सरकारी अस्पतालमा विहान ८ देखि बेलुका ८ बजेसम्म ओपिडी सञ्चालनमा आउला ? के भन्छन् चिकित्सकहरु ?

 

काठमाडौँ, ६ जेठ । हुन त आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रममा पनि सरकारी स्वास्थ्य संस्थाको ओपिडी सेवाको समय विस्तार गर्ने उल्लेख थियो ।

त्यस बेला तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी स्वास्थ्य संस्थाहरुमा विहान १० बजे देखि साँझ ५ बजेसम्म ओपिडी सेवा उपलव्ध हुनेछ भनेर सरकारले अघि सारेको नीति तथा कार्यक्रम संसदको दुवै सदनमा पढेकी थिईन् ।

त्यस यताको छ वर्षमा कति सरकारी अस्पतालहरुले विहान १० देखि साँझ ५ बजेसम्म ओपिडी सेवा सञ्चालन गरे, त्यो त जगजाहेर नै छ । तर घोषणा गर्न भने सरकार पछि हट्दैन् ।

विगतमा गरिएका घोषणाको कार्यान्वयनको अवस्था नहेरी सरकारले यसपटक झन् अगाडी बढेर सामुदायिक अस्पतालमा विहान ८ बजे देखि बेलुका ८ बजेसम्म ओपिडी सेवा उपलव्ध गराउने सरकारको नीति रहेको सुनायो ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको दुबै सदनलाई सुनाउने क्रममा भनेका थिए, ‘सामुदायिक अस्पतालहरुमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चित गरिनुका साथै बहिरंग सेवा विहान ८ देखि बेलुका ८ बजेसम्म अनिवार्य सञ्चालन हुने व्यवस्था मिलाइने छ ।’

नीति तथा कार्यक्रममा आएको यो कुरालाई कतिपय चिकित्सकहरुले नयाँ घोषणा गर्ने होडबाजीमा कार्यान्वयनमा आउन नसक्ने कार्यक्रम ल्याएको टिप्पणी गरेका छन् ।

कतिपयले सामाजिक सञ्जालमा बजेट घटेको वर्तमान अवस्था, विस्तार गर्न नसकेको पुरानो दरबन्दीमा विहान ८ देखि बेलुका ८ बजेसम्म ओपिडी कसरी सञ्चालन गर्न सम्भव छ? भनेर प्रश्न समेत राखेका छन् ।

कतिपयले भने सामुदायिक अस्पताल भनिइएको र यो सरकारी अस्पताल नहुने भनेर प्रतिक्रिया दिएका छन् । ‘सामुदायिक भनेको त केही सरकारी अनुदानमा समुदाय मिलेर चलाएको अस्पताल हो । यो पूर्ण निजी पनि होइन । देशमा सरकारी, सामुदायिक, निजी गरी तीन खालका अस्पताल छन् ।त्यसलै यो सरकारीका लागि होइन,’ ती चिकित्सकको तर्क छ ।

सरकारी अधिकारीहरुले सामुदायिक भनेर सरकारी अस्पताललाई नै इन्गित गरिएको बताएका छन् । ‘भनिएको सरकारी अस्पताललाई नै हो, तर शव्दमा फरक परेको,’ स्वास्थ्यका एक अधिकारीले भने ।

उनले नीति तथा कार्यक्रममा आएको क्षेत्रीय अस्पताल भन्ने शव्दमा पनि त्रुटि रहेको बताए । ‘क्षेत्रीय अस्पताल कहाँ छ अहिले ? हटेको कति बर्ष भयो ? नीति तथा कार्यक्रमको मस्यौदा फाइनल गर्नेले यति पनि ध्यान दिएनछ्,’ ती अधिकारीले भने ।

उनले स्वास्थ्यबाट पठाइएको मस्यौदालाई नीति तथा कार्यक्रमको मस्यौदामा समावेश गर्दा व्यापक काँट छाट गरिएको र त्यसबेला धेरै नै त्रुटि भएको हुन सक्ने अनुमान गरेका छन् ।

विहान ८ देखि बेलुका ८ बजेसम्म ओपिडी सञ्चालन गर्ने विषयमा डाक्टरहरु के भन्छन् ?

सरकारी अस्पतालमा विहान ८ देखि बेलुका ८ बजेसम्म ओपिडी सञ्चालन गर्ने विषय अहिले डाक्टरबीच छलफलको विषय बनेको छ । कतिपयले यो सम्भव नहुने ठोकुवा गरेका छन् । कतिपयले भने सम्भव हुने आधार प्रस्तुत गरेका छन् ।

डाक्टर समिर लामाले विहान ८ देखि बेलुका ८ सम्म ओपिडी चलाउने सरकारको नीति तथा कार्यक्रममा समावेश बुँदा प्रति लक्षित गर्दै भनेका छन, ‘अनि त्यो ओपिडी कल्ले चलाउने रे ? डाक्टरको दरबन्दी खोल्नु छैन्, जमानाको दरबन्दीमा हेल्थ सिस्टम चलेको छ । अझ यो पाली स्वास्थ्यको बजेट घटाउने भन्ने सुनिएको छ, अनि ओपिडी चैं ८ देखि ८ ।’

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा लोचन कार्की सरकारको यो घोषणालाई अलि बढी महत्वकाक्षी हो कि भनेर टिप्पणी गर्छन् । ‘यो घोषणा आफैमा नराम्रो होइन तर सम्भव कति छ ? लगातार १२ घण्टा एउटै चिकित्सकले काम गर्न सक्दैन, श्रम ऐनले पनि दिदैन, यसलाई कार्यान्वयनमा ल्याउने हो भने दुई सिफ्टमा चिकित्सक राख्नै पर्छ । चिकित्सकले मात्रै भएन, प्यारामेडिक्स, ल्याव, एक्सरे, अरु कर्मचारी आदि सबै चाहियो । यसको व्यवस्था गर्न सकिक्छ कि सकिदैन ? त्यसो त एक स्वास्थ्य संस्था एक चिकित्सक कार्यक्रम संगै जोडिएको रहेछ, तर ओपिडी विहान जस्तै चलाउन चिकित्सक मात्रैले हुन्छ ? २०७४ सालमै १० देखि ५ बजेसम्म ओपिडी चलाउने घोषणा भएको हो । त्यसलाई कार्यान्वयन अझै ल्याउन सकिएको छैन् । अहिले बजेट सिलिङ घटेको बेलामा यो घोषणा कार्यान्वयन हुनेमा चुनौती देख्छु म,’ उनले भने ।

अर्का डाक्टर छवि पन्थी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन, ‘चानचुन १४०० डाक्टर राखेर नेपाल सरकार विहान ८ देखि बेलुका ८ बजेसम्म विरामी हेराउँछु भन्छ, के डाक्टर मसिन हो ? दरबन्दी बढाउनु पर्दैन ? लोक सेवा खोल्नु पर्दैन ? ए भुसुक्कै भुलेछु मैले,यो देशलाई त डाक्टर नै चाहिदैन क्यारे । हलि प्रथा, मुक्त कमैया प्रथा जस्तै चिकित्सा पेसामा हाल करारी प्रथा र ज्यालादारी प्रथा चलेकै छ , मोज छ, देशमा रामराज्य छ, मैले पत्याए, तपाईँले पनि पत्याईदिनुहोस्, बालै फरर ।’

डाक्टर भोजराज अधिकारीले भने, विहान ८ देखि बेलुका ८ सम्मको कार्यक्रम असम्भव नभएको बताउँछन् । ‘अस्पतालहरुले यसका लागि दुई सिफ्टमा जनशक्ति परिचालन गर्न सक्छन्, बेलुकाको सिफ्टलाई एक्सटेन्डेड हेल्थ सर्भिसको रुपमा शुल्कमा समेत केही परिमार्जन गर्न पनि सकिएला कि । त्यसका लागि जनशक्तिको व्यवस्थाका लागि नयाँ ओएनएम गरेर अघि बढ्न सकिन्छ । उनले एक चिकित्सक एक स्वास्थ्य संस्थाको कुरा पनि त्यसमै जोडिएर आउने भन्दै विगतका अनुभवले त्यसलाई सच्याएर कार्यान्वयनमा ल्याउन सकिने बताए । उनले अन्तिममा भने सम्मानीय ज्यूको उद्धेश्य उपचारको पहुँच बाहिर कोही नहुन् भन्ने नै हो, त्यही अनुसार आएको होला ।’

अहिले सरकारी अस्पतालहरुमा विहान १० देखि २ बजेसम्म ओपिडी चलेका छन् । सरकारले यसअघि नै एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम सुरु गरेको पनि हो ।

राष्ट्रिय ट्रमा सेन्टरमा तत्कालीन समयमा निर्देशक रहेका सन्तोष पौडेलले यो नीति कार्यान्वयनमा ल्याएका थिए । तर केही महिनामा यसले निरन्तरता पाउन सकेन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *