चितवनमा ९ जनामा जापनिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि

 

चितवन, २१ भदौ । जिल्लामा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ। २२ जना शङ्कास्पदको नमूना परीक्षणका क्रममा ९ जनामा सङ्क्रमण पुष्टि भएको हो।

विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाले यसरी जापानीज इन्सेपफ्लाइटिसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा– १२ जनाको परीक्षणमा चार जनामा, माडीमा पाँच जनाको परीक्षणमा दुई जनामा, राप्तीमा दुई जनाको परीक्षणमा एक जनामा, कालिका नगरपालिकामा एक जनाको परीक्षणमा एकैजनामै र रत्ननगरमा दुई जनाको परीक्षणमा एक जनामा सङ्क्रमण देखिएको हो ।

साउनको १५ गतेदेखि बिरामी देखिन थालेकोमा भदौ १८ गते यो सङ्ख्या बढेर नौ पुगेको हो। यहाँ परीक्षण गर्दा नमूनामा सङ्कास्पद देखिएपछि नमूनालाई काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।

कार्यालयका प्रमुख दुर्गादत्त चापागाईका अनुसार सङ्क्रमितमध्ये जटिल अवस्थाका दुई जनाको भरतपुर अस्पतालको सघन उपचार उपचार भइरहेको छ ।

माडीमा एक वृद्ध नागरिक अर्धचेत अवस्थामा रहेका छन्। अन्यको अवस्थाको बारेमा जानकारी लिने काम भइरहेको भए पनि अहिलेसम्म रोगका कारण मृत्यु हुन नपाएको उनले जानकारी दिए। जिल्लामा यो रोगले महामारीको रुप लिएको सम्भवतः पहिलो भएको प्रमुख चापागाईले बताए ।

हाल उक्त रोग देखिएका चार पुरुष र पाँच महिला छन्। उनीहरु २९ वर्ष उमेरदेखि ७५ वर्षसम्मका छन्। देशभर सङ्क्रमितको सङ्ख्या ४५ छ। उनका अनुसार बागमती प्रदेशमा यो सङ्ख्या १८ पुगेकामा नौ जना चितवनमा देखिएको हो। सन् २०२० र २०२१ मा जिल्लामा यो सङ्ख्या एक एक जना थियो। सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो ।

प्रमुख चापागाईले भने, “सम्भवत जिल्लामा यसरी महामारीको रुपमा बढेको पहिलो हो।” सन् २०१८ मा देखिएका बिरामी १५ वर्ष मुनिका थिए भने त्यसपछिका सबै १५ वर्षभन्दा माथिका हुन् ।

विश्व स्वास्थ्य सङ्गठनले एउटा जापानीज इन्सेफ्लाइटिसको बिरामी देखिँदा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ। यसलाई हेर्दा चितवनमा दुई हजार सात सय जनामा सङक्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको उहाँको भनाइ थियो ।

स्वास्थ्य सङ्गठनले कुनै निश्चित भूगोल, समुदाय र समयमा अनुमानितभन्दा बढी जापानीज इन्सेफ्लाइटिसका बिरामी देखिएमा त्यसलाई महामारी भन्ने गरेको छ। नेपालको इतिहासमा सन् १९७८ मा रुपन्देही जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो। सन् २००४ मा देशव्यापी रुपमा खोजपडताल अभियान गरिएको थियो ।

सन् २००६, सन् २०११ र २०१६ मा राष्ट्रिय रुपमा अभियानको रुपमा जनचेतनामूलक कार्यक्रम ९क्याम्पियन० गरिएको थियो। सन् २००९ देखि नियमित रुपमा १२ महिना पुगेका बालबालिकालाई खोप लगाइँदै आइएको छ।

रोग देखिएका बिरामीमध्ये एक तिहाईको निको हुने, एक तिहाई अपाङ्ग हुने र एक तिहाइको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण छ ।यो रोग अप्रिल/मे देखि सेप्टेम्बर/अक्टुबरसम्म देखिने गर्दछ ।

भरतपुर अस्पतालका प्रवक्ता फिजिसयन डा गोविन्द कँडेलले सुङ्गुर र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने बताए। मानिसबाट मानिसमा यो रोग सर्दैन। अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ।

यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उनले जानकारी दिए ।

क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने चितवन स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। उनले ग्रामीण क्षेत्रमा सुङ्गुर, बङ्गुर र हाँस पालिएको ठाउँ वरिपरी रहँदा विशेष ख्याल गर्न र रोगको आशङ्का भएमा तत्काल उपचार गर्न आग्रह गरे।

कार्यालयले बिरामीको सङ्ख्या एकाएक बढेपछि अस्पताल र पालिकाका स्वास्थ्य प्रमुखसँग आज छलफल गरी तत्काल तथ्याङ्क कार्यालयमा पठाउने व्यवस्था मिलाउन र आशङ्का देखिएका बिरामीलाई उपचारको प्रबन्ध मिलाउने विषयमा छलफल गरेको छ ।

सो अवसरमा विश्वस्वास्थ्य सङ्गठनका यस क्षेत्रमा कार्यरत कर्मचारीको पनि उपस्थिति थियो। स्वास्थ्य सङ्गठनले पछिल्ला दिनमा रोग देखिएका बिरामी र तीनका परिवारलाई भेटघाट गरी अवस्था बारेमा बुझ्ने काम गरिरहेको छ। जापानीज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय हो ।

त्यसैगरी बालबालिकालाई यो रोगविरुद्ध खोप लगाउने, सुङ्गुर, बङ्गुर, हाँस, घोडाजस्ता घरपालुवा जनावरलाई व्यस्थित ढङ्गले पाल्ने, पशुपक्षीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनोजाली हाल्ने गर्नुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *