आयोगले भन्यो, ‘चिकित्सा शिक्षा अध्ययन्का लागि विदेश जानु पर्दैन, जनशक्ति अपुग पनि छैन’
काठमडौँ, १४ भदौ । बाहिरको छाडौँ काठमाडौँकै ठूला सरकारी तथा निजी अस्पतालले चिकित्सक तथा नर्सहरुका पदपूर्ति गर्न खोज्दा कहिलेकाँही पुरा कोटामा आवेदन पर्न छाडेको छ । आवेदन परि हालेमा एक वर्ष टिक्न मुस्किल हुने गरेको अस्पताल सञ्चालकहरुको गुनासो छ ।
नेपालमा पढेका दक्ष चिकित्सक, नर्स, प्यारामेडिक्सहरु युरोप, अमेरिका तथा मध्यपूर्वका विभिन्न देशमा पलायन हुने क्रम बढ्दो छ । तर चिकित्सा शिक्षा आयोगले स्वास्थ्यका विभिन्न परिषदमा दर्ता भएका जनशक्तिको विवरण प्रस्तुत गर्दै चिन्ता लिनु नपर्ने सन्देश सहितको सूचना प्रकाशित गरेको छ ।
आयोगले स्वास्थ्य जनशक्ति अपुग रहेको, उत्पादन भएका जनशक्तिलाई देशमा टिकाउन नसकेको, चिकित्सा शिक्षा सम्वन्धी विषय अध्ययनका लागि विदेश जानु परेको कुरामा सत्यता नरहेको दावी गरेको छ । उसले भनेको छ । यी विषयमा विभिन्न समूहले धर्ना, विरोध र मिडियामार्फत यस्ता प्रचार प्रसार गरी भ्रम फैलाइएको ठोकुवा गरेको छ ।
आयोगको दावी यस्तो छ
हाल नेपालमा मेडिकल चिकित्सक २७ हजार ८०५ जना, दन्त चिकित्सक ४ हजार ४१३ जना नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । नर्सिङ्ग तर्फ १ हजार ३२६ जना विशेषज्ञ नर्स, ७३ हजार ८८९जना नर्स, ५१ जना मिडवाइफ, ३७ हजार १८३ अनमी रहेको उल्लेख गरेको छ । यसैगरी आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ५ हजार ६१५ जना रहेको छ ।
यसैगरी आयोगले आर्थिक सर्भेक्षण २०७९ ०८० को विवरणलाई स्रोत मानेर सरकारी सेवामा डाक्टर ६ हजार १३७ जना, नर्स अनमी २७ हजार ६८३ जना, कविराज ६७४ जना, बैद्य ५९३ जना र स्वास्थ्य सहायक १५ हजार ८९६ जना रहेको बताएको छ ।
तर संख्यामा उल्लेखित जनशक्ति सबै नेपालमा छन् ? पर्याप्त जनशक्ति छन् भन्ने आधार भने स्वयं त्यस क्षेत्रका विज्ञहरुले समेत भन्न सकिरहेका छैनन् ।
आयोगले जारी गरेको सूचनामा आफू योजनावद्ध रुपमा स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सम्वन्धी विषय विज्ञसहितको प्रत्यक्ष सम्लग्नता, समन्वय र सहयोगमा नेपालका लागि २०८७ सालसम्म विधागत क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आकलन, प्रक्षेपण तथा आपूर्ति योजना तयार गरेको जनाएको छ ।
मध्यम तहका स्वास्थ्य जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)को सम्वन्धनमा सञ्चालित कतिपय नर्सिङ्ग कलेजहरु आयोगले बन्द गरिदिएको र भारतीय सिमा क्षेत्रमा नेपाली विद्यार्थीलाई लक्षीत गरि धमाधम नर्सिङ कलेजहरु खुलिरहेको सन्दर्भ उप्काउँदै पछिल्लो समय आयोगविरुद्ध धर्ना तथा विरोधका कार्यक्रमहरु चलेका छन् ।
त्यसो त आयोगमा यतिवेला नयाँ कार्यकारी उपाध्यक्ष चयन गर्ने बेला भएको छ । बर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले आगामी नेतृत्वमा पुन दोहोरयाउने मनसायका साथ आवेदन भरेका छन् । उनको पहिलो कार्यकाल चर्चा र विवादबीच सकिदै छ । यसपटक आयोगको कार्यशैलीलाई लिएर विरोध तिब्र हुँदै जाँदा आयोगले सूचना प्रकाशित गरेको हो ।
सम्पर्क इमेल : [email protected]