विशेषज्ञ सेवा समेत नि:शुल्क उपलव्ध गराउँदै ज्ञानेश्वरको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र

काठमाडौँ, २८ साउन । ज्ञानेश्वरको ओरालो झर्दै गर्दा दायाँ तिर बजाज मोटरसाइकलको सोरुम देख्न सकिन्छ । सो सो रुम सकिने वित्तिकै आउने गल्लीबाट ५० मिटर भित्र भएपछि भेटिन्छ आमाको घर । त्यहि घरमा सञ्चालित छ शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ।

काठमाडौँ महानरपालिका वडा नं ३० द्धारा सञ्चालित यस केन्द्र सञ्चालनमा आएको १६ महिना पुग्न आट्यो । विदाका दिन बाहेक विहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म नियमित सेवा दिने यस केन्द्रले त्यसपछि ६ बजेसम्मको समय विशेषज्ञ सेवाका लागि छुट्याएको छ ।

वडा कार्यालयले सञ्चालन गरेको भनिएपनि यसको अवधारणा विकास गर्ने, स्थापनाका लागि पहल गर्ने र सञ्चालनका आवश्यक सहयोगका लागि पहल कदमी उठाउने श्रेय भने त्यस क्षेत्रका स्थानीय तथा सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई जान्छ ।

विसं २०७३ सालमा स्वास्थ्य मन्त्री भएका बखत उनले श्रीलंका तथा भारतले अपनाएका शहर केन्द्रित सामुदायिक स्वास्थ्य केन्द्र र क्लिनिक सञ्चालनका विभिन्न प्रयास र अभ्यासको सिकाईको अवलोकन पछि यस्तो केन्द्र स्थापना गरि सञ्चालन गर्ने मुड बनेको बताउँछन् ।

उनले त्यसबेला आफूले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन निर्देशिका तयार पारेर काठमाडौँ महानगरपालिकासंग ११ वटा र बुढानीलकण्ठ नगरपालिकासंग एउटा शहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने सम्झौँता भएको तर त्यसले निरन्तरता लिन नसकेको समेत बताउँछन् ।

‘शहरी क्षेत्रमा जन घनत्व जसरी बढी रहेको छ, त्यहाँका बासिन्दालाई स्वास्थ्य सचेतना गराउने र सामान्य स्वास्थ्य जाँच गर्ने संस्था नै भएन । त्यहि अभावलाई पूर्ति गर्न शहरी स्वास्थ्य केन्द्रको अवधारणा आएको हो । गतवर्ष वडा नं ३० का वडाध्यक्ष सँग समन्वय गरेर यो केन्द्र सञ्चालन गर्न सक्यौँ,’ शनिबार आयोजित कार्यक्रममा सांसद थापाले भने ।

ज्ञानेश्वरको केन्द्रको नेतृत्व एमडीजीपी डा आरती शाहले गरेकी छन् । त्यहाँ अर्का एक जना एमपीएच गरेका जनस्वास्थ्यकर्मी, तीन जना नर्स, एक जना अनमी, दुई जना ल्याव टेक्नोलोजिष्ट, एक जना फिजियोथेरापिष्ट, एक जना रेडियोग्राफर, एक जना एचए आर्युवेद, फार्मासिस्ट एक जना, बाहेक अरु २१ जना भिजिटिङ डाक्टर (विशेषज्ञ)हरु क्रियाशिल छन् ।

 

सो केन्द्रमा नियमित ओपिडी तथा विशेषज्ञको ओपिडी निशुल्क राखिएको छ ।

सरकारले स्वास्थ्य केन्द्रमा निशुल्क दिने ३६ प्रकारका औषधि निशुल्क नै उपलव्ध छ । खोप कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, पोषणका कार्यक्रम नियमित जसरी नै हुने गर्दछ । औषधि खरीद गर्न परेमा अन्यत्र भन्दा २० देखि ३० प्रतिशत सस्तो हुने थापाका सहयोगी प्रताप पौडेल बताउँछन् । यस्तै त्यहाँ उपलव्ध सम्पूर्ण ल्याव परीक्षणको मूल्य जनस्वास्थ्य प्रयोगशाला टेकुले लिने बराबर तोकिएको र त्यहाँ नहुने परीक्षण सेन्टर ल्यावमा पठाउने तर रेट जनस्वास्थ्य प्रयोगशालाकै तिरे पुग्ने पौडेल बताउँछन् ।

उनले फिजियो थेरापी सेवा पनि सरकारी अस्पतालमा भन्दा सस्तो दिईएको दावी गरे ।

सांसद थापाले ज्ञानेश्वरमा स्वास्थ्य प्रवर्द्धन केन्द्र सुरुवात गर्दा आवश्यक पर्ने भौतिक पूर्वाधार तथा उपकरणमा थोरै सरकारी सहित विभिन्न व्यक्ति र संस्थाको सहयोगमा जुटेको भन्दै त्यसपछिको नियमित खर्च धान्न भने केही गाह्रो भएको उनले सुनाए । अहिले मासिक कम्तीमा १० लाख जति खर्च निस्कने गरेको बताए ।

उनले काठमाडौँ महानगर ज्ञानेश्वरको मोडलमा अन्यत्र पनि प्रवर्द्धन केन्द्र खोल्न सकारात्मक रहेको समेत आफूले पाएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *