देशको कुन ठाउँमा गुड्दैछ एम्बुलेन्स ? रामशाहपथबाट गरिदैछ ‘ट्रयाकिङ’
एम्बुलेन्स सञ्चालकलाई मन्त्रालयले भन्यो, '३५ दिन भित्र दर्ता तथा नविकरण गरिसक्नु होला'
काठमाडौँ, ५ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगर्तको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई (एचईओसी)का प्रमुख डा समिरकुमार अधिकारीले मंगलबार दिउसो आफ्नै कार्यकक्षको कुर्सीमा बसेर सुदूरपश्चिमको दिपायलमा वरपर रहेका एम्बुलेन्स गणना गर्दै थिए ।
भित्तामा टाँसिएको ठूलो मोनिटरबाट उनले केही क्षणमा बागमती प्रदेश भित्र गुडिरहेका एम्बुलेन्सहरुको निगरानी गरे ।
आफ्नो कार्यकक्षका भित्तामा टाँसिएका ठूला ठूला स्क्रिनमा उनले हरिया संकेत सहितका एम्बुलेन्स कुन ठाउँमा कसरी रहेका छन् भनेर सञ्चारकर्मीलाई बुझाउँदै थिए ।
हुन पनि अहिलेसम्म सरकारले बिरामी तथा घाइतेहरु बोक्ने एम्बुलेन्सहरु कहाँ, कति, कसरी गुडिरहेको छ भन्ने यकिन राखेको थिएन । किनभने नेपालका सड्कमा आकस्मिक साइरन बजाउँदै गुड्ने कतिपय एम्बुलेन्सहरु दर्ता नै छैन । दर्ता भएकामध्ये थुप्रै एम्बुलेन्सहरु नियमित नविकरणमा छैन ।
नेपालमा एम्बुलेन्स सेवा सुरु भएको विसं २०४२ साल देखि हो । त्यस यता देशभर कुल २ हजार ४०० एम्बुलेन्स कुनै न कुनै बेला सञ्चालनमा आएको स्वास्थ्य मन्त्रालयको दावी छ । कानूनले राजश्व छुटमा भित्रिएका एम्बुलेन्सहरु १० बर्ष पछि चल्न पाउँदैनन् । नेपालमा १० वर्ष यता भित्रिएका एम्बुलेन्सको संख्या १ हजार ४०० को वरपर रहेको छ । १० वर्ष बढी भएका बाँकी १ हजार एम्बुलेन्सहरु यत्तिकै थन्किएको छ कि ती पनि गुडिरहेको छ, मन्त्रालयले जवाफ दिन सक्दैन् ।
‘त्यसैले त हामीले अनिवार्य दर्ता र नविकरण गर्न आव्हान गरेका छौँ । अवको ३५ दिन भित्र सबै एम्बुलेन्सहरुले हाम्रो फरम्याटमा दर्ता र नविकरण गर्नु पर्छ,’ एचईओसीका प्रमुख डा. अधिकारी ले जवाफ दिए ।
मन्त्रालयले बुधबार यस सम्वन्धी सूचना सार्वजनिक गर्ने भएको छ ।
देशको कुन ठाउँमा गुड्दैछ एम्बुलेन्स रामशाहपथबाट ट्रयाकिङ गर्न सकिने
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका एम्बुलेन्सहरु ट्रयाकिङ गर्न सकिने सफ्टवेर सञ्चालनमा ल्याएको छ । अहिले यो सफ्टवेर सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा आइकसेको र बागमती प्रदेशमा सञ्चालनमा आउने क्रममा छ । बाँकी प्रदेशहरुमा पनि छिटै सञ्चालनमा आउने बताइएको छ ।
‘अहिले मन्त्रालयले ३५ दिने सूचना जारि गर्दै एम्बुलेन्सलाई दर्ता वा नविकरणमा आउनु भन्नुको पछाडी पनि सफ्टवेरमा आवद्धताका लागि हो ।
अव दर्ता वा नविकरणमा आउने एम्बुलेन्सले अनिवार्य रुपमा जीपीएस सिस्टम जडान गरेकै हुनुपर्छ । र त्यसको कोड नम्बर केन्द्र देखि प्रदेश तहमा खुलेका एम्बुलेन्स प्रेशण केन्द्रलाई उपलव्ध गराउनुपर्छ । त्यसपछि मात्रै एम्बुलेन्स सञ्चालनमा आउन पाउँछ,’ डा अधिकारीले भने ।
सफ्टवेरमा आवद्धता भएपछि बिरामी पक्षलाई के फाइदा हुन्छ ?
डा अधिकारीका अनुसार एम्बुलेन्स ट्रयाकिङ गर्ने यो सफ्टवेर जीपीएससंग कनेक्ट हुन्छ । सरकारले एम्बुलेन्सका लागि उपलव्ध गराएको टोलफ्रि नम्बर १०२ मा कल गरेपछि पहिला प्रदेशका एम्बुलेन्स प्रेषण केन्द्रमा फोन जान्छ । त्यहाँ उसले बिरामीको अवस्था हेरपछि जीपीएसबाट एम्बुलेन्स ट्रयाकिङ गरी बिरामीसमक्ष पठाउँछ । प्रदेशमा फोन उठेन भने स्वास्थ्य मन्त्रालयमा रहेको विपद व्यवस्थापन इकाईमा फोन उठछ र त्यहाँबाट आवश्यक सहयोग हुन्छ ।
डा अधिकारीले पठाओ जस्तै गरी एम्बुलेन्सको छुट्टै एप बनाएर सिधै आफूले खोज्न मिल्ने व्यवस्था मिलाउन लागिएको समेत बताए । ‘एम्बुलेन्स सम्वन्धी एप हामीले तयार गरिसकेका छौँ । प्लेस्टोरमा हाल्न बाँकी छ,’ उनले भने ।
उनले नयाँ सफ्टवेरमा आवद्धता भएपछि हरेक एम्बुलेन्सको रेकर्ड हुने र कहाँ कसरी चलि रहेको छ भने सहज जानकारी हुने बताए ।
अहिलेसम्म जीपीएस जडान गर्ने एम्बुलेन्स ६ सयको हाराहारीमा रहे पनि सफ्टवेरमा आवद्धता हुने एम्बुलेन्स ८१ वटा मात्रै रहेको एचईओसीले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]