शल्यक्रिया विना नै मुटुको भल्भ फेर्ने ‘टिएभीआर’ विधि बारे म्याक्स अस्पतालको अन्तरक्रिया

काठमाडौँ, २३ बैशाख । चिकित्सा विज्ञानमा भइरहेको विकासक्रमले अब मुटुको भल्भ फेर्न छाती चिर्नु पर्ने आवश्यकता छैन् । मुटु सम्वन्धी उपचार गर्ने धेरै अस्पतालहरुले अब विना शल्यक्रिया मुटुको भल्भ फेर्ने विधि ट्रान्सक्याथेटर एओर्टिक भल्भ रिप्लेसमेन्ट (टिएभीआर) विधि अपनाउन थालेका छन् ।

यो विधिबाट मुटुको भल्भ फेर्दा शल्यक्रियामा हुनसक्ने जटिलताको सम्भावना कम हुने र विरामीलाई छिटो डिस्चार्ज गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

नेपालमा शहीद गंगालाल हृदय केन्द्रले १६ फागुन २०७८ मै ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट भल्भ फेरेको थियो । चिकित्सकहरुका अनुसार टिएभीआई र टिएभीआर विधि उस्तै उस्तै हो ।

यसै सन्दर्भमा बुधबार राजधानीमा नेपाल तथा भारतका ख्यातीप्राप्त मुटु शल्यचिकित्सकबीच टीएभीआर विधिको बारेमा अन्तरक्रिया गरिएको छ ।

भारतको म्याक्स अस्पताल साकेतको आयोजनामा भएको कार्यक्रममा त्यहाँका बरिष्ठ मुटु सर्जन डा बलबिर सिंहले यस विधिको बारेमा प्रस्तुति दिएका थिए । सो कार्यक्रममा नेपालका बरिष्ठ मुटु सर्जन यादवदेव भट्ट, डा हरिहर खनाल लगायतका चिकित्सकहरु सहभागी थिए ।

कार्यक्रममा डा सिंहले पछिल्लो समयमा टिएभीआर विधिले मुटु शल्य चिकित्साको क्षेत्रमा ठूलो फड्को मारेको बताए । ‘टिएभीआर विधिबाट शल्यक्रिया गर्दा छिटो निको हुन्छ, किनभने छाती चिर्नु पर्दैन । ओपन हार्ट सर्जरी गर्दा भन्दा दुखाईमा पनि कम हुन्छ । एनेस्थेसियामा पनि सानो डोजले काम गर्दछ । अस्पताल बसाई छोटो हुन्छ । जटिल अवस्थाका बिरामीका लागि यो जीवन रक्षक विकल्प पनि हो । किनभने यसको सफलता दर उच्च छ,’ भारतबाट आएका डा सिंहले टीएभीआर विधिबाट भल्भ फेर्दा हुने फाइदा बारेमा सुनाए ।

उनले आफू कार्यरत म्याक्स अस्पतालले केही समय अघि देखि नै यो विधिबाट शल्यक्रिया गर्दै आएको समेत जानकारी दिए ।

कार्यक्रम पछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै डा सिंहले म्याक्स अस्पतालमा भइरहेको टिएभीआर) विधिको बारेमा अनुभव सेयरिङ गर्न आएको बताए ।

‘नेपालले पनि टिएभीआई विधिबाट केही भल्भ फेरेको जानकारी छ । टिएभीआर र टिएभीआई विधि उस्तै नै हो । केशको हिसावले म्याक्सले धेरै केश गरेको छ । नेपालका बिरामीहरुले पनि त्यहाँबाट सेवा लिन सक्छन्,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *