बागमती प्रदेशका स्वास्थ्यका कर्मचारीको सरुवा, स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बने डा. भुवन पौडेल

काठमाडौँ, १७ कात्तिक । बागमती प्रदेश सरकारले स्वास्थ्य समूहका केही कर्मचारीहरुको सरुवा गरेको छ । बिहीबार मुख्यमन्त्री कार्यालयले प्रमुख सचिवस्तरीय निर्णय गर्दै केही कर्मचारीहरुको सरुवा गरेको हो ।
त्यसरी सरुवा हुनेमा स्वास्थ्य कार्यालय काठमाडौँमा प्रमुख सागर घिमिरे रहेका छन् ।
दशौँ तहका उनलाई प्रदेश स्वास्थ्य निर्देशनालय हेटौडाँमा पठाइएको छ । उनको स्थानमा डा. भुवन पौडेललाई ल्याइएको छ । डा पौडेल यसअघि प्रदेश स्वास्थ्य तालीम केन्द्र काठमाडौँका प्रमुख थिए ।
उता लुम्बिनी प्रदेश स्वास्थ्य तालीम केन्द्रमा दरबन्दी रहे पनि काजमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुखको रुपमा कार्यरत महेश्वर प्रसाद श्रेष्ठको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाटै काज फिर्ता भएपछि घिमिरेलाई त्यहाँ पठाइएको बताइएको छ ।
बिहिबार नै चण्डेश्वरी अस्पतालका मेसु नविन दर्नाललाई प्रदेश स्वास्थ्य निर्देशनालयको चिकित्सा शाखामा सरुवा गरिएको छ ।
यस्तै निर्देशनालयमा रहेका नवौँ तहका दिनेश रुपाखेतीलाई स्वास्थ्य कार्यालय चितवनको प्रमुख बनाइएको छ । त्यहाँ यसअघि सातौँ तहका इन्द्रमणी भण्डारीले प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



