नेपालमा ६४ चिकित्सकले पाएका छन् मिर्गौला प्रत्यारोपणको लाइसेन्स
काठमाडौँ, १८ पुस । नेपालमा ६४ जना चिकित्सकले मिर्गौला प्रत्यारोपणका लागि लाइसेन्स लिएका छन् । नेपालमा अहिलेसम्म चार सरकारी सहित १० वटा अस्पतालमा प्रत्यारोपण सेवा सञ्चालन गरिएको छ । त्यसमा कुल २ हजार १२१ जनाको प्रत्यारोपण भएको छ ।
अंग प्रत्यारोपण समन्वय समितिका अनुसार हालसम्म चार भारतीय सहित ६४ विशेषज्ञ चिकित्सकले मिर्गौला प्रत्यारोपणका लागि लाइसेन्स लिएका हुन् । तर, उनीहरूमध्ये कति स्वदेशमा बसेर सेवा दिएका, कति विदेशीएका छन् भन्ने एकीन तथ्यांक छैन् ।
मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावलीको मापदण्डअनुसार प्रत्यारोपण सर्जन र नेफ्रोलोजिस्ट लाई लाइसेन्स दिइएको छ ।
जसमध्ये १८ जना कलेजो प्रत्यारोपणका लागि समेत लाइसेन्सप्राप्त हुन् । समन्वय समितिका अनुसार अंग प्रत्यारोपणको लाइसेन्सप्राप्त चिकित्सकको संख्या अस्पतालको तुलनामा पर्याप्त नै हो । अंग प्रत्यारोपणका लागि नियमावलीमा समेत कडाइ गरिएका कारण आवश्यक जनशक्तिसमेत कमी भइरहेको चिकित्सकले बताउँदै आएका छन् ।
प्रत्यारोपणका लागि लाइसेन्स पाउन चिकित्सकको योग्यता के हो ?
मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावलीमा सर्जनको हकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट मिर्गौला प्रत्यारोपणसम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा युरोलोजी वा जनरल सर्जरीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित विषयमा निरन्तर दुई वर्षको कार्यानुभव प्राप्त गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट मिर्गौला प्रत्यारोपणसँग सम्बन्धित विषयमा कम्तीमा ६ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने उल्लेख छ ।
त्यस्तै, नेफ्रोलोजिस्टको हकमा अनुमतिपत्र लिन मान्यताप्राप्त शिक्षण संस्थाबाट नेफ्रोलोजीमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर उपाधि हासिल गरी नेफ्रोलोजीमा स्नातक (डिप्लोमा) को उपाधि हासिल गरेको वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर उपाधि हासिल गरी नेफ्रोलोजीमा कम्तीमा निरन्तर दुई वर्षको कार्यानुभव हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट मिर्गौला प्रत्यारोपणसम्बन्धी विषयमा कम्तीमा ६ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने नियमावलीमा उल्लेख छ ।
कुन कुन अस्पतालले दिएको छ प्रत्यारोण सेवा ?
अहिलेसम्म चार सरकारी सहित १० वटा अस्पताल तथा प्रतिष्ठानहरुले मिर्गौला प्रत्यारोपण सेवा दिएको छ । त्यसमध्ये केही अस्पतालमा प्रत्यरोपण सेवा नियमित हुन सकेको छैन् ।
प्रत्यारोपण सेवा दिने सरकारी अस्पतालहरुमा शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र भक्तपुर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । यस्तै निजी अस्पतालहरुमा ग्राण्डी अस्पताल, सुमेरु अस्पताल, निदान अस्पताल, किष्ट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज भरतपुर रहेका छन् ।
यस्तो छ नेपालमा प्रत्यारोपणका लागि मिर्गौला लिने व्यवस्था
अंग प्रत्यारोपण ऐन, २०७२ अनुसार परिवारका सदस्य र नजिकका नातेदारले मिर्गौला दान गर्न सक्ने व्यवस्था गरेको छ । ऐनमा पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बुबा, आमा, धर्मपुत्री वा धर्मपुत्र राख्ने बाबुआमा, सौतेनी बुबा, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनीले मिर्गौला दिन सक्छन् ।
त्यस्तै, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुबा, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देवर, देवरानी, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठानले पनि मिर्गौला दिन सक्छन् ।
तर, धर्मपुत्र, धर्मपुत्री, धर्मपुत्र राख्ने बुबाआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाता–सम्बन्धको हकमा कम्तीमा दुई वर्षदेखि अटुट रूपमा नाता–सम्बन्ध कायम रहेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।
यसबाहेक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिइएको मिर्गौलासमेत प्रत्यारोपणका लागि लिन सकिन्छ ।
परिवारका सदस्यमा मिर्गौला म्याच नहुने अवस्थामा सँगै उपचार गराइरहेका दुई फरक परिवारका सदस्यबाट म्याच भएका मिर्गौला साटफेर गरेर प्रत्यारोपण गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
सम्पर्क इमेल : [email protected]