसाद न्यौपानेले थप प्रश्न समेत गरेका थिए । उनको जवाफ यस्तो छ ।

शिक्षा मन्त्रीको पत्रपछि पनि डा विशदलाई कलेजमा छिर्न दिनु भएन है ? किन यस्तो जिद्धी ? अब कसको पत्र खोज्नु भएको हो ?
- शिक्षा मन्त्रालयले हामीलाई पत्र पठाएको होईन्, केयुलाई निर्देशन दिएको हो । केयुले दिएको निर्देशन त हामीले अस्तिनै डस्टविनमा फ्याकिदिएका हौ नि । नयाँ कुरा होईन नि यो ।
यति हल्का रुपमा लिन मिल्छ सहकुलपतिको निर्देशनलाई ?
- हामीले गलत गरेका छैनौँ । हामीले आफ्नो विद्यार्थीमाथि ‘डिसिप्लिनरी एक्सन’ लिएका हौँ । यसमा कलेज स्वतन्त्र छ ।
तपाईँहरु केयुको निर्देशन नमान्ने, मन्त्रालयको निर्देशन नमान्ने, यस्तो पनि हुन्छ र ?
- काठमाडौँ विश्वविद्यालयबाट सम्वन्धन प्राप्त पब्लिक मेडिकल कलेज हो केएमसी । यसले सञ्चालन गर्ने पीजी प्रोग्राम भनेको केयुले तयार गरेको पीजीको गाइडलाइन र केएमसीको ‘रुल एण्ड रेगुलेसन’मा आधारित हुन्छ । मैले फेरी पनि भने उनीमाथि केएमसीले गरेको अनुशासनको कार्वाही हो । यो कलेजको नितान्त आन्तरिक कुरा हो । यसमा बाहिरी हस्तक्षेप स्विकार्य हुँदैन ।
मन्त्री अर्थात सहकुलपतिले भने पनि स्विकार्य हुँदैन उसो भए ?
- यो विषयमा हुँदैन ।
अनि नेपाल चिकित्सक संघ (एनएमए)ले पनि कार्वाही फिर्ता लिन तपाईँहरुलाई अल्टिमेटम दिएको अवस्था छ ? एनएमएले भनेको पनि नमान्ने ?
- यो एनएमएको क्षेत्राधिकारमा पर्दैन । एनएमएले हेर्ने भनेको डाक्टरको पेशागत हक हितको विषय हो । पढाई लेखाई एनएमएको क्षेत्राधिकारमा पर्दैन ।
यसरी त कुरा कसरी मिल्छ ?
- म पनि त्यहि भन्दैछु । भिडभाड, हुलहुज्जत गरेर जे पनि गर्ने, अनुशासनहिन गतिविधि गर्ने, कार्वाहीको चेतावनी दिदा समेत अटेरी गर्ने र मै हुँ भन्दै हुल्लडबाजी देखाउने । त्यस्तो गतिविधि नियन्त्रण गर्न कार्वाही गर्दा झन् अराजकता फैलाउने । राजनीतिकरण गर्न खोज्ने । यसरी चल्छ चिकित्सा शिक्षा ? त्यसैले हामी यसमा स्पष्ट छौँ । यो अवस्थाले समस्या समाधान तर्फ जाँदैन ।
के भयो भने समाधान तर्फ जान्छ त ?
- हामीले केही दिन अघि विद्यार्थी प्रतिनिधिसंग छलफल गरेकै हौँ नि । त्यहाँ स्पष्ट भनिएकै थियो । त्यो कुरा उनीहरुलाई राम्ररी थाहा छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



