गुणस्तरहीन खाना खुवाउँछन् त्रिवि केन्द्रीय क्याम्पसका क्यान्टिन तथा क्याफ्टेरियाहरु
काठमाडौँ, २० बैशाख । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस र केन्द्रीय कार्यालय परिसरका क्यान्टिन तथा क्याफ्टेरियामा तयार भएका खानेकुरा अस्वस्थकर भएको पाइएको छ । त्यहाँ तयार भएका खानेकुराहरुको खाद्य स्वच्छता सम्बन्धी जाँच गर्दा अस्वस्थकर भएको भेटिएको हो ।
क्यान्टिन तथा क्याफ्टेरियाहरुको खाद्य स्वच्छता सम्बन्धि गरिएको एक अध्ययनको रिपोर्टमा कतिपय क्याफ्टेरिया तथा क्यान्टिनमा रहेका फ्रिजमा साल्मोनेला तथा लिस्टेरिया जस्ता फुड पोइजन समेत गराउन सक्ने ब्याक्टेरिया भेटिएको छ ।
अध्ययनबाट क्यान्टिन संचालकहरुमा ब्याक्टेरिया, तथा क्वालिटी फुड सेफ्टीबारे ज्ञान नभएको पाइएको छ । त्रिवि परिसरमा रहेका छ वटा मध्ये एउटा मात्र क्यान्टिनको पकाउने तेल मापदण्ड अनुसार रहेको पाइएको छ ।
गत जुलाई महिनामा गरिएको सो अध्ययनको प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको थियो ।
सो अवसरमा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलुवाईले विभागले फुड हाइजिन र सेफ्टीबारे तालिम दिने गरिएको र यो तालिम विश्वविद्यालयका क्यान्टिनमा पनि दिन सकिने बताए। नेपालका खाद्य बाजरमा १५ प्रतिशत अखाद्य पदार्थ भेटिने गरेको उनको भनाई रहेको छ।
उनले अब क्यान्टिन करार सम्झौता गर्दा फुड तथा हाइजिनको बुँदा राख्नुपर्ने सुझाव दिए। अखाद्य बेच्न नहुने तथा न्युनतम मापदण्ड बनाएरै सम्झौता गर्न सकिने उल्लेख गर्दे क्वालिटी अडिट गरेर वर्गीकरण समेत गर्न सकिने उनले सुझाव दिए।
त्रिवि केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख प्राडा ध्यानेन्द्र बहादुर राईले सुधारको यो पहिलो प्रयास भएको बताउदै, यहाँ व्यवस्थापक, संचालक, उपभोक्ता सबै मिलेर काम गर्नु पर्ने बताए। प्राडा राईले पुर्वाधार धेरै कमजोर भएकाले, भएका क्यान्टिनलाई क्रमिक रुपमा सुधार गर्ने र एउटा त्रिविकै नयाँ संरचना बनाउने कार्यक्रम रहेको समेत जानकारी दिए।
होलिस्टिक हाइजिनका कार्यकारी निर्देशक तथा कार्यपत्र प्रस्तुतकर्ता अशिम सिक्देलले उदेश्य पूर्ण नमूना छनौट विधिबाट ६ वटा नमुना क्यान्टिन छनोट गरी खान तयार भएका तथा भण्डारण ग़री राखिएका खाद्य पदार्थको १० वटा गुणस्तर मापनका साइडबाट हेरिएको जानकारी दिए।
सबैभन्दा पहिले कोकेसन पहिचान गरी क्यान्टिनको दर्ता, भण्डारण, किचन, प्याकेज, लेवलिङ, प्याकेजिङ तथा भेरिफिकेसन, क्रिटिकल कन्ट्रोल प्वाइन्ट, रेफ्रिजिरेसनको अवस्था कस्तो छ, ओभनको तापक्रम कस्तो अवस्थामा छ, तारेको खानेकुरा मात्र किन बढी छ, तारेको तेल पुन प्रयोग हुन्छ कि हुदैन, पाकेको खानेकुरा कसरी राख्ने गरेको जस्ता कुरा जुन अन्तराष्ट्रिय मान्यता अनुसार अडिट गरिएको जानकारी दिए।
उक्त अनुसन्धन्मा बेलायतको गुणस्तरीय प्रविधि प्रयोग गरी स्पोटमै रिजल्ट दिने गरी पकाउने तेलको गुणस्तर, पिउने पानी, भण्डारण गरिएको खाद्य पदार्थ र पाकेको खाद्य पदार्थ पनि हेरिएको थियो। सबैजसो क्यान्टिनमा तारेको एकैखाले खाजा र केहीमा चुरोट समेत बिक्री गर्ने गरेको भेटिएको थियो।
खाद्य पदार्थ राख्ने फ्रिजको तापक्रम कोठाकै बराबर मात्र पाइयो, विजुली सेभ गर्ने नाँउमा फ्रिजमा सामान राखेपनि नियमित फ्रिज नचलेको भेटिएको थियो।
पिउने पानी भने जारको डिएफटिक्युसी लेभल भएको देखिएकाले शुद्ध रहेको पाइएको थियो।
कतिपय फ्रिजमा भने साल्मोनेला, तथा लिस्टेरिया जस्ता फुड पोइजन समेत गराउन सक्ने ब्याक्टेरिया भेटिएको थियो।
स्वस्थ तथा स्वच्छता कायम गर्न सम्झौतामा नै क्वालिटीको कुरा राखिनुपर्नेमा सबै क्यान्टिनको सम्झौता नै नभेटिएको, पुर्वाधार कमजोर रहेको, मैदा र डिप फ्राई फुड बढी देखिएको, फ्रिज नचलेको, भाडा धुने पानी दुषित रहेकोले अब के गर्ने, फुडको हेल्थ र हाइजिनबारे तालिम आवश्यक रहेको निष्कर्श निकालिएको छ। त्यसैगरी पानी, विजुलीको उपलब्धताबारे विश्वविद्यालयले सोच्नुपर्ने समेत देखिएको छ।
त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले अनुसन्धानले खडा गरेका प्रश्नको जवाफ अब काम गरेर देखाउनुपर्ने, र बाहिरबाट अतिथी आउदा कफि खुवाउन समेत नसकेको बताए। उनले दक्ष कुनै कर्पोरेटलाई समेत मापदण्ड बनाएर दिन सकिने वा टेन्डर मार्फत वा विद्यार्थीहरुको सहभागितामा काम गर्नुपर्ने बताए।
कार्यक्रममा एशियाली अनुसन्धान केन्द्र सिनासका कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्की, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र ९सेडा०का कार्यकारी निर्देशक प्राडा अर्जुन बराल, त्रिविका प्रोक्टर डा राजेन्द्र कोइरालाले समेत आफ्ना धारणा राखेका थिए।
सम्पर्क इमेल : [email protected]