मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशकमा प्राडा गजुरेल नियुक्त
काठमाडौँ, १० बैशाख । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तरगर्तको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशकमा प्राडा रत्नमणि गजुरेल नियुक्त भएका छन् ।
आइतबार त्रिवि कार्यकारी परिषद्को बैठकले प्राडा गजुरेललाई ४ बर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि सेन्टरको दुई कार्यकाल बढी नेतृत्व प्राडा उत्तम कृष्ण श्रेष्ठले सम्हालेका थिए ।
‘म १६ पुस २०७१ देखि कार्यकारी निर्देशक भएँ । दुई कार्यकाल बढी अर्थात ८ बर्ष ४ महिना भन्दा बढी,’ प्राडा श्रेष्ठले अगाडी थपे, ‘आजबाट प्राडा गजुरेललाई जिम्मेवारी हस्तान्तरण गरेको छु ।’
यसअघि आईओएमका डीन प्राडा दिव्यासिह शाहको नेतृत्वमा त्रिविले नाम सिफारिस समिति गठन गरेको थियो । सो समितिले गजुरेल, डा. अनिल भट्टराई, डा. विश्वास प्रधानको नाम सिफारिस गरेको थियो ।
प्राडा गजुरेल यसअघि सेन्टरको कार्डियोलोजी विभागको प्रमुख थिए ।
सम्पर्क इमेल : [email protected]