भन्सार विभागको नयाँ निर्देशनले औषधि आयातकर्ता ससंकित
काठमाडौँ, १४ असार । आगामी १ साउन देखि पैठारी हुने तयारी मालबस्तु सन्दर्भमा भन्सार विभागले दिएको नयाँ निर्देशनले औषधि आयातकर्ताहरु असन्तुष्ट बनेका छन् । उनीहरुले औषधिको क्षेत्रमा विभागको निर्देशन व्यवहारिक नहुने भन्दै सो व्यवस्थालाई सच्याउन आग्रह गरेका छन् ।
भन्सार विभागले व्यापारिक संस्थाहरुलाई गत ६ असारमा लेखेको पत्रमा आर्थिक विधेयक २०८० को भन्सार अनुसूची १ को दफा ८ को उपदफा (१), (२), (३) र (४)को व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न केही व्यवस्था परिवर्तन गरिएको उल्लेख छ ।
सो नयाँ व्यवस्थामा १ साउन देखि पैठारी हुने तयारी माल बस्तु बजारमा विक्री वितरणका लागि पठाउनु अघि त्यस्ता माल बस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पुरा विवरण भएको लेभल लगाएर मात्रै पठाउन पाइने भनिएको छ । विभागले त्यसरी लेभल नगरी बजारमा विक्री वितरणको लागि पठाइएको पाइएमा अनुगमन गर्ने अधिकारीहरुले त्यस्ता मालवस्तु जफत गर्न सक्नेछ ।
औषधि आयातकर्ता संघले यहि विषयमा आपत्ति जनाएको हो । औषधिजन्य तयारी वस्तुहरुमा थप लेभलिङ गर्न नमिल्ने भन्दै व्यवहारिक पनि नहुने उल्लेख गरेको छ ।
‘हामीले अहिले ल्याइने गरेको औषधिहरुमा सम्वन्धित होलसेलर वा स्टकिष्टसम्म पुर्याउँदा प्याकेजिङको बाहिर पट्टी सामान्य विवरण खुलाएको हुन्छौँ र भित्र विल विजक भएको जानकारी पनि बाहिर नै लेखिएको हुन्छ । तर औषधिका स्ट्रिपहरुमै त्यसरी लेख्न त सकिदैन्। सम्भव पनि हुँदैन,’ नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले भने ।
उनले यस्तो निर्णयले बाहिरबाट ल्याउनु पर्ने महत्वपूर्ण जीवन रक्षक औषधि आयातमै प्रभाव पर्ने र अभाव हुनसक्ने समेत चेतावनी दिए ।
भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पून्य विक्रम खड्काले भने सामान नेपाल भित्रिईसकेपछि बजार पठाउनु अघि तयारी बस्नुमा विवरण राखेर मात्रै पठाउन भनिएको बताए । ‘बाहिरबाट कुन कम्पनीले सामान ल्याएको रहेछ । त्यसको होलसेलर को रहेछ, यी सबै विवरण थाहा हुन्छ । त्यसका लागि आयातकर्ताहरुले सहजीकरण त गरिदिनु पर्छ । विवरण टाँस गर्नुपर्छ,’ उनले भने ।
आयातकर्ताहरुले भन्सार विभागको नयाँ निर्देशन औषधिको क्षेत्रमा अव्यहारिक र असम्भव रहेको भन्दै आवश्यक समन्वयका लागि पहल गर्न औषधि व्यवस्था विभागको समेत ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले भन्सार विभागको काम भन्सारमा विलविजक हेर्ने मात्रै रहेको भन्दै औषधि आइसकेपछि त्यसको वितरणको व्यवस्था लगायतका अनुगमन गर्ने काम औषधि व्यवस्था विभागको रहेको समेत उल्लेख गरेका छन् ।
सम्पर्क इमेल : [email protected]