लुम्बिनी प्रदेशका १३ वटा अस्पतालमा एकै पटक अध्यक्ष नियुक्ती (सूची सहित)

बुटवल, २५ कात्तिक ।  लुम्बिनी प्रदेश सरकारले रिक्त रहेको १३ वटा जिल्ला अस्पतालको अध्यक्ष नियुक्त गरेको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले गत विहीबार मन्त्रालयस्तरको निर्णय गर्दै १३ वटा अस्पतालको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि गत १ कात्तिकमा प्रदेश सकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार अन्तरगर्त रहेका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरु खारेज गर्ने निर्णय गरेको थियो । तर सोही दिन नयाँ नियमावलीको रुपमा अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली २०८० राजपत्रमा प्रकाशित गरेको थियो ।

सोही नियमावली अनुसार नियुक्ती गरिएको हो ।

‘पहिले अस्पताल पिच्छे फरक फरक विकास समिति गठन आदेश थियो । तर अहिले एकीकृत नियामावली बनाईएको छ । सोही अनुसार नियुक्ति गरिएको हो,’ मन्त्रालय स्रोतले भन्यो ।

को को भए अध्यक्ष ?

मन्त्रालयका अनुसार प्युठान अस्पतालको अध्यक्ष पदमा सुवास केसी, रोल्पा अस्पतालको अध्यक्षमा शेरबहादुर थापा, गुल्मी अस्पतालको अध्यक्षमा ढुण्डिराज पोख्रेल नियुक्त भएका छन् ।

यस्तै रामपुर अस्पताल पाल्पाको अध्यक्षमा श्यामकान्त खनाल, अर्घाखाँची अस्पतालको अध्यक्षमा लिलाधर बस्याल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अध्यक्षमा जीवनप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।

यसैगरी कपिलवस्तु अस्पतालको अध्यक्षमा शिवलाल यादव, बर्दिया अस्पतालको अध्यक्षमा लखनलाल चौधरी, भीम अस्पताल भैरहवाको अध्यक्षमा डा अनन्तकुमार शर्मा नियुक्त भएका छन् ।

यस्तै पाल्पा अस्पताल तानसेनको अध्यक्षमा चोपलाल गिरी, राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरको अध्यक्षमा दीपक शाह, रुकुम पूर्वको अस्पताल अध्यक्षमा सुनीलकुमार रोका र पृथ्वीचन्द्र अस्पताल नवलपरासीको अध्यक्षमा दुलारी हरिजनलाई नियुक्त गरिएको छ ।

यसअघि प्रदेश सरकारले १ कात्तिकमा अस्पताल विकास समिति –गठन तथा सञ्चालन ) नियमावली २०८० जारी गरेको थियो । सो नियमावलीले अध्यक्ष पदमा नियुक्त हुनका लागि योग्यता तोकेको छ ।

जसमा ‘प्रदेश भित्र सामाजिक क्षेत्रमा आवद्ध रही कम्तीमा १५ वर्ष काम गरेका र कुनै पनि विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेका व्यक्तिमध्येबाट एक जनालाई मन्त्रालयले मनोनित गर्ने,’ भन्ने रहेको छ ।

गत विहीबार नियुक्त भएका अध्यक्षहरुको पदावधी चार वर्षको रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *