नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई आज खोप दिईदै

काठमाडौँ, ३१ बैशाख । सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकाहरुलाई आज खोप दिदैछ । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट खोप दिने भएको हो ।‘

बृहत खोज र खोप अभियान’ अन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले छुटेको खोप दिने व्यवस्था मिलाएको हो । यसअघि १५ बैशाखमा पनि यसै गरी छुट खोप दिएको थियो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार ५ वर्ष मुनिका करीब २५ लाख बालबालिका मध्ये झण्डै साढे ३ लाख बालबालिकाको नियमित खोप छुटेको अनुमान छ । छुटेका बालबालिकालाई नियमित खोपमा समेटन यो अभियान सुरु गरिएको हो ।

खोप शाखा प्रमुख डा. अभियान गौतमले यसअघि नियमित खोप लगाउन छुटेका बालबालिकाले नियमित खोप चल्ने सरकारी स्वास्थ्य संस्थामा गएर लिन सक्ने बताए । त्यसका लागि अभिभावकले बालबालिकासंगै खोप कार्ड लिएर जाँदा सजिलो हुने पनि उनले जानकारी दिए ।

‘हामीसंग अहिले ५ हजार स्वास्थ्य संस्था छ । आज ती स्वास्थ्य संस्थामा खोप छुट भएका बालबालिकाहरुका लागि खोप दिईने व्यवस्था मिलाइएको छ । खोप कार्ड लिएर गएमा छुटेको खोप लगाउन सजिलो हुन्छ,’ उनले भने ।

१५ महिना भित्र लगाउनु पर्ने नियमित खोपमा छुटेका ५ बर्ष भित्रका बालबालिकालाई यो खोप दिन लागिएको हो ।

नेपालमा खोप कभरेज दर राम्रो भए पनि कोभिड – १९ को महामारी र त्यसपछि जारी लकडाउनका कारण नियमित खोप लगाउनेको संख्यामा अवरोध सिर्जना भएको बताइएको छ ।

नेपाल डेमोग्राफिक हेल्थ सर्भे २०२२ ले नेपालमा ५ बर्ष मुनिका ४ प्रतिशत बालबालिकाले एउटा पनि खोप नलगाएको देखाएको छ । सर्भेले १६ प्रतिशत बालबालिकाहरुमा कुनै न कुनै एक खोप छुटेको उल्लेख गरेको छ ।

यति प्रतिवेदनलाई आधार मानेर पनि अभियान विभागले अभियान चलाएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *