‘पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप किन आवश्यक ?’

विज्ञहरु भन्छन्, - 'भ्रममा नपर्नुहोस्, 'आफ्ना छोरीहरुलाई ढुक्कले लगाउनुहोस '

काठमाडौँ, १९ असोज । भविस्यमा लाग्न सक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन विश्वका ११७ वटा देशले त्यसविरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा  सूचीबद्ध गरेको छ । तर नेपाल सरकारले भने यो कार्यक्रमलाई अहिले पनि ‘पाइलटिङ’ मै अल्झाएर राखेको छ ।

हुन पनि सन् २००६ मा पहिलो पटक पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी सुरु गरेको नेपाल सरकारले त्यस यता कम्तिमा तीन पटक यस्ता ‘पाइलटिङ’ गरिसकेको छ । तर, राष्ट्रिय खोप कार्यक्रममा  यसलाई अझ पनि समेटन सकेको छैन । परिणामत:  देशमा अहिले प्रत्येक दिन ६ जना महिलाले पाठेघरकै मुखको क्यान्सरको कारण ज्यान गुमाउनु परिरहेको छ ।

बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही भविश्यमा लाग्ने सम्भावनालाई ९० प्रतिशतले घटाउने एचपीभी खोप बालिका तथा किशोरीहरुलाई दिन र युवा तथा प्रौढ अवस्थाका महिलाहरुको  क्यान्सर ‘स्क्रिनिङ’ गर्ने कार्य अघि बढाउन अब ढिलाई गर्न नहुने बताउँछन् ।

‘क्यान्सर लागि सकेपछिका विभिन्न खाले दुख हामी सबैलाई थाहा छ । त्यसैले यो लाग्नै नदिनु सबैभन्दा महत्वपूर्ण कुरा हो । अहिले पाठेघरको मुखको क्यान्सर गराउने भाइरस विरुद्धका विभिन्न खोपहरु बजारमा उपलव्ध छ । यो खोप ९ देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई दिन सकियो भने यसले भविस्यमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावनालाई ९० प्रतिशतले कम हुन्छ ।  युवा तथा प्रौढ अवस्थाका महिलाहरुको स्क्रिनिङ तथा विभिन्न जाँच गरियो भने त्यसले पनि भविस्यमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावनालाई दुर गर्दछ ।  त्यसैले यी दुई काम गरिहालौँ, दायाँ बायाँ नसोचौँ,’ डा. शाहीको अनुरोध थियो ।

हो, आज राजधानीमा ‘पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्स (पानी) को आयोजनामा भएको ‘सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मुलन गर्ने लक्ष्य र सार्वजनिक निजी साझेदारी मार्फत पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको पर्वद्धन’ विषयक कार्यशाला गोष्ठीमा उनले आफ्नो प्रस्तुतिकरण सहित सरल भाषामा सम्झाईरहेका थिए ।

‘सुरुमा लक्षण हुँदैन, जब लक्षण आउँछ त्यसबेला ढिलो हुन सक्छ । त्यसैले खोप लगाउने उमेरमा खोप लगाउँ र स्क्रिनिङ गर्ने उमेरमा स्क्रिनिङ गरौँ,’ नीति निर्माता तथा मुख्य सरोकारवालाहरु सहभागी भएको गोष्ठीमा यो शव्द उनले पटक पटक दोहोर्‍याएका थिए ।

‘नसर्ने रोग सरुवा रोग जस्तो हल्ला गरेर पनि आउँदैन, भर्खरै हामीबीचबाट सुस्ताएको कोभिड – १९ ले अढाई वर्षको अवधीमा ११ हजार केही बढी नेपालीको ज्यान लियो । तर यसको नियन्त्रणको लागि राज्यले अर्वौ पैसा खर्च गर्न राजी भयो । नेपाल मात्रै होईन यसविरुद्ध सारा विश्व नै लाग्यो । फास्ट ट्रयाकबाट अनुसन्धान भयो । खोप पनि आयो र अभियान चल्यो । कोभिडविरुद्धको खोप अभियान अहिले पनि जारी छ । तर, थाहै नपाई लागेर बार्षिक झण्डै २ हजार महिलाको ज्यान लैजाने पाठेघरको क्यान्सर विरुद्ध खोप १७ वर्ष अघि पाइलटिङ गरे पनि अहिले पनि राष्ट्रिय खोप कार्यक्रममा पर्न सकेको छैन ।  यो चिन्ताको विषय पनि हो,’नीति निर्मातालाई ध्यानाकर्षण गराउने क्रममा डा. शाहीले भने ।

बरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा शिला बर्मा एचपीभी खोपलाई तत्काल राष्ट्रिय खोप कार्यक्रममा समाहित गरि देशव्यापी रुपमा सञ्चालन गर्नु पर्ने बताउँछिन् । ‘मूल्यको कुरामा दातृ निकायसंग समन्वय गर्ने अहिले सार्वजनिक निजी साझेदारीको अवधारणा पनि छ, विभिन्न गैर सरकारी संस्थाहरुको सहयोग लिन पनि सकिन्छ । तर यो कार्यक्रमलाई अब चाहि पाइलटिङ भन्न भएन । साच्चिकै अभियान बनाउनु पर्‍यो’ उनले भनिन् ।

प्राडा बर्माले सन् २००६ देखि २०१३ सम्म १० जिल्लाका ३० हजार किशोरीहरुलाई पाइलटिङ भन्दै सरकारले पहिलो पटक एचपीभी खोप दिएको बताईन् । त्यसपछि सन् २०१५ मा स्वास्थ्य मन्त्रालयले पुन पाइलटिङ भन्दै कास्की र चितवनमा यो खोप सुरु गरेको थियो । यसपटक फेरी त्यस्तै गरेको छ । गतवर्षको बजेटबाट खरीद गरेर ल्याएको २० हजार खोप गत भदौको अन्तिम साता देखि असोजको १० गतेसम्म सातै प्रदेशका सात ठूला अस्पतालमा लगेर १४ वर्षका किशोरीलाई दिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपटक खोप अभियानलाई डेमोस्ट्रेसनको रुपमा परिभाषित गर्‍यो ।

खासमा सन् २००६ देखि सुरु भएको एचपीभी खोप अभियान २०२३ सम्म आइपुग्दासम्म पनि स्थायित्व नहुनु दुखद भन्दै पूर्व महानिर्देशक समेत रहेकी बरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा शिला बर्माले भनिन्, अब चाहि सरकारले एचपीभी खोप राष्ट्रिय खोप कार्यक्रममै समेटेर अघि बढाउनु पर्छ ।

उनले खोप अभियान भन्दा अघि नै खोपको महत्वबारे जनचेतना जगाउनु आवश्यक रहेको बताईन् । धेरै पटक सुरु हुने र रोकिने भएको कारणले खोपका बारेमा विभिन्न भ्रमहरु सिर्जना भएका हुन्छन् । यसलाई चिर्नु पनि आजको आवश्यकता हो । कार्यक्रममा उनले भनिन् ।

‘ढुक्क भएर एचपीभी खोप लगाउनुहोस्’

 

पाठेघरको मुखको क्यान्सर रोकथाममा एचपीभी खोपको महत्वबारे प्रस्तुति दिएका डा शाहीले आम अभिभावकलाई आफ्ना छोरीहरुलाई ढुक्कले खोप लगाईदिन आग्रह गरे । ‘पाठेघरको मुखको क्यान्सर गराउने एचपीभीका विभिन्न टाइपहरु हुन्छन्, त्यसमध्ये टाइप १६ र १८ मुख्य हुन् । यसलाई रोक्नका लागि अहिले कम्तिमा चारवटा खोपहरु बनेका छन्,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनले मान्यता दिएको एचपीभी खोपहरुमा अहिले गाडासिल, गाडासिल -९, सर्भरिक्स, र सिकोलिन ब्राण्डका चारवटा खोपहरु आएका छन् ।  पछिल्लो पटक नेपालमा आएको र सहज उपलव्ध हुने खोप सिकोलिन भएको छ । कतिपयले सिकोलिनलाई चिनियाँ खोप भनेर शंका व्यक्त गरेको पनि पाइयो, त्यस्तो होईन, खोप विभिन्न अनुसन्धानका चरण पार गरेर आएको हुन्छ । यसैले प्रभावकारीतामा शंका गर्नु पर्दैन । ढुक्कले लगाउँदा हुन्छ,’ डा. शाहीले भने ।

उनले ९ देखि १५ बर्ष मुनिका बालिकाहरुलाई सबैभन्दा उत्तम हो भन्दै उनीहरुका लागि छ महिनाको अन्तरमा दुई डोज दिनु पर्ने बताए । १५ भन्दा माथि २६ वर्ष सम्मका महिलाहरुले एचपीभी खोप तीन डोज लिनु पर्ने भन्दै त्यसभन्दा माथिका उमेरका महिलाहरुले भने लिएर खास फाइदा नहुने बताए ।

उनले तर २१ बर्ष देखि ६५ वर्षसम्मका महिलाहरुले प्यापेस्मेयर तथा भिआईए टेष्ट लगायतका जाँच गर्नु पर्ने बताए । नेपालमा बालिकाहरुलाई यो खोप दिदा भविस्यमा सन्तान नहुने भन्ने समेत हल्ला चलेको आफूले सुनेको भन्दै यसमा कुनै सत्यता नभएको समेत स्पष्ट पारे ।

कार्यक्रममा पानीको तर्फबाट दिक्शिखा भण्डारीले एचपीभी खोपका लागि सार्वजनिक निजी साझेदारी अवधारणा कसरी सहयोगी बन्छ भनेर कार्यपत्र प्रस्तुत गरेकी थिईन् । यस्तै क्यान्सर सर्भाइभर प्रमिता खनाल, सुमित्रा बस्नेत लगायतले रोगपछिको आफ्नो अनुभव र बलियो आत्मविश्वास कसरी राख्ने भन्नेबारेमा अनुवभ बताएका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा समुहगत छलफल भएको थियो । सो छलफलमा प्राडा बर्मा सहित नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, परोपकारप्रसुतिगृह अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी, अन्तराष्ट्रिय गैर सरकारी संस्था नेपाल ( एआईएन) का अध्यक्ष भगवान श्रेष्ठ, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेल लगायतले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप प्रभावकारिता र बालिकाहरुमा सहज पहुँच तथा उपलव्धताको लागि गर्नु पर्ने कार्यका बारेमा धारणा राखेका थिए । कार्यक्रमको समापन पूर्व सांसद उमा रेग्मीले गरेकी थिईन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *