यसपटक पनि बढ्दै छ डेंगीको संक्रमण
'सरकारी अस्पतालमा डेंगी बिरामीको उपचार निशुल्क हुन्छ'
काठमाडौँ, २२ साउन । साउन भदौ डेंगीका लागि अनुकुल मौसम भनिन्छ । ठ्याक्कै यहि बेला देशमा डेंगी संक्रमण बढिरहेको छ ।
यो वर्ष ७ हजार ७ सय ३३ जनालाई डेंगी संक्रमण पुष्टि भइसकेको छ । ७ जनाको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी संक्रमण सुनसरीको धरानमा देखिएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष डेंगी संक्रमण नदेखिएका स्थानहरुमा यस वर्ष संक्रमण धेरै देखिएको छ ।
सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना र स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को प्राविधिक सहयोगमा ‘डेंगी महामारी र नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम’ भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि बनेका स्वास्थ्य सचिव डा.रोशन पोखरेलले डेंगीको उपचार सरकारी अस्पतालहरुमा निशुल्क भइरहेको जानकारी दिए । उनले भने, ‘संघीय तथा प्रादेशिक अस्पतालमा उपचार निशुल्क गरेका छौँ । निशुल्क उपचारका लागि ती अस्पतालहरुलाई मन्त्रालयले आवश्यक बजेटको विनियोजन गरिदिएको छ ।’
उनले कतिपय सरकारी अस्पतालमा परीक्षण समेत निशुल्क रहेको भन्दै निजी अस्पतालहरुले लिने उपचार तथा परीक्षण शुल्कमा एकरुपता कायम गर्न खोजिएको बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले डेंगी संक्रमणका लागि सशक्त भएर काम गरिरहेको बताए । संक्रमण नियन्त्रणमा जनशक्तिको अभाव र यतिवेलाको चुनौतीको रुपमा रहेको बताए ।
इडिसिडी महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले ७७ वटै जिल्लामा डेंगीको भाइरस रहेकाले कुनैपनि बेला कुनै पनि स्थानमा डेंगीले महामारीको रुप लिनेसक्ने चेतावनी दिए । उनले गत वर्ष महामारीको रुप नलिएको ठाँउमा जतिबेला पनि महामारीको रुप लिन सक्ने बताए ।
गतवर्ष काठमाडौं उपत्यका, हेटौडा, चितवनमा डेंगीले महामारीको रुप लिएको थियो ।
यसपटक धरानमा सबैभन्दा धेरै संख्यामा डेंगी संक्रमण देखिएको छ । साथै उनले वर्षौसम्म डेंगी संक्रमण देखिरहन सक्ने चुनौती रहेको बताए ।
डा मरासिनीका अनुसार अहिलेसम्म सुनसरीमा ५ हजार ३९८ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरु सबै बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत हुन् ।
कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट डा. विमल शर्मा चालिसेले नेपालमा डेंगीको ४ वटै सेरोटाइप देखिएको बताए । उनले अहिले काठमाडौंमा डेंगीका बिरामी खासै नदेखिएको भन्दै डेंगीले काठमाडौंमा महामारी लिने या नलिने भन्न थप २– ३ हप्ता कुर्नपर्ने बताए ।
नेपालमा सबैभन्दा धेरै सेरोटाइप १ र ३ देखिएको समेत उनले जानकारी दिए । साथै ८० प्रतिशत संक्रमितलाई भने डेंगीको लक्षण नदेखिएको बताए ।
एकै व्यक्तिलाई दोहोरिएर संक्रमण भए संक्रमितलाई गम्भिर बनाउन सक्ने उनको धारणा थियो ।
कार्यक्रममा उपचारात्मक महाशाखाका निर्देशक डा. अनुप बाँस्तोलाले डेंगी नियन्त्रणका लागि टायर फाल्ने अभियान सुरु गर्नपर्ने बताए । उनले अहिले पनि जताततै टायर रहेकाले ती टायरमा जमेको लार्भाले नै डेंगी फैलाइरहेको बताए ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले सम्भावित महामारी रोक्न सबै पक्ष एक जुट भएर लाग्नु पर्ने भन्दे जनचेताको अभिबृद्धिमा पनि सरकार लाग्नु पर्ने बताए ।
के हो डेंगी रोग ?
डेंगी एडिस जातको लामखुट्टेले सार्छ । लामखुट्टेले टोकेको ४ देखि १० दिनभित्र लक्षण देखिन्छ । धेरैजसो व्यक्तिहरूमा डेंगीका सामान्य तथा मध्यम खालका लक्षण देखिन्छन् । निको हुन् लक्षण देखिएको १ देखि २ हप्तासम्म लाग्छ । सन् २०२२ मा ५४ हजार ७८४ जनालाई डेंगी संक्रमण भएको थियो । ८८ जनाको मृत्यु भएको थियो ।
नेपालमा विस २०६१ सालमा पहिलो पटक डेंगी पुष्टि भएको थियो । त्यसयता बेलाबेलामा महामारीनै फैलिएको छ । सन् २०१० यता नेपालमा प्रत्येक ३ र ३ वर्षमा महामारी फैलिएको तथ्यांकले देखाएको छ । नेपालमा सन् २०१३, २०१६, २०१९ र २०२२ मा महामारी देखिएको छ ।
सामान्य लक्षण
- एक्कासी उच्च ज्वरो आउनु (१०२) डिग्री
- अत्याधिक टाउको दुख्नु
- आँखाको गेडी दुख्नु
- ढाड जोर्नीे तथा मांशपेशीहरू दुख्नु
- वाकवाकी लाग्नु,
- वान्ता हुनु
- ज्वरो आएको ३ देखि ५ दिनपछि शरीरमा रातो रातो बिमिराहरू देखा पर्नु
गम्भीर लक्षण
- अत्याधिक पेट दुख्नु
- लगातार वान्ता आइरहनु
- छिटो छिटो सास फेर्नु
- गिजा वा नाकबाट रगत बग्नु
- थकान
- वान्ता वा दिशामा रगत देखिनु
- मुख सुख्खा हुनु
- छालाको रंग पहेँलो हुनु
- कमजोर महसुस हुनु
यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्था पुग्नुपर्छ । संक्रमणमुक्त भइसकेपछि पनि लामोसमय सम्म थकानको महसुस हुनसक्छ ।
सम्पर्क इमेल : [email protected]