सन्दर्भ : स्तन क्यान्सर सचेतना महिना

स्तन क्यान्सर रोक्न जनचेतना र नियमित परीक्षण महत्वपूर्ण

विश्व स्वास्थ्य संगठनले हरेक अक्टोबर महिनालाई स्तन क्यान्सर जागरण महिनाको रुपमा मनाउन थालेको छ ।

हालको आधुनिक र अप्राकृतिक जीवनशैली, खानपान बाताबरणीय प्रदूषण एवं विविध रसायनका कारण विश्वका बयस्क महिला मात्रै नभएर यौवनावस्थाका किशोरीहरु समेत स्तन क्यान्सरको शिकार हुन थालेका छन् ।

विकसित मुलुकका रुपमा पश्चिमी राष्ट्रहरुमा स्तन क्यान्सर सम्वन्धी अवस्था भयावह देखिन्छ । ती राष्ट्रहरुमा प्रत्येक ८ महिला मध्ये १ जनामा स्तन सम्वन्धी कुनै न कुनै जटिलता देखा परेको विभिन्न अध्ययन्हरुले देखाएको छ ।

एशियाली महिलाहरुमा त्यो जडिलता अलि कम छ । अर्थात एशियाली मुलुकमा प्रत्येक २२ जनामा एक जनालाई स्तन सम्वन्ध सम्वन्धी कुनै न कुनै जटिलता देखा पर्ने गरेको तथ्यांक उपलव्ध छ ।

स्तन क्यान्सर कुनै पनि उमेरका महिलाहरुलाई हुन सक्छ । तर पनि बढ्दो उमेरका महिलाहरु नेपालमा मात्रै नभएर विश्वव्यापी रुपमा नै यस रोगको शिकार हुन थालेका छन् । महिलाहरुमा हुने क्यान्सर (अर्बूद) रोग मध्ये पहिलो पाठेघरको मुखको क्यान्सर रहेको छ भने दोस्रो स्तन क्यान्सर नै हो ।

संख्याको हिसावले हेर्दा नेपालमा क्यान्सरको कारण मृत्यु हुने महिलाहरुमा स्तन क्यान्सरका कारण मर्ने महिलाको संख्या दोस्रो स्थानमा छ । रोग लागेपछि विशेषज्ञ चिकित्सक कहाँ विरामी ढिला गरेर पुग्नु नै त्यो स्थिति आईपर्नुको प्रमुख कारण हो ।

हामीकहाँ पनि चलन नै बनेको छ कि, जव रोगले ग्रस्त पार्छ, त्यसपछि मात्रै चिकित्सक कहाँ जाने गर्दछौँ । तर त्यसबेला क्यान्सर रोग फैलिईसकेको वा दोस्रो तेस्रो श्रेणीमा पुगिसकेको हुन्छ । त्यस अवसथमा पुग्दा सफल उपचार सम्भव नहुन सक्छ । यदि भई हालेमा पनि बिरामीलाई धेरै समय बचाउन गाह्रो हुन सक्छ ।

यदि रोगको प्रारम्भिक अवस्थामै बिरामीहरु विशेषज्ञ चिकित्सक कहाँ पुग्न सक्ने हो भने सहज रुपमा उपचार सम्भव हुन्छ । स्तन काटेर फ्याक्नु पर्दैन । उपचार खर्च कम हुन्छ । अमूल्य जीवन समेत बचाउन सकिन्छ ।

नेपालमा बढ्दो उमेरका युवतीहरु यस समस्याबाट पीडित हुने गरेको पाईनु निश्चय नै चिन्ताको विषय हो । युवतीहरुमा उक्त रोगले तिब्र रुपमा आक्रमण गर्ने गरेको पाईएको छ ।

अहिले पनि स्तन क्यान्सर भने पछि महिलाहरुमा मात्रै हुने रोग हो भन्ने धेरैको बुझाई छ । तर यो पुरुषहरुमा पनि हुने गरेको छ । स्तन क्यान्सरका कुल बिरामी मध्ये करीव १ प्रतिशत पुरुष हुन् ।

