दादुरा रोगविरुद्धको खोप अभियान सञ्चालन हुँदै, खोप ल्याउन गाभीलाई पत्र
काठमाडौँ, ३२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने लक्ष्यका साथ मन्त्रालयले यसै आर्थिक वर्षभित्र देशभरिका बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप लगाउन अभियान सञ्चालनको तयारी गरेको हो ।
खोप अभियानका लागि स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई गत साउन– २ गते औपचारिक रुपमा पत्र पठाइ दादुरा–रुवेलाविरुद्धको खोप माग गरेको छ। खोप अभियानका लागि गाभीसँग ९७ लाख मात्रा खोप माग गरिएको छ ।
खोप नौ महिनादेखि पाँच वर्ष उमेर समूह र उच्च जोखिमका जिल्लामा १५ वर्षमुनिका बालबालिकालाई प्रदान गरिने छ ।
भारतसँग सिमाना जोडिएका २१ र उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई उच्च सङ्क्रमित जिल्लाको रुपमा लिइएको छ ।
देशभरि नै खोप सञ्चालन गर्नका लागि नेपालमा रहेको साधनस्रोत अभाव हुने भएकोले गाभीलाई खोपका लागि आग्रह गरिएको छ ।
नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार ८० प्रतिशत बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका छन्। सरकारले पहिलो पटक सन् २०१९ मा र त्यसपछि सन् २०२३ मा दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो तर कोभिड–१९ महामारीका कारण २०२३ मा निवारण गर्न नसक्ने जनाएपछि सन् २०२६ सम्म निवारण गर्ने लक्ष्य लिएको छ ।
सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने लक्ष्यका साथ यसै आर्थिक वर्षमा देशभरि नै खोप अभियान सञ्चालन गर्न थालिएको खोप शाखाले जनाएको छ ।
गाभीबाट प्राप्त भएको खोप बालबालिकालाई दुई मात्रा लगाइने छ। दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुराविरुद्धको खोप लिनु नै हो।
त्यसैले यो रोगबाट बचाउन नियमित खोपमार्फत सरकारले ९ र १५ महिनाको उमेर समूहका बालबालिकालाई सरकारले निःशुल्क दादुरा खोप दुई मात्रा प्रदान गर्दै आइरहेको छ ।
अघिल्ला वर्षहरुमा पनि सरकारले दादुरा रुवेला रोग विरुद्धको खोप अभियान शुरु गर्नु अघि स्वास्थ्यकर्मीहरुलाई विशेष तालिम दिएर प्रदेश सरकारसंग समन्वय गरी खोप अभियान शुरु गरेको थियो ।
नेपालका खोप कार्यक्रमलाई ग्लोवल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेशन (गाभी) को ठूलो सहयोग रहंदै आएको छ । ।
दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामान्यतया पाँच वर्ष मुनिका बालबालिकालाई धेरै लाग्दछ र त्यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ ।
दादुरा रोग लाग्यो भने यसका जटिलता जस्तै निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले बिरामीको मृत्युसमेत हुनसक्छ। दादुराको भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ। यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा असर गरेर वृद्धि हुने र श्वास नली एवं अरु भित्री अङ्गमा समेत सङ्क्रमण गर्दछ। दादुरा रोग सङ्क्रमण भएको (रोग लागेको) व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।
लक्षणहरू :
ज्वरो आउनु र शरीरमा राता बिमिरा देखा पर्नु दादुरा रोगका प्रमुख लक्षण हुन्। यसका साथै रुघाखोकीको लक्षण (नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि ) पनि देखिन सक्छ ।
रोगीको सम्पर्कमा आएको १०/१२ दिनपछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ। दादुरा सङ्क्रमित व्यक्तिलाई डावर र बिमिरा देखा पर्नेभन्दा चार दिन अघिदेखि डाबर देखा पर्ने र यसको चार दिनपछिसम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।
सम्पर्क इमेल : [email protected]