स्टार अस्पतालले गर्यो २०० जनाको जोर्नी प्रत्यारोपण
ललितपुर, ५ भदौ । सानेपास्थित स्टार अस्पतालले पछिल्लो पाँच वर्षमा २ सय जना बिरामीको जोर्नी प्रत्यारोपण गरेको छ । अस्पतालका बरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा दीर्घराज आरसीको नेतृत्वमा डा सुमन मरहठ्ठा र डा राम ईश्वर यादव सहितको टिमले २ सय जनाको जोर्नी प्रत्यारोपण गरेको हो ।
जोर्नी प्रत्यारोपणको यो संख्यालाई स्टार अस्पतालले निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुले गरेको सबैभन्दा बढी केश भनेको छ ।
यसैबीच अस्पतालले २ सय जोर्नी प्रत्यारोपण गर्न सफल भएको अवसरमा आज विशेष समारोहको आयोजना गरेको छ ।
सो अवसरमा बोल्दै अस्पतालका कार्यकारी अध्यक्ष किशोर महर्जनले डाक्टरहरुको उत्कृष्ट टिम, अस्पतालका कर्मचारीको सहयोग एवं बिरामीको विश्वासका कारण यति छोटो समयमा २ सय जना बिरामीको जोर्नी प्रत्यारोपण गर्न सफल भएको बताए । उनले यो सेवालाई अझ चुस्त बनाउन थप उपकरण तथा प्रविधि भित्र्याउने बताए । अध्यक्ष महर्जनले स्टार अस्पताललाई जोर्नी प्रत्यारोपणको क्षेत्रमा नेपालकै उत्कृष्ट सेन्टर बनाउने दावी गरे ।
कार्यक्रममा स्टार अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा दीर्घराज आरसीले एउटा निजी रुपमा सञ्चालित अस्पतालमा यति धेरै जोर्नी प्रत्यारोपण हुनु ठूलो कुरा भएको बताए । उनले आफ्नो टिमबाट पछिल्लो १३ वर्षको अवधिमा २ हजारको हाराहारीमा जोर्नी प्रत्यारोपण गरेकोमा २ सय केश स्टार अस्पतालमा गरेको बताए ।
नेपालमा जोर्नी प्रत्यारोपण गर्ने बिरामीको संख्या धेरै भए पनि आर्थिक अभाव, जनचेतनाको कमी, उपचारमा पहुँच नहुँदा धेरै बिरामी अपांग जस्तै भएर बस्न बाध्य भएको भन्दै यसबारे सरकारले सोच्नपर्नेमा डा आरसीले जोड दिए । उनले भने, ‘सरकारले जसरी मुटुरोग, मिर्गौला रोगमा बिरामीलाई सहुलियत दिएको छ त्यसरी नै जोर्नी प्रत्यारोपणमा पनि सहुलियत दिन जरुरी छ । यसले यो सेवामा सबैको पहुँच पुग्छ ।’
कार्यक्रममा अस्पतालका अर्का जोर्नी प्रत्यारोपण विशेषज्ञ डा सुमनबाबु मरहठ्ठाले नेपालमा प्राइभेट अस्पतालमा छोटो समयमा २ सय जोर्नी प्रत्यारोपण हुनु गर्वको विषय रहेको बताए ।
उनले जोर्नी विशेष गरेर घुँडा र हिप यी दुबैको सुरुकै अवस्थामा प्रत्यारोपण गर्ने नभई पहिले औषधि, एक्सरसाइज तथा फिजियोथेरापी गरेर हेरिने र अन्तिम अवस्थामा मात्र प्रत्यारोपणको सल्लाह दिइने जनाए । उनले भने, यो लाइफ चेन्जिङ अपरेशन हो । घुँडा दुखेर थला परेका बिरामी शल्यक्रिया लगत्तै मजाले हिडन सक्छन् ।
कार्यक्रममा स्टार अस्पतालमा जोर्नी प्रत्यारोपण गरेपछि सामान्य जीवन यापन गरेका दुई जना पूर्व बिरामीलाई समेत सहभागी गराईएको थियो ।
सो अवसरमा बोल्दै स्टार अस्पतालमा घुँडाको जोर्नी प्रत्यारोपण गराएकी उमा कार्कीले उपचार पछि आफूलाई अहिले धेरै नै सहज भएको बताइन्। उनले हिंडडुलमै समस्या भएर अब यत्तिकै होकी क्याहो भनेको बेला जोर्नी प्रत्यारोपण पछि आफू पहिले भन्दा बढी सक्रिय भएको सुनाईन ।
अर्का पूर्व बिरामी दिग्वम्बर शमशेर राणाले पनि आफूलाई जोर्नी प्रत्यारोपणले जीवन निकै सहज बनाएको सुनाए । उनले अहिले आफू आफनो काम आफै गर्न सक्ने भएको बताए ।
घुँडा तथा हिपमा धेरै नै समस्या भएर हिंडडुलमै समस्या भएमा जोर्नी प्रत्यारोपणलाई उत्तम विकल्प मानिन्छ ।
नेपालमा झण्डै ३० हजार बिरामी जोर्नी प्रत्यारोपण गर्ने अवस्थामा रहेको भए पनि हाल वर्षेनी ७ सयदेखि हजार जना बिरामीको मात्र जोर्नी प्रत्यारोपण हुने गरेको बताइएको छ ।
के हो जोर्नी प्रत्यारोपण ?
डा दीर्घ राज आरसीका अनुसार जोर्नी प्रत्यारोपण भनेको अर्थोपेडिक सर्जरीको एक विशेष र छुट्टै विधा हो । हाम्रो शरीरका जोर्नीहरु विविध कारणले बिग्रन सक्छन । धेरैजसो आफ्नो उमेरका कारण, कहिले बाहिरी रुपमा लाग्ने चोटपटकका कारण त कहिले काहीं संक्रमणका कारण जोर्नी बिग्रन सक्छ । जोर्नी बिग्रिसकेपछि शरीरमा अनेकौ लक्षण देखिन थाल्छन, जसले जीवन असहज बन्न पुग्छ ।
त्यसबेला यसलाई उपचार र सर्जरी गरेर मिलाउनु अथवा शरीरमा भएको बिग्रिएको जोर्नीलाई निकालेर कृतिम जोर्नी राख्ने प्रविधीलाई नै जोर्नी प्रत्यारोपण भनिन्छ । नेपालमा धेरै जसो हिप र घुँडाको जोर्नी प्रत्यारोपण हुने गरेको छ । यी दुईमा पनि घुँडाको समस्या बढी छ ।
घुँडामा कसरी समस्या हुन्छ ?
यदि कुनै पनि कारणले घुडाँभित्र रहेको आर्टिकल कार्टिलेज (एक प्रकारको चिल्लो पदार्थ) बिग्रेमा दुई वटा हड्डी एक आपसमा नजिक हुन्छन् र घोटिन थाल्छन्, जसलाई घुडाँ खिइएको भानिन्छ ।
घुडाँ खिइने कारण
१. उमेरको कारणले खिइने रोग
२. पुरानो चोटको कारण
३. बाथ रोग
४. जोर्नीको संक्रमण
५. रगत सम्बन्धी रोग जस्तै, हेमोफिलिया
माथि उल्लेखित एक वा एकभन्दा धेरै कारणले मानिसको घुडाँ खिइने समस्या आउन सक्छ । यो समस्या सुन्दा एउटै जस्तो लागे पनि यसका विभिन्न स्टेज हुन्छन् । जस अनुसार उपचार पद्दति पनि फरकफरक हुन्छन् । बिरामीको लक्षण, डाक्टरको जाँच र एक्स(रे गरेर घुडाँ खिईने अवस्थालाई ग्रेडिङ्ग गर्न सकिन्छ ।
घुडाँ खिइने रोगलाई ४ वटा अवस्थामा (स्टेज) राख्न सकिन्छ । यी चार अवस्थामा बिरामीको लक्षण चेकजाँच र उपचार विल्कुल नै फरक हुन्छ । त्यसैले बिरामीले के बुझ्नुपर्छ भने घुडाँ खिईएको भन्दैमा सबैको उपचार एउटै हुँदैन ।
मानौ बिरामीको उमेर ४० वर्षको छ र उसको घुडाँ खिइएको छ, उसको अवस्था र उपचार तथा एउटा ६५ वर्षको बिरामीको अवस्था र उपचारमा विल्कुल फरक पर्छ । त्यसैले बिरामीले आफ्नो डाक्टरसँग घुडाँको समस्याको कारण र यदि घुडाँ खिइएको छ भने खिईएको घुडाँ कुन अवस्थामा छ प्रष्ट हुन जरुरी छ ।
जोर्नी बिग्रने बित्तिकै यसको प्रत्यारोपण नै गर्नुपर्छ भन्ने होइन। सजिलो भाषामा भन्नुपर्दा सबैको जोर्नीमा समस्या आउँदैमा दुख्दैमा प्रत्यारोपण गर्न पर्दैन र मिल्दैन पनि। शुरुमा हामी जोर्नी के कारणले बिग्रको हो कति बिग्रको छ सबै हेरेर मात्र निर्णय गर्छौ। प्रत्यारोपण नै गर्ने भनेको जोर्नी अब अन्य उपचार औषधी वा व्यायामले काम गर्दैन भन्ने लागेपछि मात्र हो ।
हामी यसलाई चारवटा स्टेजमा राख्छौं । दुई वटा स्टेज सम्म जोर्नी प्रत्यारोपण गर्नुपर्दैन । तर तेस्रो र चौथो स्टेज भनेको अब बिरामी हिंडडुल गर्न नै गाह्रो हुन थाल्यो, हिलचेयरमे बस्त्र पर्ने भइसक्यो वा खुट्टा नै बांगिन थालिसक्यौं भने अब जोर्नी प्रत्यारोपण बाहेकको अर्को उपाय नै हुँदैन्।
यसमा औषधीले कुनै काम गर्दैन। त्यो अवस्थामा भने हामी घुँडाको जोनीं प्रत्यारोपण गरेर जीवन सहज बनाउन सल्लाह दिन्छौँ ।
शल्यक्रियापछि धेरैलाई असाध्यै सहज हुने गरेको छ । यसले दुई पाइला हिंड्न पनि गाह्रो भएकाहरु एवं दिन रात दुखाइ सहन बाध्य भएकाहरुलाई वरदान नै सावित भएको छ ।
सम्पर्क इमेल : [email protected]