‘मिर्गौला प्रत्यारोपणको विकल्प डायालासिस हुँदै होईन’
'थाहा पाउँ मस्तिष्क मृत्युपछि खेर जाने अंग कसैको जीवन बचाउनका लागि काम लाग्छ'
बुटवल, १७ असार । पछिल्लो समय मिर्गौला प्रत्यारोपण गराउने व्यक्ति तथा प्रत्यारोपणको अनुमति पाउने स्वास्थ्य संस्थाको संख्या बढ्दै गएको छ । तर, त्यो भन्दा कैयौ गुणा बढी दरमा मिर्गौला फेल हुने संख्याको अनुपात आकासिएको छ । मिर्गौला फेल हुने र प्रत्यारोपण गराउनेको अनुपात नमिल्दा अहिले अस्पतालहरुमा डायलासिस सेवा लिनेहरुको भीड बढेको छ ।
शनिबार बुटवलमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा मुख्य सरोकारवालाहरुले डायलासिस गराउनका लागि पालो कुदै बस्ने भिडलाई व्यवस्थित ढंगले कम गर्दै लैजानु पर्ने बताएका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसंगको सहकार्यमा सञ्जीवनी हेल्थ मिडिया प्रालिले गरेको मस्तिष्क मृत्युपछिको अंगदान सम्वन्धी कानूनी व्यवस्था र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो बताएका हुन् ।
कार्यक्रमको मूल विषय प्रवेश गर्दै प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं बरिष्ठ प्रत्यारोपण विज्ञ डा पुकार चन्द्र श्रेष्ठले अंग प्रत्यारोपण सम्वन्धी सरकारले बनाएको कानूनी व्यवस्था र प्रत्यारोपणको अवस्थाबारे जानकारी गराएका थिए । उनले २०७२ सालमा आएको अंग प्रत्यारोपण सम्वन्धी संसोधित ऐन र २०७३ सालमा आएको नियमावलीले प्रत्यारोपणका लागि धेरै सहजता उपलव्ध गराएको भए पनि जनचेतनाको अभावमा यसले अपेक्षाकृत गति लिन नसकेको बताए ।
‘संसोधित ऐन तथा नियमावलीपछि अंगदाताको दायरा फराकिलो भएको छ । अंग लिने व्यक्तिको आफन्तहरु प्राय सबैले अंग दिन सक्छन्, हामीले सरसर्ती गन्ने हो ५१ वटा नाता सम्वन्धले यसमा योगदान गर्न सक्दा रहेछन्,’ डा. श्रेष्ठले अगाडी थपे ‘तर पनि अंग दान दिनेको संख्या कमि छ ।’
उनले यसो हुनुको पछाडी जनचेतनाको कमी हुनु नै मुख्य कारण रहेको बताए । अंग प्रत्यारोपण गर्नेको संख्या बढी रहने, अंगदान दिनेको संख्या सो अनुपातमा नबढ्दा सबै भन्दा उत्तम विकल्प मस्तिष्क मृत्युपछिको अंगदान भएको डा श्रेष्ठले थपे ।
‘अहिले पनि बार्षिक १ हजार बढीको मतिष्क मृत्यु हुन्छ । मस्तिष्क मृत्यु भएको एक व्यक्तिको शरीरबाट ८ वटा अंग झिकेर प्रत्यारोपण गर्न सकिन्छ । अहिलेलाई हामीकहाँ दुई वटा मिर्गौला र एक वटा कलेजो प्रत्यारोपण गर्न सक्छौँ । यदि मस्ष्तिक मृत्यु भएका व्यक्तिमध्ये ५० प्रतिशतले दान गर्ने हो भने पनि बार्षिक एक हजार जनालाई मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ, ५०० जनालाई कलेजो प्रत्यारोपण गर्न सकिन्छ,’ उनले भने ।
त्यसो त नेपालमा मस्तिष्क मृत्युपछि अंगदान गर्ने अभियान सुरु भएको ७ वर्ष लाग्यो । यो अवधीमा जम्मा ५ जनाले मात्रै अंगदान गरेका छन् । ती पाँच जनाबाट १० जनाको मिर्गौला र ३ जनाको कलेजो सफलताका साथ प्रत्यारोपण भएको डा श्रेष्ठले बताए ।
एक प्रसंगमा डा श्रेष्ठले सरकारले डायलासिस निशुल्क गरिदिएपछि मिर्गौला प्रत्यारोपण गर्न चासो नराखी डायलासिसबाटै निर्वाह गर्नेहरुको संख्या बढेको बताए । तर उनले डायलासिस प्रत्यारोपणको विकल्पको रुपमा नलिन आग्रह गरे ।
‘प्रत्यारोपण गरेपछि व्यक्ति स्वस्थ हुन्छ । पहिले जस्तै आफ्नो क्रियाशिल जीवन विताउन सक्छ तर डायलासिस गराएर बस्दा त्यो स्वस्थता हुन सक्दैन् । त्यसैले मिर्गौला फेल भएका व्यक्ति र तिनका परिवारले प्रत्यारोपणकै लागि क्रियाशिलता देखाउनु पर्छ । डायलासिसमै अड्किरहने होईन्’ उनले भने ।
उनले प्रत्यारोपणलाई सातै प्रदेशमा विस्तार गर्ने योजना अनुरुप गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा सेवा प्रारम्भ दिईसकेको भन्दै धनगढी, हेटौँडामा निकट भविस्यमा नै सुरु हुने बताए ।
कार्यक्रममा बरिष्ठ नेफ्रोलोजिष्ट डा कल्पनाकुमारी श्रेष्ठले करीव १० प्रतिशत व्यक्तिको मिर्गौलामा कुनै न कुनै रुपको समस्या हुने गरेको भन्दै मिर्गौला फेल हुनेको संख्या ३५० बढी थपिने बताईन् ।
उनले फेल हुनेहरुले अंगदाता नभेटेर मतिष्क मृत्यु भएका व्यक्तिको अंग पाउँ भनेर पर्खेर बसेको समेत सुनाईन् । ‘अहिले हामीकहाँ ८०४ जना मिर्गौला र २९ जना कलेजो प्रत्यारोपणका लागि त्यसरी पर्खाईमा रहनु भएको छ,’ उनले भनिन् । उनले अहिलेसम्म २ हजार ७०० बढीले मस्तिष्क मृत्युपछि अंगदान गर्ने घोषणा गरेको र त्यसमा देशका प्रधानमन्त्री देखि सर्वसाधारण सम्म रहेको समेत जानकारी दिईन् ।
उनले मस्तिष्क मृत्यु भएपछि निकाल्ने अंगहरुमा मिर्गौला भए २४ देखि ३६ घण्टासम्म, मुटु ४ देखि ६ घण्टासम्म फोक्सो ४ देखि ८ घण्टासम्म प्रत्यारोपण गरिसक्नु पर्ने समेत बताईन् । उनले अंग प्रत्यारोपणमा महिला र पुरुषबीच विभेद देखिएको समेत सुनाईन् । नेपालमा ८० प्रतिशत महिला अंगदाता र ८० प्रतिशत पुरुष अंगग्रहणकर्ता देखिएको भन्दै यसको न्युनिकरण गर्न पनि जनचेतनाको अभिबृद्धि गर्नु पर्ने बताईन् ।
कार्यक्रममा नेफ्रो सर्जन डा शक्ति बस्नेत र डा दीपेश श्रेष्ठले खानपान, आहार विहार र अन्य स्वास्थ्य समस्याले मिर्गौला फेल हुने दर बढेको भन्दै यसमा ध्यान दिन आग्रह गरे । उच्च रक्तपाच नियन्त्रण गर्नु पर्ने, खानपान र शरीरको तौललाई नियन्त्रण गर्नु पर्ने, अनावश्यक औषधिको प्रयोग नियन्त्रण गर्नुपर्ने, बर्षमा एक पटक स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए । उनले लुम्बिनी प्रदेशको बुटवलमा पनि मिर्गौला प्रत्यारोपण सेवा जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाली हेल्थका सम्पादक समेत रहेका सञ्जीवनी हेल्थ मिडियाका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य सचेतनाका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिकाका विषयमा प्रकाश पारेका थिए । उनले अंगदान सम्वन्धी कानून ल्याउन, यसलाई कार्यान्वयन गर्नका लागि नेपाली सञ्चारमाध्यमले अत्यन्त प्रभावकारी ढंगले सकारात्मक कार्य गर्दै आएको बताए ।
जनप्रतिनि तथा समाजसेवीको भन्छन्, ‘यो अभियानलाई व्यक्ति तथा परिवारसम्म पुर्याउँ’
यसैबीच अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री समेत रहेका प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले अंगदान, अंग प्रत्यारोपण र मष्तिष्क मृत्युपछिको अंगप्रत्यारोपणको बारेमा व्यापक जनचेतना जगाउन खाँचो रहेको बताए ।
उनले यसबारेमा व्यक्ति घर परिवार र समाजलाई जानकारी गराउनु पर्ने, बुझाउनु पर्ने बताए । यसका लागि राजनीति दल, सामाजिक अभियन्ता, सञ्चारमाध्यम सबैको दायित्व हुने बताए । उनले लुम्बिनी प्रदेशमा प्रत्यारोपण सेवा सञ्चालन गर्नका लागि पहल गर्ने बताए । उनले यसका लागि प्रदेश सरकार समेत सकारात्मक रहेको बताए ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले आफ्नो उपमहानगरपालिका स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको भन्दै मस्तिष्क मृत्यु र अंगदान सम्वन्धी कार्यक्रमलाई अभियानकै रुपमा फैलाउने बताए । उनले मिर्गौला, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर लगायतका जाँचहरु गर्नका लागि उपमहानगरले बार्षिक कार्यक्रम नै तय गर्दै आएको बताए ।
उनले ९ वटा जटिल रोगको उपचारका लागि संघीय सरकारबाहेक आफ्नो नगरले पनि सहयोग गर्दै आएको सुनाए ।
कार्यक्रममा समाजसेवी जीवन ओझाले मिर्गौला तथा कलेजो फेल हुने समस्या बढी रहेको अवस्थामा यो रोग लाग्नै नदिन वा यसबाट जोगिनका व्यक्ति स्वयं सचेत भएमा सजिलो हुने भन्दै त्यसका लागि सचेतना बढाउनु जरुरी रहेको बताए । उनले यसमा चिकित्सक, स्वास्थयकर्मी तथा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने समेत बताए । उनले यसबारेमा सचेत गराउन काठमाडौँ देखि बुटवल आएर कार्यक्रम गरिदिएको भन्दै आयोजक प्रति कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मी, स्वास्थ्यकर्मी, राजनीति दलका प्रतिनिधि, सामाजिक अगुवा, स्थानीय क्लव, उद्योग बाणिज्य महासंघका प्रतिनिधि, नेपाल औषधि व्यवसायी संघका प्रतिनिधि लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन हरिहर पोखरेलले गरेका थिए । कार्यक्रमस्थलमा राखिएको अंगदान शिविरमा ७ जनाले अंगदान गर्ने घोषणा गरेको संयोजक तारा श्रेष्ठले जानकारी दिईन् ।
सम्पर्क इमेल : [email protected]