रोगका कारणमध्ये ५ देखि १० प्रतिशतमा बंशाणुगत देखिएका छन् भने ९० प्रतिशत चाहि रोगको पारिवारिक इतिहास भएको कारणले हुने गरेको छ ।

रोगको लक्षणहरु

करीब ६० देखि ८० प्रतिशत महिलाहरु आफ्नो जीवन कालमा क्यान्सररहित स्तन सम्वन्धी कुनै न कुनै समस्याबाट ग्रसित हुने गरेको पाइएको छ । स्तन क्यान्सरको सुरु सुरुको अवस्थामा बिरामीले सामान्य तया कुनै लक्षणको अनुभव गर्न सक्दैनन् । त्यस कारणले नै सबै महिलाहरुले नियमित पहिले आफैले र कुनै शंका भएमा त्यसपछि बिशेषज्ञ चिकित्सकसंग परामर्श गर्नु अत्यन्तै महत्वको विषय हुनेछ ।

जव स्तन क्यान्सर बढ्दै जान्छ तब लक्षणहरु देखा पर्न सक्छन् ।

लक्षणहरु मध्ये केही निम्न छन् :

  • कुनै एक वा दुबै स्तनमा नदुख्ने डल्लो वा कडा गिर्खाहरु आउने ।
  • कुनै एक वा दुबै स्तनको साइज वा आकारप्रकारमा परिवर्तन हुने ।
  • स्तनको मुन्टोबाट रगतसहित वा रगतरहितको तरल पदार्थ बगिरहने छालाको अल्सर हुने ।
  • स्तनको छालामा परिवर्तन आउने, गाढापन बढ्ने वा छालाको रंङ परिवर्तन हुने ।
  • स्तनको मुन्टो वरिपरि वा मुन्टो मै स साना घाउ खटिरा बिमिराहरु देखा पर्ने ।
  • स्तनको मुन्टो पहिलेको भन्दा फरक रुपमा देखा पर्ने वा मुन्टो स्तन भित्र घसिने ।
  • अकस्मात शारीरिक तौल घट्ने ।
  • शरीरका हड्डीहरु दुख्ने ।

स्तन क्यान्सर महिलामा हुने क्यान्सरहरुमध्ये दोस्रो र क्यान्सर कै कारण हुने महिला मृत्युको पनि दोस्रो ठूलो कारण रहेको छ ।
धेरै महिलाहरुले सर्वप्रथम थाहा पाउने स्तन सम्वन्धी समस्यामध्ये स्तन वा काखीमा आउने नदुख्ने गिर्खा कडा डल्लाहरु नै हुन् ।

४० बर्ष मुनिका महिलाहरुमा आउने ८० देखि ९० प्रतिशत गिर्खाहरु क्यान्सर नहुन सक्छ भने ४० बर्ष माथिका महिलाहरुमा ती गिर्खाहरु क्यान्सर कै लक्षण हुन सक्ने सम्भावना बढी हुन्छ । तर सबै महिलाहरु स्तन क्यान्सरको जोखिममा भने रहेकै हुन्छन् ।

लक्षणप्रतिको वेवास्ता, जनचेतनाको कमी र प्रभावकारी रोग निदान योजनाको अभावकाकारण एशियाली महिलाहरु रोगको पछिल्लो अवस्थामा मात्रै चिकित्सककहाँ पुग्ने हुँदा मृत्युदर एकदमै ज्यादा हुने गरेको छ ।

तसर्थ २० देखि ४० वर्षका महिलाहरुले स्तनको स्वयं परीक्षण गर्नका साथै प्रत्येक २/३ वर्षमा विशेषज्ञ चिकित्सकबाट जाँच गराउनुपर्छ ।

४० वर्ष माथिका महिलालाई बर्षेनी स्क्रिनिङ, म्यामोग्रामका साथै विशेषज्ञ चिकित्सकसंगको परामर्श अपरिहार्य छ ।

समयमै रोग पत्ता लाग्दा सफल उपचारका साथ स्तन बचाउनुका साथै अमूल्य जीबन समेत सुरक्षित पार्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *