स्वास्थ्य मन्त्रीले भने, ‘डेंगु संक्रमण फैलिएको बेलामा औषधि उपलव्धतामा गडबड नहोस्’

काठमाडौँ, ६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले सिटामोल लगायतका औषधिको उपलव्धता र आपूर्तिलाई सहज बनाउन औषधि उत्पादक तथा व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

डेंगु प्रकोप फैलदै जाँदा अत्यावश्यक पर्ने सिटामोल लगायतका औषधिको पुन अभाव भएको सुनिन थालेको भन्दै उत्पादन बढाउन तथा आपूर्तिलाई सहज बनाउन उत्पादक तथा व्यवसायीसंग आग्रह गरेका हुन् ।

व्यावसायीहरुले सरकारले मूल्य समायोजन गर्न नचाहेका कारण बेला बखतमा औषधिको उपलव्धतामा समस्या आएको बताउने गरेका छन् ।

औषधि व्यवस्था विभागले बुधबार आयोजना गरेको बार्षिक प्रगति समिक्षा गोष्ठीमा बोल्दै स्वास्थ्य मन्त्री खापुङले सिटामोल लगायतका औषधिको अभावको कुरा आईरहेको भन्दै विभागका अधिकारी, उत्पादक तथा व्यवसायीको ध्यानाकर्षण गराएका थिए ।

उनले औषधिको अभाव हुन नदिन तथा आफ्ना जायज माग छन् भने मन्त्रालयमा आएर छलफल गर्न समेत आग्रह गरे । उनले भने, ‘अहिले डेगु संक्रमणको बेला छ । यो संक्रमणमा पर्दा बढी चाहिने औषधि सिटामोल रहेछ । तर यहि बेला यहि औषधि अभाव भयो भन्ने सुनिएको छ । यो के हो ? किन यस्तो भएको छ ? मूल्य समायोजनका कुरा हो भने पनि हामी छलफल गरौला, समायोजन पनि गरौँला तर अहिले उत्पादन घटाउने काम नगरौँ । प्रकोपलाई उतारौँ ।’

उनले विभागले गरेको कामप्रति सन्तुष्ठि जनाउँदै भविस्यमा पनि चनाखो भएर आफ्नो दायित्व पुरा गर्न आग्रह गरे । उनले विभागको बजेट, जनशक्ति लगायतका विषय आफूले बुझेको भन्दै त्यो समस्या समाधानका लागि पहल जारी राखेको आश्वासन दिए ।

कार्यक्रममा स्वास्थ्य सचिव देवकुमारी गुरागाईले उपलव्ध साधन स्रोतको अधिकतम प्रयोग गरी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन निर्देशन दिईन् । उनले समिक्षामा आएका कुराहरु, उठेका प्रश्नहरुलाई उत्तर खोज्ने गरी काम गर्न विभाग नेतृत्वको ध्यानाकर्षण गराईन् । उनले स्रोत साधन र जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको समेत जानकारी दिईन ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले सिमित स्रोत साधनबाट अत्यधिक प्रतिफल दिनु पर्ने अवस्था आएको विभागले गरेका काम र समस्याका बारेमा बताएका थिए । उनले विभाग बलियो नहुँदासम्म स्वास्थ्य प्रणाली बलियो हुन नसक्ने बताउँदै विभागलाई साधन स्रोत सम्पन्न बनाउने तर्फ सोचिदिन आग्रह गरे ।

‘विभागको औषधि नीति २०३५ सालकै छ । जनशक्ति अर्थात दरबन्दी पनि त्यतिवेलाकै छ । औषधि क्षेत्र व्यवसाय त्यसबेला र अहिले कहाँ पुग्यो ? कति फरक छ ? यसलाई हेरेर आवश्यक निर्णय छिटै लिनुपर्ने अवस्था छ,’ महानिर्देशक भट्टराईले भने ।

कार्यक्रममा औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले भने औषधिको मूल्य समायोजन आजको आवश्यकता रहेको बताए । उनले भोट घटछ भनेर नेता मन्त्रीहरुले औषधिको मूल्य बढाउने निर्णय गर्न डराएको समेत आरोप लगाए । उनले नेताको भोट जोगाईदिन मंहगो मूल्य तिरेर ल्याएको औषधि सस्तोमा उपलव्ध गराउन नसकिने स्पष्ट पारे । उनले विभागको दरबन्दी लगायत सेवाग्राहीले गर्ने गुनासाको बारेमा समेत आफ्ना भनाईहरु राखे ।

कार्यक्रममा औषधि उत्पादक संघका प्रतिनिधिको रुपमा पुगेका एपोनका पूर्व अध्यक्ष दीपक प्रसाद दाहाल तथा औषधिसंग जोडिएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आफ्ना गुनासा र सुझावहरु राखेका थिए ।

विभागका तर्फबाट बरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले विभागको तर्फबाट तयार गरिएको बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *