‘सबैभन्दा पुण्य काम, मस्तिष्क मृत्युपछि अङ्गदान’

काठमाडौँ, १९ चैत । ‘मानिसको जीवनमा सबैभन्दा पुण्य काम के हो होला ? दान गर्नु, सहयोग गर्नु । अनि के दान गरे सबैभन्दा ठूलो पुण्य मिल्छ होला ? त्यसमा यहि नै भनेर भन्न नमिल्ला तर यति चाही भन्न सकिन्छ अंङ्गदान सबैभन्दा ठूलो दान मध्येको एक हो । मानिसको मृत्युपछि खेरजाने अङ्ग कसैको जीवन बचाउँनका लागि दान दिईयो भने त्यो भन्दा ठूलो दान के हुन सक्ला ?’ प्रश्नोत्तर शैलीमा बरिष्ठ न्युरो सर्जन डा बसन्त पन्तले भने । उनले अगाडी थपे, ‘तर यसबारे मानिसहरु सचेत भइसकेका छैनन्, यसबारेमा जनचेतना जगाउन जरुरी छ कि मानिसको मृत्युपछि झिकिएका अङ्गहरुले कसैको ज्यान बचाउन सक्छ । यसका लागि सबैभन्दा महत्वपूर्ण भूमिका सञ्चारमाध्यमको हुन सक्छ ।’

आइतबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको मस्तिष्क मृत्युपश्चात अङ्गदानमा देखिएका कानूनी तथा व्यवहारिक जटिलता विषयक अन्तरक्रिया कार्यक्रममा त्यससंग सरोकार राख्ने चिकित्सक, अस्पताल सञ्चालक, नेपाल प्रहरीका बरिष्ठ अधिकारीहरुसंगै स्वास्थ्य पत्रकारहरुको उपस्थिति थियो ।

कार्यक्रममा बोल्ने अधिकांशले नेपालमा अंङ्ग प्रत्यारोपण सम्वन्धी कानून भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो देखिएको बताए ।

डा. पन्तले मस्तिष्क मृत्युबारे नै मानिसहरुलाई भ्रम भइरहेको भन्दै यसबारेमा जनचेतना जगाउनु पनि अहिलेको आवश्यकता रहेको बताए ।

‘मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई संसोधन गरी विसं २०७२ मा नयाँ ऐन ल्याइयो । यसले मस्तिष्क मृत्युभएका व्यक्तिहरुबाट अंङ्ग झिकेर प्राथमिकताका आधारमा वेटिङ लिष्टमा समावेश विरामीमा प्रत्यारोपण गर्न सकिने व्यवस्था मिलायो । तर अहिलेसम्म मस्तिष्क मृत्युपछि अंङ्गदानको लागि समन्वय गर्न तोकिएको समन्वय इकाईमा मात्रै ३५ केशको खवर आयो । त्यसमध्ये ५ वटा केशबाट मात्रै अंङ्ग झिक्न सफल भयौँ,’ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले भने । उनले उपत्यकामा मात्रै बार्षिक १ हजार बढीको मस्तिष्क मृत्यु हुने गरेको भए पनि अस्पताल, चिकित्सक वा परिवारलाई यसबारे जानकारी नभएर नै कम खबर आएको हुनसक्ने बताए ।

उनले भने, ‘मस्तिष्क मृत्युपछि मानिसको मृत्यु हुने हो तर कृतिम मेसिनको सहारामा शरीरका महत्वपूर्ण अंङ्गहरु तत्कालै ड्यामेज भइसकेका हुँदैनन्, ती अङ्गहरु झिकेर बिरामीहरुमा प्रत्यारोपण गर्न सकिन्छ र बिरामीहरु स्वस्थ भई सामान्य जीवनमा फर्किन सक्छन् । डा श्रेष्ठले एउटा मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गबाट दुईवटा मिर्गौैला, दुईवटा फोक्सो, एक एक वटा कलेजो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा लगायतका अंङ्गहरु झिकेर ती अङ्ग फेल भएकाहरुमा प्रत्यारोपण गर्न सकिने बताए ।’

कार्यक्रममा समन्वय ईकाई प्रमुख एवं मिर्गौला रोग विशेषज्ञ डा. कल्पनाकुमारी श्रेष्ठले मस्तिष्क मृत्यु भएबारेको जानकारी ती अस्पतालहरुले दिनु पर्ने र प्रत्यारोपण गर्ने अस्पतालहरुले वेटिङ लिष्टमा भएका बिरामीहरुको विवरण पनि उपलव्ध गराउनु पर्ने बताईन् । उनले केही अस्पतालले सो विवरण उपलव्ध गराएको र केही अस्पतालबाट बिवरण आइनसकेको जानकारी दिईन् ।

त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले मस्तिष्कमृत्यु पछि हुने अंगदानबारे व्यापक जनचेतनाको आवश्यक रहेको बताए । उनले समन्वय ईकाई र अन्य अस्पतालबीच कानूनी व्यवस्थाको कार्यान्वयनका लागि समन्वयकै अभाव देखिएको हो कि भन्दै प्रश्न गरे ।

त्रिवि शिक्षण अस्पतालकै मिर्गौला प्रत्यारोपण विभाग प्रमुख डा पवनराज चालिसेले पनि अस्पताल र चिकित्सकवीचको समन्वय बढाउनु पर्ने, आम नागरिकमा जनचेतना जगाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बरिष्ठ फरेन्सिक विज्ञ डा हरिहर वस्तीले मस्तिष्क मृत्यु, अंङ्गदान तथा मेडिकोलिगल सम्वन्धी भएका व्यवस्था, कार्यान्वयनमा देखिने कठिनाई र चुनौतीका बारेमा आफ्ना धारणा राखे ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले प्रहरी क्षेत्रमा समेत अङ्ग प्रत्यारोपण सम्वन्धी कानूनको बारेमा राम्ररी जानकारी नभएको बताए । उनले यसबारेमा थप छलफलको आवश्यक रहेको चर्चा गरे ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले कानून बनिसकेको भए पनि कार्यान्वयमा आउन समय लागेको भन्दै यसका लागि मन्त्रालयले गर्नु पर्ने सहयोगका बारे्मा आफू सधै सकारात्मक रहेको बताए ।

ग्रिनसिटी अस्पतालका सञ्चालक लोकबहादुर टण्डनले अंगदान गर्नुपर्छ भन्नेमा सचेत रहे पनि यसका प्रक्रियाबारेमा राम्ररी बुझ्न तथा बुझाउन नसक्दा समस्या भइरहेको बताए । उनले आफ्नो तर्फबाट यसबारेमा निजी अस्पतालहरुलाई ध्यानाकर्षण गराउने समेत प्रतिवद्धता सुनाए ।

स्वास्थ्य पत्रकार मञ्चका तर्फबाट अध्यक्ष सरोज ढुंगेलले मस्तिष्क मृत्यु र अङ्गप्रत्यारोपण सम्वन्धी कार्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीले खेल्दै आएको भूमिकाको बारेमा चर्चा गरे ।

अर्का सञ्चारकर्मी जगन्नाथ ढकालले कानून बनेर पनि प्रभावकारी कार्यान्वयनमा आउन नसकेकोृ स्वास्थ्यको महत्वपूर्ण मुद्धा मस्तिष्क मृत्यु पछिको अङ्ग प्रत्यारोपण सम्वन्धी कार्यालाई प्रभावकारी बनाउने विषयमा मुख्य सरोकारवालाबीच छलफल गराएको र यसले समस्याको गाँठो फुकेर कार्यक्रम प्रभावकारी ढंगले अघि बढ्ने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *