रुकुम पूर्वको अस्पतालमा पहिलो पटक शल्यक्रिया गरी सुत्केरी

रुकुम पूर्व, १२ मंसिर । ५० शैय्याको प्रादेशिक अस्पतालको मान्यता पाए पनि रुकुम (पूर्व) अस्पतालको आफ्नै भवन छैन् । हेल्थ पोष्टले उपलव्ध गराएको भवनमा अहिले १५ शैय्या क्षेमतामा अस्पताल सेवा सञ्चालन गरिएको छ ।

लुम्बिनी प्रदेशकै विकट जिल्लाको रुपमा परिचित रुकुम पूर्वको यस अस्पतालमा गत शनिबार भने पहिलो पटक शल्यक्रियाद्धारा सुत्केरी गराईएको छ ।

‘शहरका ठूला अस्पतालहरुका लागि यो सेवा नयाँ र ठूलो कुरा होईन, तर रुकुम पूर्व जस्तो दुर्गम ठाँउ र सिमित स्रोत साधनबाट सञ्चालित यो अस्पतालका लागि ठूलो कुरा हो । नयाँ सेवा हो । शल्यक्रिया सेवा दिन पाएकोमा हामी निकै नै खुशी छौँ,’ अस्पतालको निमित्त मेसु समेत रहेकी बरिष्ठ नर्सिङ अधिकृत सपना विकले सुरुमै भनिन् ।

सुत्केरीका लागि तोकिएको समय घर्किसकेपछि अस्पताल ल्याइएकी भुमे ८ रुकुम पूर्वकी १८ बर्षीया सञ्जु बुढालाई एमडीजीपी डाक्टर नारायण बराल नेतृत्वको टोलीले शनिबार शल्यक्रिया गरि सुत्केरी गराएको हो । शल्यक्रियाबाट सञ्जुले २.९ केजीको छोरी जन्माएकी छन् ।

‘ सुत्केरीको लागि तोकिएको मिति भन्दा ढिला भईसकेको थियो । हामीले पहिले नर्मल डेलिभरी होस भनेर व्यथा लगाउने औषधि दियौँ तर भएन, त्यसपछि शल्यक्रिया गर्नै पर्ने बाध्यता भयो । डा बराल नेतृत्वको टोलीले त्यसलाई सहज रुपमा सम्पन्न गर्नुभयो,’ निमित्त मेसु विकले भनिन् ।

अस्पतालका स्टाफ मात्रै होईन्, पहिलो पटक शल्यक्रिया सेवा लिने सञ्जु बुढाको परिवार पनि अहिले उत्तिकै खुशी छन् ।

‘सुरुमा त निकै डर लागेको थियो । पहिलो पटक शल्यक्रिया सुरु गर्न लागेको, यस्तो दुर्गम ठाँउको अस्पताल भन्ने थियो । तर डाक्टर नर्सहरुले सम्झाउँदै गएपछि हामीले शल्यक्रियाका लागि तयार भयौँ । जे होस् राम्ररी गरिदिनुभयो । अहिले आमा र बच्चा नर्मल अवस्थामा आईसकेका छन्,’  सञ्जुका श्रीमान मनोज बुढाले प्रतिक्रिया दिए ।

डा बराल निक साइमन्स इन्स्टिच्युटको तर्फबाट सो अस्पतालमा सेवा दिन गएका एमडीजीपी डाक्टर हुन् । पहिलो पटक शल्यक्रिया गरी सुत्केरी गराउन डा बरालको नेतृत्वमा डा रोहित शर्मा, डा अर्जुन बुढा, निमित्त मेसु विक, एनेस्थेसियामा देउमा घर्ती, नर्स रोशनी गिरी खटिएका थिए । कार्यालय सहयोगी सुश्मा हमालले पनि नजिकबाट सहयोग गरेकी थिईन । ‘त्यसबाहेक अन्य सपोर्टिङ स्टाफहरु त भई हाल्ने नै भयो,’ विकले भनिन् ।

२०७४ सालमा संघीयता कार्यान्वयन भएपछि दुई टुक्रामा बाँढिएको रुकुमको पूर्वी भागलाई समेटेर नयाँ जिल्ला रुकुम पूर्व जिल्ला बनाइएको थियो । यो जिल्ला लुम्बिनी प्रदेशकै विकट जिल्ला मानिन्छ । त्यसबेला नै प्रादेशिक अस्पताल बन्ने घोषणा गरिएपनि औपचारिक उद्घाटन भने ५ मंसिर २०७५ मा लुम्बिनीका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले गरेका थिए ।

‘दुर्गम ठाँउमा भन्ने वित्तिकै सवै सेवा सुविधा उपलव्ध गराउन गाह्रो हुने, उपकरण जनशक्तिको अभाव हुने तर हाम्रो लागि अहिले निक साइमन्स इन्स्टिच्युटले उपकरण तथा जनशक्तिका लागि निकै ठूलो सहयोग गरेको छ । यस्तै संघीय तथा प्रदेश सरकारको तर्फबाट पनि सहयोग भएको छ । यसले हामी विस्तारै अघि बढ्दै छौँ । सेवाहरु थप गर्दैछौँ,’ विकले भनिन् ।

उनका अनुसार अहिले यस अस्पतालमा चिकित्सक नर्स सहित अन्य प्राविधिक तथा प्रशासनिक कर्मचारी गरी करीव ६० जना कार्यरत छन् । अस्पतालमा दैनिक ४० ५० जना ओपिडी सेवाका लागि आउने गरेका छन् ।

अस्पतालले विस्तारै अन्य सेवाहरु थप्दै जाने तयारी गरेको विकले बताईन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *