‘डेंगी फैलिएका बेला औषधिको मूल्य बढाउन मानवीय हिसावले पनि मिल्दैन’ – स्वास्थ्य मन्त्री खापुङ

काठमाडौँ, १३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले तत्कालको समयमा औषधिको मूल्य समायोजन नहुने संकेत गरेका छन् । उनले बजारमा सिटामोल लगायत केही औषधिको अभाव भएको भन्दै यसलाई सहज बनाउन समेत औषधि उत्पादक तथा व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।

नेपाल औषधि उत्पादक संघ (एपोन)को २८ औँ बार्षिक साधारण सभालाई सम्वोधन गर्न पुगेका मन्त्री खापुङले मूल्य समायोजन गर्नु पर्ने व्यवसायीको मागलाई गलत नभने पनि माग सम्वोधन गर्ने उचित समय नभएको बताए ।

‘देशमा डेंगीको महामारी फैलिएको छ । यस्तो बेलामा औषधिको मूल्य बढाउनु पर्छ भन्ने मानवीय हिसावले पनि मिल्दैन् । तपाँईहरुका माग जायज भएपनि यो बेलामा सम्वोधन हुन अलि कठिन देख्छु म,’ उनले भने । मन्त्री खापुङले प्रकोप फैलिएको बेलामा औषधि अभाव हुन नदिनु उत्पादक तथा व्यवसायीहरुको धर्म हो भन्दै यस तर्फ ध्यान दिन आग्रह गरे । उनले आत्मनिर्भर भएका ३० प्रकारका औषधिहरु बाहिरबाट ल्याउन नपाइने तत्कालीन मन्त्री गगन थापाले सुरु गरेको नीतिका विषयमा पनि आफू कन्फ्युजन रहेको बताए ।

‘निर्णय नै भएको भए त कार्यान्वयन पनि गर्नु पर्छ किनभने सरकार अभिछिन्न उत्तराधिकारी हो तर यहाँका औषधि डाक्टरबाट प्रेस्काइव गराउने, डाक्टरको विश्वास जित्ने गरी औषधि उत्पादन गर्ने तिर पनि ध्यान दिने कि?,’ उनले भने ।

मन्त्री खापुङले स्वदेशी औषधि उत्पादकलाई प्रोत्साहन र प्रर्वद्र्धनका लागि सरकारले दिनुपर्ने छुट तथा सहुलियतका विषयमा भने आफू सकारात्मक रहेको उल्लेख गरे ।

मन्त्रीले बोल्नु अघि औषधि उत्पादक तथा उद्योगका प्रतिनिधिहरुले स्वदेशी औषधि उद्योगको मर्का, राज्यले दिनुपर्ने सहुलियत र छुटको विषयमा ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले नेपाली औषधि उद्योगलाई तीस वर्ष अघि र पछिको समयलाई छुट्याएर हेर्नु पर्ने भन्दै त्यसबेलाको अवस्था रअहिलेको अवस्थामा आकास जमिनको फरक भएको बताए । उनले राज्यले स्वदेशी औषधि उद्योगका लागि केही गरेन भन्नु गलत रहेको तर्क गर्दै यो अवस्था सम्म आईपुग्नुमा राज्यको पनि हात रहेको बताए । उनले मूल्य समायोजनको विषयमा छलफल जारी रहेको भन्दै निकट भविस्यमा नै केही विकल्प निस्कने विश्वास व्यक्त गरे । उनले औषधिको उपलव्धता र गुणस्तरमा सम्वेदनशील भईदिन उत्पादकहरुलाई आग्रह गरे ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले औषधि उद्योगको क्षमता बढाउनु पर्ने बताए । उनले औषधि उद्योगले गुणस्तर र क्षमता अभिबृद्धि गर्नुपर्ने कुरा बताइरहँदा औषधि व्यवस्था विभागको पुर्नसंरचना गर्नु पर्ने कुरालाई छुटाएनन् । ‘हाम्रै विभागको संरचना पनि निकै पुरानो छ । यसलाई बदल्नु नै पर्नेछ । यद्धपी अहिले विभागले धेरै कामहरु गरिरहेको छ’ उनले भने ।

एपोन अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपाली औषधि उद्योगले देशलाई समस्या परेका बेला पटक पटक आफूहरु सक्षम छौ भनेर प्रमाणित गरिसकेको भन्दै राज्यले उद्योगको प्रवद्र्धन र सम्वद्धर्न गर्नु पर्नेमा जोड दिए । उनले भूकम्प, कोभिड, हैजा, डेंगी जस्ता महामारीलाई पार लगाउने स्वदेशी उद्योग नै हो भन्दै राज्यले दीगो विकास लक्ष्यका लागि उद्योगहरुको तर्फबाट कुरा गर्दा औषधि उद्योग पनि प्रमुखतामा पर्ने बताए । उनले औषधि नीतिमा भएका पुरानै व्यवस्थालाई लागू गर्न सके पनि स्वदेशी औषधि उद्योग ७५ प्रतिशत आत्मनिर्भर हुन सक्ने बताए ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले नेपालमा औषधि उद्योगले विविध चुनौतीका बीच गरेको प्रगती सन्तोषजनक रहेको बताए। उनले गुणस्तरीय उत्पादनको नियमन गर्ने निकाय अझ दह्रो हुनुपर्ने कुरामा जोड दिदै उनले अस्वस्थ प्रतिस्पर्धा र एउटै प्रकारका औषधि सबैले बनाउने भन्दा पनि सबैले सुरक्षित र गुणस्तरीय उत्पादनका लागि जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले औषधि उत्पादक संघका समस्याहरु सरकारसँग पुर्‍याउन आफूहरु संगै रहेको बताउँदै नेपालमा चाहिने दक्ष जनशक्ति उत्पादन र मुलुकभरको पहुचमा पुर्‍याउन सरकारले सोच्ने बेला आएको धारणा राखे । उनले औषधि उत्पादनको आत्मनिर्भरतर्फ सरकारको नीति प्रष्ट गरी नियामक निकायलाई मजबुत बनाएर लैजाने काम सँगै गर्नुपर्ने बताए।

राष्ट्रिय औषधि प्रयोगशालाका प्रमुख पान बहादुर क्षेत्रीले औषधि उत्पादक संघले २८ वर्ष पुगेको उपलक्ष्यमा बधाई तथा शुभकामना व्यक्त गरे।

एपोनका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले विभिन्न समयमा औषधिको मूल्य नियन्त्रण हुँदै आए पनि पछिल्लो पटक २०६४ साल देखि समायोजन हुन नसकेका कारण अहिले उत्पादकले सबैभन्दा बढी समस्या खेपेको बताए। अहिले सम्म स्वास्थ्य मन्त्रीहरु मध्ये गगन थापाले नेपालमानै उत्पादन गर्न सक्ने औषधी निर्यात बन्द गर्ने प्रयास गरेको सम्झदै, त्यो छोटो समय भएकाले कार्यान्वयन गर्न नसकिएको भन्दै, अब यसमा काम होला भन्ने आशा रहेको बताए। सरकारले यहाँका उद्योगको विकास चाहाने हो भने लगानीको संरक्षण पनि गर्ने बेला भएको बताए। सरकारले नचाहेमा निजी क्षेत्रले चाहेर नहुने त्यसैले आवश्यक नीति निर्माणमा सरकारको यसमा उदार भुमिका हुनुपर्नेमा उनले जोड दिए।

नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा प्रकाश बुढाथोकीले आवश्यक औषधी तथा उपकरण स्वदेशमै उत्पादन हुनसके महामारीमा अलि बढी बिरामी बचाउन सकिन्थ्यो कि भन्दै मानव स्रोतको व्यवस्थापन गर्न सकिएन भने संविधान अनुसारको जनताको मौलिक अधिकार संरक्षण गर्न नसकिने अवस्था हुने बताए।

नेपाल औषधि व्यवसायी संघका निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले शुभकाना दिदै, उत्पादन तथा वितरणका केही समस्याहरु सुनाएका थिए।

केमीकल तथा मेडिकल सप्लायर्स एसोिसएसन नेपाल (केमसान)का अध्यक्ष, भक्त हमालले महामारीमा औषधि उत्पादक संघले खेलेको भुमिकाको सरहाना गर्दै, औषधि उद्योगको क्षमता वृद्धि हुँदै गएकोमा खुसी व्यक्त गरे।

औषधी उत्पादक संघका महासचिव विप्लव अधिकारीले, एपोनको वार्षिक प्रगती विवरणको सारांस प्रस्तुत गर्दै नेपालमा औषधि उत्पादनको क्षेत्रमा भईरहेको प्रगती प्रस्तुत गरेका थिए। उनले अभावका बेला आफ्नैले थेग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारले स्वदेशी औषधि उद्योगको प्रवद्र्धनका लागि व्यवसायीले उठाएको मागलाई गम्भीरता पूर्वक लिन आग्रह गरे ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *