लक्षण उस्तै देखिने आज्मा र सीओपीडीमा के फरक छ ?

सीओपीडी वा दमका बिरामीले तान्ने औषधि इन्हेलरको प्रयोग सही रुपमा भएको छ ?

कसैलाई खोकी तीन महिना देखि दुईवर्ष सम्म लागि रहेको छ भने क्रोनिक ब्रोन्काइटिस भन्छौँ । क्रोनिक ब्रोन्काइटिसको क्रम यदी बढ्यो भने र त्यस्तो मान्छेहरुमा सास फेर्न बाधा पुग्यो भने सीओपीडी (क्रोनिक अक्स्टटिभ पल्मोनरी डिजिज) भन्छौँ ।

सीओपीडी हुँदा दीर्घकालिन रुपमा फोक्सोमा समस्या थपिदै जान्छ । यस्तो समस्या फोक्सोमा धुवाँ धुलोले पर्दा थपिदै जान्छ । बाल्यकाल देखि नै विभिन्न रोगहरु छ भने त्यसले पनि समस्या झन थपिने भयो । किनभने यस्तो समस्या भएको व्यक्तिको फोक्सो सुरुमै कमजोर हुने गर्दछ । फोक्सो कमजोर फोक्सो छ भने चाडै असर हुने भयो ।

हामीले के बुझ्नु पर्‍यो भने, दीर्घकालिन रुपमा धुलोमा बढी बस्ने व्यक्ति चाहे चुरोटको धुवा होस वा घर भित्रको धुवा, वा भनौँ कलकारखानाको धुवा वा प्रदुषण यी सबैले सीओपीडी बनाउन मद्धत गर्दछ ।

सीओपीडीको असर बढ्दै जाँदा यसले फोक्सोलाई पनि अलि अलि गर्दै ड्यामेज गर्न थाल्दछ । उमेर ढल्कदै जाँदा यो ड्यामेज बढदै जान्छ र कुनै विन्दुमा पुगेपछि यो सीओपिडी रोगमा परिवर्तन भएको देखिन्छ । त्यसैले यसलाई ‘क्युमेलेटिभ ईफेक्ट’ हो पनि भनिन्छ ।

धूमपान गर्नेलाई सीओपीडीको खतरा

सीओपीडी गराउन सबैभन्दा ठूलो भूमिका धूमपानको हुन्छ । यस्तै दाउरा गुईठा बाल्दा निस्कने धुवाले पनि सीओपीडी गराउन मद्धत गर्छ । घर भित्र भान्छामा दाउरामा खाना पकाउने महिलाहरु यसबाट धेरै पीडित भएको पाईन्छ । यसैगरी अन्य कारखानाबाट निस्कने धुवा र प्रदुषणले पनि सीओपीडीको संक्रमण गराउन मद्धत गर्दछ ।

कतिपय व्यक्तिले चिसोको बेलामा सीओपीडी बढी हुन्छ ? भनेर प्रश्न गर्नु हुन्छ । खास के बुझ्नु पर्‍यो भने चिसो मौसममा भाइरल इन्फेक्सनको सम्भावना बढेर जान्छ । चिसो भएको बेलामा कहिलै बिरामी नहुने व्यक्तिलाई पनि त कहिलेकाँही रुघा खोकी लाग्छ नि । यस्तै गरी दम भएको व्यक्तिलाई चिसो मौसममा झन् बढी समाउन सक्छ वा बल्झिन सक्छ ।

आज्मा र सीओपीडी एउटै हो ?

चिसोको बेलामा देखिने एक खालको स्वासप्रश्वास सम्वन्धी समस्यालाई आज्मा भन्दछौँ । जसको लक्षण सीओपीडीको जस्तै हुन्छ । तर आज्मा ४० बर्ष मुनिका व्यक्तिहरुलाई हुन्छ । कुनै मानिसलाई बर्ष भरी नै लक्षण छैन् । जाडो महिनामा एक्कासी घाँटी घ्यार-घ्यार र खोकी लाग्न थाल्यो भने त्यो दम (आज्मा)हुनसक्छ । तर ४० बर्ष भन्दा माथिको उमेरको व्यक्ति जसलाई बर्ष भरिनै अलि अलि लक्षण छ तर जाडोमा बढ्यो भने चाहि त्यो दम बढेको मात्रै नभएर सीओपीडी बढेको पनि हुनसक्छ ।

दम र सीओपीडीको लक्षण एउटै हुन्छ । त्यसैले हामीले बिरामीको हिस्ट्री लिदा नै यो लक्षण बर्ष भरी देखिएको हो कि अहिले पहिलो पटक देखिएको हो भनेर सोध्ने गर्दछौँ । अहिले मात्रै देखिएको लक्षण हो भने दम वा आज्मा मात्रै हुन सक्छ । तर यदि बर्ष भरी नै लक्षण देखिएको छ तर अहिले बढेको छ भने त्यो सीओपीडी हुनसक्छ । जाडो महिनामा इन्फेक्सनको मात्रा बढी हुने भएकोले यहि बेलामा बल्झिने र घ्याघ्यार हुने बढी हुन सक्छ ।

सीओपीडीबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायहरु के के छन् ?

यसपटकको ‘वर्ल्ड सीओपीडी डे’ को थिम ‘ Your lungs for life’  अर्थात ‘तपाईको फोक्सो तपाईँकै लागि’  भन्ने तय गरिएको छ ।

हामी आफू शारीरिक रुपमा कमजोर छौँ भने सीओपीडी हुनका लागि ‘क्युमिलिटिभ इन्सल्टिङ’ कम मात्रै भए पनि पुग्छ । तर हामी बलियो छौँ भने सीओपीडी हुनका लागि ‘क्युमिलिटिभ इन्सल्ट’ बढी हुनु पर्छ । त्यसैले बच्चा देखि नै फोक्सो स्वस्थ्य हुनुपर्छ । स्वस्थ फोक्सो हुनका लागि रोगबाट रहित हुनुपर्छ ।

त्यसका लागि हामीले गर्नै पर्ने केही कुराहरु छन् । जस्तै :

  • चुरोट सेवन गर्दै नगरौँ । गरि रहेका छौ भने पनि आजैबाट छोडौँ ।
  • धुलो, घर भित्रको धुवाबाट टाढै बसौँ ।
  • कोइला खानी, ईँटा कारखाना, सिमेन्ट कारखाना लगायतका बढी धुलोमा काम गर्ने व्यक्तिले दिन विराएर काम गर्नु पर्छ । नियमित रुपमा छातीको जाँच गराऔँ ।
  • बातावरणीय प्रदुशणबाट पनि जोगिऔँ ।
  • नियमित रुपमा मास्क लगाऔँ ।
  • कतिपयले चिसो मौसममा तातो बनाउन भन्दै घर भित्र कोठामा हिटर वा आगो बाल्ने गर्नु हुन्छ । यसो गर्दा भेन्टिलेसनको विशेष ख्याल गरौँ । हावा पास हुने पर्याप्त ठाँउ राख्ने पुरै झ्याल ढोका नथुन्ने गर्नु पर्छ । यसो भएको खण्डमा हामीले लाग्नबाट रोक्न त सक्छौँ नै लागि सकेको केसलाई पनि नियन्त्रणमा राख्न सक्छौँ । बल्झिने क्रमलाई रोक्न सक्छौँ ।
  • दीर्घकालिन रोग भइसकेका व्यक्तिका लागि निमोनियाबाट जोगिन दुईवटा खोप लगाउन सकिन्छ । निमोकोकस र इन्फुल्एन्जा भन्ने किटाणुबिरुद्ध प्रयोग हुने खोप । जसरी कोरोनाबाट जोगिनका लागि खोप लगायौँ । निमोनियाबाट जोगिनका लागि पनि यी दुई खोप लगाउन सकिन्छ । निमोकोकस जीवनभरका लागि एक पटक लगाएपछि पुग्छ । इन्फुल्एन्जा भने हरेक वर्ष बर्षमा लगाउँदा राम्रो हुन्छ ।

सीओपीडी वा दमका बिरामीले तान्ने औषधि इन्हेलरको प्रयोग सही रुपमा भएको छ ?

खाने औषधि मुखबाट खाईसकेपछि जसरी पनि निलेर पेटसम्म पुग्दछ । सुईबाट दिने औषधि पनि नर्स वा तालिम प्राप्त स्वास्थयकर्मीले दिने गर्दछन्, र त्यो शरीर भित्र पुग्दछ । तर तान्ने औषधिको विषय भने त्यस्तो सहज नहुँदो रहेछ ।

दम तथा सीओपीडीका विरामीहरुमा तान्ने औषधिको पनि प्रयोग हुन्छ । त्यो हो ईन्हेलर ।

ईन्हेलरमा औषधि राख्ने र त्यो बिरामी आफैले मिलाएर तान्नु पर्छ । तर त्यो ईन्हेलरको प्रयोग गर्ने तरिका नजान्दा बिरामीले सही उपचार पाए पनि रोग निको बल्झिईरहने समस्या बढी देखिएको छ ।

किनभने ईन्हेलर कसरी सहि ढंगले तान्नुपर्छ भनेर बिरामीलाई राम्ररी कसैले पनि सिकाएको छैन । किनभने अस्पतालमा डाक्टरहरु सबैभन्दा बढी व्यस्त हुन्छन् । राम्ररी सिकाउन भ्याएको हुँदको हुँदेनन् ।

त्यसैले अनुमान के छ भने १०० जनालाई ईन्हेलर दिएर तान्न लगायो भने लगभग कसैको पनि तान्ने तरिका मिल्दैन भन्ने छ । तानेको तरिका मिल्ने भनेको झुक्किएर कोही बिरामीको मात्रै मिल्छ ।

त्यसैले सीओपीडी तथा दम बल्झिइरहनुको एउटा खास कारण इन्हेलरको सही प्रयोग नहुनु पनि हो । यसका लागि बिरामी पक्षले विशेषज्ञ डाक्टरसंग त्यसको प्रयोग गर्ने उपाय राम्रोसंग सोध्नुपर्छ र सिक्नु पर्छ ।

 

#असिस्टेन्ट प्रोफेसर डा. मिश्रसंग गरिएको कुराकानीमा आधारित । उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पल्मोनोलोजी, क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन विभागमा कार्यरत छन् ।


Leave a Reply

Your email address will not be published.