म्याद गुज्रेको औषधि बिक्री गरेको भन्दै ग्रिनसिटी अस्पतालको फार्मेसी तोडफोड (भिडियो)

976
Shares

काठमाडौँ, २ जेठ । म्याद गुज्रेको औषधि दिएर बिरामीको ज्यान गएको भन्दै बसुन्धरास्थित ग्रिन सिटी अस्पतालको फार्मेसीमा तोडफोड गरिएको छ ।

सीओपीडीको बिरामी गोरखाका ६० बर्षीय पुरुषको आइसीयूमा उपचारका क्रममा सोमबार अपरान्ह तिर ज्यान गएको थियो । आफन्तहरुले म्याद गुज्रेको औषधि दिएर ज्यान गएको आरोप लगाएका छन् ।

अस्पताल स्रोतले भने औषधिमा खरावी नभएको बताएको छ ।

‘औषधि बिक्री गर्दा फार्मेसीबाट नै हेरेर एक्सपाइरी हेरेर नै दिइन्छ । पछि चडाउने बेलामा पनि नर्सहरुले हेर्ने गर्नु हुन्छ । अझ आइसीयूमा रहेको बिरामीलाई त भन् बढी सम्वेदनशील कुरा भयो । अर्को कुरा बिरामीको मृत्यु पछि त्यहाँ प्रयोग भएका र पछि फिर्ता गर्न पठाइएका औषधिहरु हेर्दा पनि म्याद गुज्रेको छैन् । तर पछि एकाएक म्याद गुज्रेको औषधि भन्ने कुरा आयो । हामी पनि छक्क छौँ,’ एक जना चिकित्सकले भने ।

बिरामीको ज्यान गएको र त्यसमा म्याद गुज्रेको औषधि प्रयोग भएको भन्दै आफन्त बताउने समूहले अपरान्ह पाँच बजे तिर तोडफोडमा उत्रिएको थियो ।

अस्पताल भित्रकै फार्मेसीमा तोडफोड हुन थालेपछि नजिकै रहेको प्रहरीले तत्काल स्थिति नियन्त्रणमा लिएको थियो ।

काठमाडौँ प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले तोडफोड भएको खबर पाउनासाथ खटिएको प्रहरीले स्थिति नियन्त्रणमा लिएको बताए । उनले म्याद गुज्रेको औषधि विक्री गरेको आरोपमा एक जना फार्मासिस्टलाई नियन्त्रणमा लिइएको बताए । नियन्त्रणमा लिइएको व्यक्तिलाई महाराजगञ्ज प्रहरी बृत्तमा राखिएको छ ।

तोडफोडपछि अहिले अस्पतालको फार्मेसी सञ्चालनमा आएको छैन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ को पहिलो संसोधनले स्वास्थ्य संस्थामा आगजनी गर्ने, तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुरयाउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुरयाउन नपाउने व्यवस्था गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *