केडीसी जनरल अस्पतालमा एक महिना सम्म नि:शुल्क मधुमेह परीक्षण
मधुमेहीको आँखा जाँच पनि नि:शुल्क

काठमाडौँ, १ मंसिर । हरेक वर्ष १४ नोभेम्वरको दिनलाई विश्व मधुमेह दिवसको रुपमा संसार भर मनाईने गरिएको छ । यो दिवसलाई नेपालमा विभिन्न संघ संस्थाले सप्ताहव्यापी रुपमा मनाउँदै आएका छन । तर, बसुन्धरास्थि केडीसी जनरल अस्पतालले यसलाई महिना दिनसम्म मनाउने निर्णय गरेको छ ।
अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरेर नसर्ने रोग मध्येको एक प्रमुख रोग मधुमेहबारे एक महिनासम्म सचेतनासंगै नि:शुल्क ‘स्क्रिनिङ’ गर्ने जनाएको हो ।
अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले मधुमेहको जाँचका लागि मंसिर महिनाभर निशुल्क रगत जाँच गर्ने र सोही अवधीभर मधुमेह भएका बिरामीहरुको नि:शुल्क आँखा जाँच गरिदिने बताए ।
‘मधुमेहलाई बास्तवमा ‘साइलेन्ट किलर’ मानिन्छ, कतिपयलाई लक्षण विना नै पनि गम्भीर अवस्थामा पुर्याएको छ । आँखाको ज्योति गुमाई अन्धोपन ल्याउने कारक मध्ये मधुमेह पनि एक हो । त्यसैले यसविरुद्ध व्यक्तिहरु सचेत हुन जरुरी छ । आहार विहार, खानपान, र जीवन शैलीलाई स्वस्थकर बनाउनु आवश्यक छ साथै नियमित रुपमा मधुमेहको परीक्षण पनि गर्न जरुरी छ । हामीले यहि कुरालाई मध्य नजर गर्दै केडीसी अस्पतालमा निशुल्क सचेतना तथा परीक्षण शिविरको आयोजना गरेका हौँ । हाम्रो उदेश्य अन्धोपन हुनुबाट बचाउनु हो । यसपटक एक दिन होइन, सात दिन पनि होईन, एक महिनासम्म यो शिविर चलाउँदै छौँ । आम सर्वसाधारणले यो अवसर खेरा नफाल्नु होला, आफ्नो स्वास्थ्यका लागि थोरै भए पनि समय छुट्याउनु होला, केडीसी अस्पताल आएर निशुल्क जाँचको लाभ लिनु होला,’ डा. श्रेष्ठले भने ।

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रिन्सिपल प्राडा रविन्द्रमान श्रेष्ठले हाम्रो मुख्यत खानपान, जीवनशैलीका कारण मधुमेह रोग अहिले जो कसैलाई लाग्ने साझा रोग जस्तो भइसकेको भन्दै यसका लागि सचेतना र नियमित स्क्रिनिङ जरुरी रहेको बताए । उनले रगत जाँचबाट मधुमेह भएको नभएको बास्तविक अवस्था थाहा हुने भए पनि मुखबाट पनि यसको कतिपय लक्षण थाहा हुने बताए ।
‘दाँत सफा देखिन्छ, तर गिजाले छाड्दै गएको छ, मुख दाँत सफा छ तर गन्हाउँछ भने पनि मधुमेह अर्थात सुगर हुन सक्छ । यसले आँखामा समस्या ल्याउन सक्छ, मिर्गौलामा समस्या ल्याउन सक्छ, उच्च रक्तचाप हुनसक्छ । त्यसैले यसबारेमा सचेत हुनु आवश्यक छ,’ उनले भने ।
नेत्र विशेषज्ञ डा ज्योति बास्तोला पौडेलले मधुमेहको अवस्था हाम्रो जस्तो मुलुकमा भयावह बन्दै गइरहेको भन्दै यसलाई नियन्त्रणका लागि आवश्यक कदम चाल्नु पर्ने बताईन् ।
हुन पनि अन्तर्राष्ट्रिय मधुमेह संघले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रत्येक १० मध्ये १ मानिसलाई मधुमेह हुन सक्छ भने कम आयश्रोत भएका राष्ट्रहरुमा प्रत्येक ४ मध्ये ३ मानिसलाई मधुमेह हुनसक्दछ । विश्वभरका २० देखी ७९ वर्ष उमेर समुहका १०. ५५ वयस्क जनसंंख्यामा मधुमेह हुनसक्ने भए पनि त्यस मध्येको आधा जनसंख्या मात्र यसबारे जानकार रहेको पाईन्छ ।
डा पौडेलले मधुमेह भएका मध्ये ९० प्रतिशत मानिसलाई टाइप टू मधुमेह हुने गरेको र त्यसमा सामाजिक–आर्थिक, जनसंख्या, वातावरण र वंशानुगत जस्ता विषयको प्रभाव पर्ने गरेको बताइन् । उनले मधुमेह भएका प्रत्येक ३ मध्ये १ मानिसलाई डायबेटिक रेटिनोप्याथी देखा पर्ने गरेको भन्दै यसबाट जोगिनका लागि मधुमेह भएका व्यक्तिले कम्तिमा ६ महिनाको एक पटक आँखा जाँच गरी विशेषज्ञको परामर्श लिनु पर्ने सुझाव दिईन् ।
मधुमेहका असरहरुमा अन्धोपन, हृदय रोग, मिर्गौला रोग, खुट्टा काट्नुपर्ने सम्मको अवस्था र मधुमेह अनियन्त्रित भएको खण्डमा असामयिक निधन समेत हुन सक्दछ । त्यस्तै, गर्भावस्थामा रहँदा प्रत्येक ६ जनामध्ये १ जनामा मधुमेह प्रभाव देखिएको संघले जनाएको छ ।
कार्यक्रममा केडीसी जनरल अस्पताल आईकेयर सेन्टरका बी अप्टोमेट्रिस रोहित यादवले मधुमेह र यसले आँखामा पार्ने असर (डायवेटिक रेटिनोप्याथी)बारेमा बताएका थिए । उनले मंसिर महिना भर केडीसी आईकेयर सेन्टरमा मधुमेह भएका व्यक्तिको निशुल्क आँखा जाँच हुने बताए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



