क्यान्सरबिरुद्धको अबको अभियान : सचेतनासंगै ‘स्क्रिनिङ टेष्ट’ बढाऔँ

क्यान्सरको बारेमा फिल्म मेकरको सोच अब बदलिनु जरुरी छ

अहिले नेपालमा क्यान्सर रजिष्ट्रर ‘सिस्टम’ सुरु भएको छ । तर, यो ‘सिस्टम’ अझै पनि पूर्ण परिपक्व भईसकेको छैन् । देशभरको तथ्यांक अहिले यसले अहिल्यै समेटन सक्दैन ।

हामी कहाँ क्यान्सरका बिरामी ठ्याक्कै कति छन् भनेर सोध्दा यकिन विवरण दिने देश भित्रकै ‘सिस्टम’ पूर्ण तयारी अवस्थामा नभए पनि विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले ‘इन्डोर्स’ गरेको एउटा संस्था छ जसलाई हामी ‘ग्लोबो क्यान’  भनेर चिन्दछौँ, त्यसले प्रत्येक दुई वर्षमा विश्वका हरेक देशको क्यान्सरको अवस्था के छ भनेर विश्लेषण गर्छ ।

ग्लोबो क्यानले सन् २०२० मा सार्वजनिक गरेको वर्ल्डवाइड रिपोर्टले नेपालमा प्रत्येक वर्ष २० देखि २५ हजार नयाँ क्यान्सरका बिरामी पहिचान हुने गरेको बताएको छ । यस्तै रिपोर्टमा प्रत्येक वर्ष १२ देखि १५ हजार नेपालीले क्यान्सरकै कारण ज्यान गुमाउने उल्लेख गरेको छ ।

विकसित देशहरुमा क्यान्सर जुन दरमा पत्ता लाग्छ त्यसको २० – २५ प्रतिशत मात्रै मृत्यु हुन्छ तर नेपालमा पत्ता लागेको संख्याको मृत्युदर ६० – ६२ प्रतिशत पुग्यो । यो आफैमा डरलाग्दो तथ्यांक हो । यसको प्रमुख कारण कारण नेपालीहरुमा जनचेतनाको कमी हो जस्तो मलाई लाग्छ । जनचेतना कमी भएकै कारण क्यान्सर रोग ढिला पत्ता लाग्ने गरेको छ । जति ढिलो पत्ता लाग्यो समस्या उति जटिल बन्छ र मानिसको मृत्यु हुने सम्भावना बढ्छ । नेपालमा भएको त्यहि नै हो ।

किनभने, क्यान्सर रोगलाई स्टेज जिरो, स्टेज १ र स्टेज २ मा पत्ता लाग्यो भने सतप्रतिशत निको पार्न सकिन्छ । त्यहि क्यान्सर शरीरको सबैतिर फैलिएको अवस्थामा पत्ता लाग्यो भने पैसाको पनि बढी खर्च हुने साथै बिरामीलाई बचाउन पनि अलि मुस्किल हुनसक्छ । नेपालको समस्या त्यहि नै हो । क्यान्सर भएको ढिलो पत्ता लाग्ने र जसका कारण अकाल मृत्यु हुने ।

क्यान्सर रोग न्युनिकरणका लागि जनचेतनासंगै स्क्रिनिङ जाँच जरुरी

क्यान्सर रोग लाग्न नदिन जनचेतना अभिबृद्धि गर्नु पर्छ भनेर सुन्न थालेको बर्षौ भयो । तर अब यतिले मात्रै पुग्दैन । जनचेतना संगसंगै क्यान्सरको स्क्रिनिङ जाँच पनि गर्नु पर्छ । किनभने, हामी अजम्बरी त छैनौँ । बच्चा बेलामा हामी कमजोर हुन्छौँ । जवान हुँदा बलियो हुन्छौँ तर फेरी बृद्ध हुँदै जाँदा पुन कमजोर हुँदै जान्छौँ ।

त्यसैले ४० देखि ५० बर्षको उमेरमा पुगिसकेपछि प्रत्येक बर्षमा एक पटक चाही हाम्रो स्वास्थ्यको लागि समय निकालौँ । त्यो भनेको नजिकैको स्वास्थ्य संस्थामा गएर सामान्य जाँच (बेसिक टेष्ट)हरु गराऔँ ।

त्यसबाहेक नेपालमा बढी हुने क्यान्सरहरु जस्तै पुरुषहरुलाई फोक्सोको क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर,  पित्तथैलीको क्यान्सर, रगतको क्यान्सरको जाँच गराऔँ ।

महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, डिम्बासयको क्यान्सर, कलेजोको क्यान्सर, फोक्सोको क्यान्सर, आदि जाँच गराऔँ ।

यी जाँचहरु सबैलाई परीक्षण गर्न नमिल्न पनि सक्छ । किनभने यस्ता जाँचहरुले कहिलेकाँही फाइदा भन्दा बढी वेफाइदा पनि गर्न सक्छ । त्यसैले यस्ता जाँच गराउँदा चिकित्सकसंगको परामर्शमा मात्रै निर्णय लिनु पर्छ ।

के हो क्यान्सर स्क्रिनिङ जाँच ? कहिले कसरी गर्ने ?

साधारण भाषामा भन्नु पर्दा बिरामी नहुँदै गरिने क्यान्सर जाँच । शरीरमा क्यान्सर छ कि छैन ? हुने सम्भावना छ कि छैन ? भनेर स्वस्थ व्यक्तिलाई निश्चित समय गरिने जाँच ।

अर्को शव्दमा भन्नुपर्दा स्वस्थ व्यक्तिमा गरिने एउटा यस्तो जाँच जसबाट जसबाट हामीले क्यान्सर लाग्दैछ भने पनि लक्षण देखिनु अघि नै पत्ता लगाउन सकिन्छ ।

अहिले मुख्यत तीनवटा जाँच क्यान्सरकै लागि भनेर गर्न मिल्छ । एउटा स्तन क्यान्सर, अर्को पाठेघरको मुखको क्यान्सर र अर्को चाहि ठूलो आन्द्राको क्यान्सर ।

त्यो बाहेक प्रोस्टेट क्यान्सर चाहि स्क्रिनिङ जाँच गर्ने कि नगर्ने भनेर ठूलो बहस छ । तर यदि चाहि परिवारमा केही जोखिमको कारण छन् भने गर्दा हुन्छ भनिएको छ । पारिवारिक जोखिम छैन भने नगर्नु राम्रो हुन्छ भनिएको छ ।

यस्तै महिलाहरुमा स्तन क्यान्सरको हकमा ४५ वर्ष देखि ६५ वर्ष उमेर समूहका महिलाले म्यामोग्राम गर्नु राम्रो हुन्छ । म्यामोग्रामले सुरुकै अवस्थाको क्यान्सरको पहिचान गरिदिन्छ । केही तथ्यांकले त म्यामोग्रामबाट दुई वर्ष अघि कै अवस्था समेत पत्ता लगाउँछ भनेको छ ।

अर्को पाठेघरको मुखको क्यान्सरको जाँच गर्न सकिन्छ । ‘ह्युमन प्यापिलोमा भाइरस’ले हुने यो क्यान्सरको जाँच भन्दा अघि नै यसको रोकथामका लागि एचपीभी भ्याक्सिन पनि दिन सकिन्छ ।

‘भ्याक्सिन’को कुरा भर्खरै आएको छ हाम्रा दिदी आमाहरु जो अलि उमेर पुगेका हुनुहुन्छ उहाँहरुले पाठेघरको मुखको पानी जाँच गर्ने गर्नु पर्दछ । अर्थात २१ बर्ष देखि ६५ बर्ष उमेरका हरेक महिलाले प्रत्येक तीन वर्षमा पाठेघरको मुखको पानी जाँच (प्यापस्मेयर) गराउनु राम्रो हुन्छ ।

अब गाँउघर तिर पनि भाइरल टेष्ट (भिलाइल टेष्ट) पनि हुने गरेको सुनिन्छ । तर राम्रो प्यापेस्मेयर नै हो । यसरी जाँच गर्न सकिन्छ ।

अर्को जाँच ठूलो आन्द्राको क्यान्सर हो । यसका लागि ५० वर्ष पुगिसकेपछि प्रत्येक १० वर्षमा एक पटक कोलोनोस्कोपी गर्न सकिन्छ । अव यो कोलोनोस्कोपी अलिक बृहत खालको जाँच भयो । पैसा खर्च हुने र गराउन पनि गाह्रो हुने भएकोले हामीले ‘स्टुल फर अकड व्लड’ भन्छौँ दिसामा रगत छ कि छैन भनेर हेर्ने जाँच, यो जाँच अलि कम खर्चमा पनि गर्न सकिन्छ । यदि हामीले यस्ता जाँच गर्न सक्यौँ भने क्यान्सर रहेछ नै भने पनि समयमै पहिचान गर्न सक्छौँ ।

त्यो बाहेक हामीले बर्षको एक पटक रगतको जाँच सीभीसी, कलेजो जाँच एलएफटी, किडनीको जाँच आरएफटी, पिसावको जाँच यति मात्रै गरेमा पनि ९० प्रतिशत रोगहरु थाहा हुन्छ । यी कुराहरुमा ध्यान दियो भने रोगहरु समयमै पहिचान हुन्छ ।

समयमै रोग पहिचान भयो भने उपचार पनि सहज र खर्च पनि धेरै नहुने । अनि खर्च जोगिदा हामीलाई आर्थिक भार परेन । घरमा पनि शान्ति भयो देशमा पनि शान्ति भयो । काम गर्ने जनशक्ति पनि विग्रिएन । यदि हामीले जाँच पनि नगर्ने आफनो जीवन शैलीमा पनि परिवर्तन नगर्ने हो भने एक्कासी दीर्घरोगको सामना गर्नु पर्न सक्छ ।

हाम्रो बानी पनि समस्याको कारक

हाम्रो सबैभन्दा ठूलो समस्या भनेको शरीरमा केही समस्या नदेखिदासम्म स्वास्थ्य जाँच नगर्ने बानी छ । यसलाई अव बदल्नु पर्छ । स्वस्थ भएकै बखत स्वास्थ्य जाँच गराउनु पर्छ । यसो गर्न सकियो भने क्यान्सर लगायतका दीर्घरोगहरु लाग्नबाट जोगिन सकिन्छ । रोग लागि हालेमा पनि समयमै उपचार गरी पूर्ण रुपमा निको हुन सकिन्छ ।

नेपालमै छ उपचार सुविधा

दश-पन्ध्र वर्ष अघिको अवस्था सभ्झिउँ त । मुटुको बिरामी भएका हुने खाने नेपालीहरु उपचारका लागि विदेश हुत्तिन्थे । अहिले मुटुको लागि त्यसरी विदेश जानु पर्दैन । हुने खाने बर्गहरुले पनि मुटुको उपचारका लागि यहि नै विश्वास गरेका छन् । यहि नै उपचार गराएका छन् ।

क्यान्सर रोगको उपचारको कुरा गर्ने हो भने अहिले नेपाल  ‘प्रिमेटिभ स्टेज’मा छ । तर अहिले क्यान्सरको उपचार गर्ने सरकारीसंगै निजी अस्पताल पनि खुलेका छन् । खुल्दै छन् ।

म भन्छु, अहिले क्यान्सरको ९९ प्रतिशत उपचार यहि (नेपालमा ) नै हुन्छ ।

कार्टिसेल थेरापी, प्रोटोन थेरापी रोवर्टिक सर्जरी जस्ता सेवाका लागि मात्रै अहिले विदेश जानु पर्ने हुन्छ । तर यिनीहरु सेवा लिनका लागि विदेश नै जानु परे पनि पहिले नेपालकै डाक्टरलाई देखाएर सल्लाह लिएर जाँदा राम्रो हुन्छ । विदेश जानै परेमा कहाँ राम्रो हुन्छ हामीले सल्लाह दिन्थ्यौं नि ।

अर्को कुरा विदेशमा भाषाको पनि समस्या हुन्छ । हामीले भाषा बुझ्दैनौँ । नेपालमा धनी बर्ग त त्यहि ५ -१० प्रतिशत होलान । अरुले जानु परेमा घरजग्गा बेचेर नै जानु पर्ने अवस्था हुन्छ । त्यसैले मेरो सल्लाह चाहि सबैको उपचार यहि नै हुन्छ जो उपचार हुन सक्दैन यहाँका डाक्टरसंग सल्लाह गरेर जाँदा राम्रो हुन्छ ।

सरकारी तवरबाट वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगञ्ज संगै त्रिवि शिक्षण अस्पताल परिसरमा सुरेश वाग्ले क्यान्सर सेन्टर पनि खुलेको छ ।  यिनीहरु क्यान्सरको राम्रो उपचार गर्ने संस्थाहरु हुन् । यस्तै क्यान्सरकै उपचारका लागि निजी तवरबाट पनि अस्पताल खुलेका छन् ।

अर्को कुरा नेपालमा सरकारी तवरबाट सञ्चालित भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर क्यान्सर अस्पताल) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा क्यान्सरका बिरामीका लागि धेरै औषधिहरु निशुल्क उपलव्ध छ । अमेरिकी संस्था म्याक्स फाउन्डेशनले फाइजर, नोभाटिस जस्ता विश्वस्तरका कम्पनीका अति नै महंगा र अत्यन्तै प्रभावकारी औषधिहरु नेपाली बिरामीका लागि विगत २० वर्ष देखि निशुल्क उपलव्ध गराउँदै आएको छ ।

उदाहरणका लागि सीएमएल एक किसिमको रगतको क्यान्सर, जीस्ट भन्ने एक किसिमको पेटको क्यान्सर, फोक्सोको क्यान्सर त्यसमा एल्क पोजेटिभ र रोजन पोजेटिभ फोक्सोको क्यान्सर, मिर्गौलाको क्यान्सरमा,डर्माटो फाइवर सार्कोमा भनिन्छ त्यसको लागि पनि औषधि निशुल्क पाइन्छ ।

अर्को कुरा निशुल्क प्राप्त हुने यी औषधिहरु क्यान्सरका बिरामीका लागि अमृत समान मानिएका छन् । अहिले हामीकहाँ सीएमएलका २० बर्ष देखि औषधि खाएका विरामी छन् । फोक्सोको क्यान्सरको ८ ९ बर्ष देखि औषधि खाएका बिरामी छन् ।

म्याक्स फाउन्डेशनले मासिक ८० हजार देखि ५ – १० लाख रुपैयाँ सम्म पर्ने खालका ती औषधिहरु बिरामीका लागि आजिवन निशुल्क उपलव्ध गराएको छ ।

औषधिकै कारणले जटिल अवस्थामा पुगिसकेका क्यान्सरका बिरामीहरु सामान्य अवस्थामा फर्किएका छन् । मस्तिष्कलाई छोईसकेको टाउको सम्म फैलिईसकेको क्यान्सरको बिरामी पनि आठ बर्षसम्म बाचि राख्नु भएको छ । त्यस्ता धेरै उदाहरण छन् ।
मस्तिष्कमा गईसकेको भनेपछि निकै थोरै छ भन्ने मानिथ्यो तर अब त्यो मान्यता पुरानो हुन थाल्यो । औषधिले आठ दश वर्षसम्म बाँची रहेका छन् ‘वीथ गुड क्वालिटी अफ लाइफमा’ ।

क्यान्सरका बिरामीलाई निशुल्क औषधि विगत २० वर्ष देखि

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अमेरिकाको म्याक्स फाउन्डेशनको पहलमा विगत २० वर्ष देखि क्यान्सर रोगका बिरामीका लागि निशुल्क औषधि उपलव्ध छ । यहाँ निर के स्पष्ट हुनुपर्छ भने सबै खालका बिरामीका लागि भने यो औषधि प्रयोग नहुनसक्छ । पाटनमा मात्रै होइन अहिले भरतपुर क्यान्सर अस्पतालबाट बिरामीहरुले निशुल्क औषधि पाईरहेका छन् ।

अहिले नयाँ नयाँ रोगहरुका लागि नयाँ नयाँ औषधिहरु भर्खर भर्खर पनि आईरहेका छन् । सबैभन्दा पहिले सीएमएलबाट सुरु भएको हो । इमाटिनि जो क्यान्सरको उपचारमा पनि ट्यावलेटले काम गर्छ है भनेर आविश्कार भयो । अहिले जति पनि ‘टार्गेटेड थेरापी र इम्युनो थेरापी चाही इमाटिनी तथा ग्लिव्याकबाट सुरु भएको हो ।

पहिले क्यान्सरको औषधि भनेको किमो मात्रै हो । अहिले धेरै औषधिहरु आईसकेका छन् ।

तपाईँलाई भनु पाटन अस्पतालबाट १२ देखि १५ सय जनाले नियमित रुपमा निशुल्क औषधि खानु भएको छ । भरतपुरबाट पनि मासिक रुपमा १५ सय देखि २ हजार जनाले नियमित रुपमा निशुल्क औषधि लिनु भएको छ ।

यति महंगा औषधि निशुल्क कसरी ?

सबैको मनमा उठ्ने प्रश्न हो यति महंगा औषधि निशुल्क कसरी ? भनेर म्याक्स फाउन्डेशनका लागि विभिन्न कम्पनीहरुले सामाजिक उत्तरदायित्व भनौ वा फिलान्थ्रोपिक भन्ने हुँदो रहेछ । फाइजर, नोवाटिज जस्ता ठूला ठूला कम्पनीहरुले बार्षिक रुपमा विलियन डलरका औषधि विक्रि गर्दछन् । यिनीहरुले त्यसको केही प्रतिशत ‘फिलान्थ्रोपिक’ अन्तरगर्त खर्च गर्नु पर्दो रहेछ । हाम्रो जस्तो न्युन आय भएका देशहरुलाई उपलव्ध गराउँदा रहेछन् । गरीव देशका विरामीका लागि आर्थिक अवस्थाको आधारमा भू बनोटको आधारमा महिला पुरुषको आधारमा औषधि किन्न र खान नसकेर मर्न नपरोस भनेर यो सुविधा दिईएको हो ।

त्यसो त सन् २०२१ मा विश्व स्वास्थ्य संगठनले जो थिम ल्याएको थियो ‘क्लोज द केयर ग्याप’ भन्ने । यस्तै कामबाट प्रभावित भएर आएको हो कि जस्तो लाग्छ ।

निशुल्क औषधि ट्यावलेट हो कि सुई ?

रोग अनुसार खाने ट्यावलेटहरु र इन्जेक्सन पनि पाउँछ । सीएमएल, फोक्सो, पेटको क्यान्सरका लागि खाने ट्यावलेट भयो । किडनीको क्यान्सरका लागि खाने ट्यावलेट पनि छ इन्लाइटा भन्छौँ । अर्को टोरिसेल इन्जेक्सन छ ।

औषधि खान मिल्ने क्यान्सरका बिरामीहरुलाई यो कार्यक्रममा आवद्ध भएपछि जिन्दगीभरका लागि निशुल्क उपलव्ध हुन्छ । त्यहि भएर त अहिले २० बर्ष देखि सीएमएलका बिरामीले निशुल्क औषधि खाएर आफ्नो जीवनलाई क्रियाशिल गराईराख्नु भएको छ । फोक्सोको क्यान्सरको ८ वर्ष देखि खाई रहनु भएको छ । जबसम्म बिरामीलाई आवश्यक छ तबसम्म निशुल्क औषधि उपलव्धता गराउने कम्पनीले जिम्मा लिएको छ । हामीले त समन्वयको काम मात्रै गरेका छौँ ।

क्यान्सरको बारेमा फिल्म मेकरको सोच अब बदलिनु जरुरी छ

म मेडिकल अंकोलोजिष्टसंगै इपिडिमियोलोजिष्ट पनि हुँ । मैले एमपीएच पनि गरेको छु । क्लिनिकलको आँखाबाट हेर्दा बिरामीको कसरी उपचार गर्ने भन्ने नै हुन्छ । तर जनस्वास्थ्यविज्ञको आँखाले हेर्दा अब क्यान्सरको उपचार गरेर मात्रै हुँदैन । क्यान्सर रोग लाग्नै नदिने योजना अघि सार्नु पर्छ भन्ने लाग्छ । यसका लागि रोगबारे सहि रुपमा जनचेतना जगाउन पनि जरुरी देखिन्छ ।

मैले पव्लिक हेल्थमा मास्टर्स गर्दा खेरी नै के अनुभव भयो भने उपचार त हामी व्यक्तिहरुलाई गर्छौ । यदि रोग लाग्न अघि नै हामीले व्यक्ति तथा समूहलाई सचेत बनाउँन सक्यौँ भने रोग लाग्नबाट नै जोगाउन सक्छौँ । किनभने हामी सबैलाई थाहा छ रोग लागेर उपचार गर्न भन्दा लाग्न नदिनु नै उत्तम हो । त्यसैले जबसम्म जनचेतना हुँदैन, तबसम्म सबैलाई थाहा हुँदैन । अबको हाम्रो अनुसन्धानहरु कसरी यो रोग लाग्न नदिने भन्नेमै केन्द्रीत हुनुपर्छ ।

उदहारणका लागि हामीले एउटा फिल्म हेर्छौं, त्यो फिल्ममा कोही पात्रलाई मार्नु परेमा क्यान्सर लगाएर मारिन्छ । मलाई लाग्छ फिल्म लेख्ने, निर्देशन गर्ने र बनाउनेहरुलाई पक्कै थाहा नभएको हुन पर्छ कि क्यान्सर लागेकाहरु पनि बर्षौ सम्म बाँचि रहेका हुन्छन् । त्यसैले अब फिल्म मेकरहरुले आफ्नो ‘थिम’ चेन्ज गर्नु पर्छ ।

फिल्म हेरेर धारणा बनाउने हाम्रो समाजले त्यहि हेरेकै कारण क्यान्सर रोग लाग्ने वित्तिकै मानिसको मृत्यु हुन्छ भन्ने धारणा बनाउने गरेको पाईन्छ । त्यसैले मेरो आग्रह अब फिल्म निर्माताहरुले पात्रलाई मार्न परेमा क्यान्सर रोग लागेको भन्ने कथा नजोडिदिनुहोला । बरु क्यान्सर रोग लागेर पनि गुड क्वालिटीअफ लाइफमा बाँचेको । बर्षौसम्म बाँचेको सिन राखिदिनुहोला । रियल पात्रहरु नै चाहियो भने हामी उपलब्ध गराईदिउला ।

पाटनमा कति धेरै क्यान्सरका विरामीहरु आउनुहुन्छ । कतिपयले सुरुमै सोध्नुहुन्छ हाम्रो बिरामी बाच्छ कि बाँच्दैन ? निर्मुल भए उपचार गर्छौँ नत्र गर्दैनौँ भन्छन् । यो रोग लागेपछि त बिरामी पनि मरिहाल्छ घर जग्गा पनि बेच्नु पर्छ,। किन उपचार गर्ने भन्नुहुन्छ ।  त्यस्ता सोच भएकाहरुलाई सम्झाउन पनि गाह्रो हुन्छ । उपचार गर्नुस भन्दा कतिपयले यो डाक्टरले पैसाको लागि कुरा गरयो कि भनेर सोच्नेहरु पनि छन् । त्यसैले फिल्ममार्फत यी कुराको सन्देश प्रवाह गर्न जरुरी छ । बास्तवमा क्यान्सर अब क्युरेवल डिजिज हो ।

सेलिब्रेटीहरुले यो कुरा गरेमा जनचेतना जगाउन निकै नै सजिलो र प्रभावकारी हुन्छ । जसरी डाइविटिज प्रेसर र थाइराइडका बिरामीले आजिवन औषधि खानुपरे पनि ढुक्क हुन्छन् क्यान्सर रोग पनि त्यस्तै हो है औषधि आजिवन खान ेर बेटर लाइफमा ज्युन सकिन्छ भन्ने सन्देश दिनु पर्छ ।

अन्तिममा मेरो आग्रह

  • क्यान्सर गराउने पहिलो नम्बर कारण भनेको धूमपान र मध्येपान हो । त्यो हामीले छोडनु पर्छ । आजै देखि छोडौं ।
  • पहिले पहिले हाम्रा बालबालिकाहरु सबै दुव्ला पातला हुन्थे । त्यसबेला कुपोषणको समस्या थियो । अहिले मोटोपनाको समस्या छ । यसले पनि क्यान्सरको जोखिम बढाउँछ । मोटोपनालाई नियन्त्रण गरौँ । हुन नदिऔँ । त्यसका लागि खानपान, जीवनशैलीलाई विशेष ध्यान दिऔँ ।
  • स्वास्थ्यलाई समय दिनु पर्छ । कम्तीमा हरेक दिन विहान १०- २० मिनेट वा आधिघण्टा समय छुट्याउने गर्नु पर्छ । यसले क्यान्सर मात्रै होइन डायविटिज थाइराइड लगायतका रोगको जोखिम समेत घटाउँछ ।
  • अहिले हामी सब व्यस्त छौँ । काम गरेका छौँ पैसा पनि कमाएका छौँ । तर आराम खै ? आरामको लागि पनि समय छुट्यौँ । समयमै सुतौँ ।
  • खानाको कुरा गर्दा नेपाली खाना संसारमै उत्कृष्ठ खाना हो है । विदेशीहरुले पनि यसलाई स्वीकार गरिकेको अवस्था हो । संसारको सबैभन्दा राम्रो खाना भनेको इन्डियन सवकन्टिनेन्टल । नेपाल, भारत बंगलादेश, पाकिस्तान देशमा खाने गरेको खाना ।

हामीले खाने खाना हेरौँ न कति राम्रो छ 

हाम्रो खाना भातमा कार्बोहाइडेट, दालमा प्रोटिन, तरकारीमा फाइवर, हप्तामा एक दुई पटक खाने माछामासु अण्डामा कति राम्रो प्रोटिन । अचारमा भिटामिन सी । हामीलाई चाहिने व्यालेन्स डाइट त हाम्रै खानामा छ त । अनि किन हामी बर्गर र पिजा तिर लाग्ने ? सेकुवा सुकुटी किन खानु परयो ? त्यसैले खानालार्य परिवर्तन गर्न सकेमा क्यान्सर लगायतका दीर्घरोगहरुमा जोगिन सकिन्छ । अवको हाम्रो मुख्य ‘फोकस’ नै यी दीर्घरोगमा हुनुपर्दछ । सरुवा रोगलाई नियन्त्रण गरिसक्यौँ, अबको हाम्रो दृष्टि दीर्घरोग तिर जानुपर्छ ।

# डा. शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अंकोलोजिष्टको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *