खोप लगाउन छुटेका बालबालिकालाई ३१ बैशाखमा पुन: दिईदै
काठमाडौँ, २९ बैशाख । सरकारले नियमित खोप लगाउन छुटेका ५ बर्ष मुनिका बालबालिकालाई आगामी ३१ बैशाखमा छुट खोप दिने भएको छ ।
‘बृहत खोज र खोप अभियान’ अन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले त्यस दिन बालबालिकालाई छुटेका खोप दिन लागेको हो । यसअघि १५ बैशाखमा पनि यसै गरी छुट खोप दिएको थियो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार ५ वर्ष मुनिका करीब २५ लाख बालबालिका मध्ये झण्डै साढे ३ लाख बालबालिकाको नियमित खोप छुटेको अनुमान छ । छुटेका बालबालिकालाई नियमित खोपमा समेटन यो अभियान सुरु गरिएको हो ।
खोप शाखा प्रमुख डा. अभियान गौतमले ३१ बैशाखमा यसअघि नियमित खोप लगाउन छुटेका बालबालिकाले नियमित खोप चल्ने स्वास्थ्य संस्थामा गएर लिन सक्ने बताए । त्यसका लागि अभिभावकले बालबालिकासंगै खोप कार्ड लिएर जाँदा सजिलो हुने पनि उनले बताए ।
‘हामीसंग अहिले ५ हजार स्वास्थ्य संस्था छ । ३१ बैशाखका दिन ती स्वास्थ्य संस्थामा खोप छुट भएका बालबालिकाहरुका लागि खोप दिईने व्यवस्था मिलाइएको छ । खोप कार्ड लिएर गएमा छुटेको खोप लगाउन सजिलो हुन्छ,’ उनले भने ।
१५ महिना भित्र लगाउनु पर्ने नियमित खोपमा छुटेका ५ बर्ष भित्रका बालबालिकालाई यो खोप दिन लागिएको हो ।
नेपालमा खोप कभरेज दर राम्रो भए पनि कोभिड १९ को महामारी र त्यसपछि जारी लकडाउनका कारण नियमित खोप लगाउनेको संख्यामा अवरोध सिर्जना भएको बताइएको छ ।
विभागले हरेक वर्ष करीव ८० हजार बालबालिकाहरु पूर्ण खोप लगाउनबाट छुटेको अनुमान गरेको छ ।
सम्पर्क इमेल : [email protected]