‘अब एआरभी औषधि अभावको समाचार सुन्नु पर्ने छैन्’

'हाम्रो निरन्तर प्रयासले ९१ प्रतिशत प्रगति हासिल गरेका छौँ'

बीचको केही दिनलाई छाड्ने हो भने डा. सुधा देवकोटा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकको भूमिकामा रहेको दुई भन्दा केही बढी भयो । गत फागुनमा केही दिन उनको जिम्मेवारी हेरफेर भएपनि उनी पुन :त्यहाँ फकिईन् । यो लामो अवधीमा उनले केन्द्रमा के कस्ता समस्या देखिन र के कस्ता सुधारका प्रयत्न गरिन ?

नेपाली हेल्थका लागि रामप्रसाद न्यौपानेले उनीसंग केही कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सार संक्षेप :

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको मुख्य काम के – के हो ?

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको मुख्य काम एचआईभी पिडीतको खोजी गर्ने र औषधि उपचार गर्ने हो । यहाँको कामलाई तीन भागमा बाँढेर पनि हेर्न सकिन्छ । जस्तो कि पहिलो काम देशमा एचआईभी संक्रमित कति छन् भनेर पत्ता लगाउने, दोस्रो उनीहरुको जाँच गर्ने र आवश्यकता अनुसार औषधि उपल्वध गराउने र तेस्रो भनेको उनीहरुले औषधि खाई सकेपछि भाइरल लोड कति भयो भनेर उनीहरुको परीक्षण गर्ने काम छ ।
नेपाल सरकारले सन् २०३० सम्ममा एचआईभी न्युनिकरण गर्ने भनेर अन्तराष्ट्रिय प्रतिवद्धता गरिसकेको छ । त्यसलाई लक्षित गरेर तीनवटा पिलर तय गरिएको छ । तर सरकारले अहिलेसम्म एउटा पिलरमा मात्रै प्रतिवद्धता जनाएको छ । टेष्टिङ र ट्रिटमेन्ट फ्रि गर्छौं अर्थात एचआईभी परीक्षण र औषधि उपचार निशुल्क गर्छौँ भन्ने छ । नेपालमा अहिले जतिपनि परीक्षण र उपचार छ, त्यो निशुल्क गराउँछु भन्ने सरकारको प्रतिवद्धता छ । र यो अहिले कार्यान्वयनकै अवस्थामा छ ।

खासमा नेपालमा एचआईभी संक्रमित कति छन् ?

खासमा एचआईभी संक्रमित कति छन् ? भनेर भन्न गाह्रो कुरा हो । किनभने यो जनसंख्या सहज रुपमा खुल्दैनन् अर्थात लुकिरहेका हुन्छन् । हामीले अन्तराष्ट्रिय रुपमा गरिने जुन म्याथमेटिक्सको विधि छ त्यस अनुसार गरेर हरेक वर्ष यसको अनुमानित संख्या निकाल्छौँ । त्यहि अनुसार सन् २०२१ को तथ्यांक हेर्ने हो भने ३० हजारको हाराहारीमा रहेको अनुमान छ । यी मध्ये करीब २० हजार उपचारको पहुँचमा आएका छन् । बाँकी करीब १० हजार संक्रमित लुकेको अवस्था छ । त्यसैले अहिलेको हाम्रो अर्को महत्वपूर्ण काम भनेको यसरी लुकेको संख्या खोजी गर्नु पनि हो । मैले माथि पनि उल्लेख गरेँ, दोस्रो काम उपचार र तेस्रो भाइरल लोड कम गर्ने हो ।

नेपालमा एचआईभी नियन्त्रण सम्वन्धी काममा विदेशी पार्टनरको सहभागिता कस्तो छ ?

मैले अघि पनि भने, हामीले यसमा काम गर्नका लागि मुख्य त तीनवटा पिलरको रुपमा बाँडेका छौँ । पहिलो र तेस्रो पिलरले प्रिभेन्सन अर्थात रोकथाममा काम गर्दछ । यसमा दातृ निकाय अर्थात पार्टनरहरुले सहयोग गर्ने गरेको पनि छ । हाम्रो मुख्य पार्टनर भनेको अहिले सेभ द चिल्ड्रेन, एफएचआई -३६० र ‘एएचएफओ’ हुन ।

एचआईभी नियन्त्रण सम्वन्धी कुरा धेरै अघि देखिनै सुनिदै आएको छ । यो काममा सरकार भन्दा बढी पार्टनर बढी क्रियाशिल हो ?

तपाईँले भन्नुभए जस्तै एचआईभी नियन्त्रणको कुरा धेरै अघि देखि नै सुनिदै आएको कुरा हो । तर मलाई के लाग्छ भने यो अहिले पनि ‘नेग्लेक्टेड डिजिज’को अवस्थामा छ । सरकारले पनि यसलाई जति वास्ता गर्नुपर्ने हो अलि ओझेलमा परेको हो कि भन्ने देखिन्छ । तपाईँले भने जस्तै राज्यका माथिल्ला निकायका अधिकारीहरुमा एचआईभी नियन्त्रण सम्वन्धी काम गैर सरकारी संस्थाको दायित्व हो कि भनेर अलि वेवास्ता गरयो कि भन्ने लाग्छ । हुन त सरकारले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र स्थापना गरी काम गरिनै रहेको छ तर कतिपय उच्च अधिकारीको बुझाई अहिले पनि यो सरकारी होइन कि एनजीओले चलाएको संस्था हो कि भन्ने जस्तो मैले पनि पाएकी छु । तपाईँलाई भनु, अहिले पनि सरकारकै कतिपय उच्च अधिकारीहरुले एड्स तथा यौन रोग नियन्त्रण केन्द्रलाई समेत एनजीओको रुपमा हेर्ने गर्नुहुँदो रहेछ । अर्थात यो सरकारी कार्यालय हो भनेर हेर्दै हेरिएन, अहिले पनि लिएको छैन् । अझ कतिपयले त यसलाई डलरको खेति गर्न हिडेको संस्थाको रुपमा चित्रित गरेको समेत पाउँछु । होइन भनेर ‘कन्भिन्स’ गर्न नै गाह्रो हुने अवस्था अहिले पनि छ ।

यसरी बुझाउन नसक्नुमा स्वास्थ्य मन्त्रालय र स्वयं केन्द्रको पनि त कमजोरी होला नि ?

हुन सक्छ । यो राज्यकै कार्यक्रम हो भनेर चारैतिर जान नसकेको पनि हुनसक्छ ।

एचआईभी नियन्त्रणका नयाँ रणनीति कसरी अघि बढेको छ ?

अहिले हाम्रो एनएचएसपी भनेर सन् २०२१–२०२६ राष्ट्रिय रणनीति बनेको छ । यो रणनीतिमा हामी ९५-९५-९५ पुरयाउने भन्ने हाम्रो लक्ष्य छ । यो भनेको ९५ प्रतिशत अनुमानित संख्याको खोजी गर्ने, उपचार गर्ने र भाइरल लोड परीक्षण गर्ने ।
अर्को कुरा उपचारको पिलरमा एनजीओले गरेको कामलाई हामीले गर्भन गरेर कहाँ के कसरी काम भएको छ भनेर हेर्न सक्छौँ । त्यो भनेको सही व्यक्तिले उपचार पाएको छ कि छैन भनेर हेर्ने काम हुन्छ । अन्तिममा भाइरल लोड सम्प्रेसनका लागि औषधि किनेर खाएकाहरुको छ छ महिनामा जाँच गर्ने र त्यसले कम भएको छ कि छैन ? यदि छ भने औषधिको डोज घटाउनुपर्ने हुन्छ । यदि सप्रेस भएको छैन भने त हाम्रो औषधि त्यसै खेर गयो नि । किनभने धेरै नै महंगो औषधि सरकारले उनीहरुका लागि खरीद गरेको छ नि ।

महंगो औषधिको कुरा गर्नु भयो, उपचारमा आएका संक्रमितले कति मूल्य बराबरको औषधि खानुपर्छ ?

दैनिक करीब साढे ६ डलर को औषधि खानुपर्छ ।

पछिल्लो समय केन्द्रले एचआईभीसंगै हेपाटाइटिसका बिरामीको उपचार पनि गर्न थालेको छ नि होईन ?

हो । सरकारले अहिले हामीलाई अर्को काम पनि दिएको छ । त्यो भनेको हेपाटइटिस सी को उपचार । किनभने एचआईभीमा हेपाटाइटिस सी को पनि ठूलो दर छ । हेप सी एचआईभी हुनेलाई सजिलै सर्छ । किनभने हेप सी पनि रगतबाट सर्ने हो, एचआईभी पनि रगतबाट ।
रगतको माध्यमबाट सर्ने भएकोले एचआईभी हुनेहरुलाई हेप सी को सम्भावना बढी हुने भयो । त्यसैले हेप सी को फोकल पोईन्ट हामीलाई नै तोकेर उपचार सुरु गर्न भनेको छ । तर यथेष्ट बजेट भने पाएका छैनौँ ।
तर अहिले सुरुवात चरणमा एचआईभी भएर हेपाटाइटिस (को इन्फेक्सन) भएकालाई हामीले उपचार सुरु गरेका छौँ । यो हाम्रो लागि पनि ठूलो उपलव्धी हो ।  हेप सीको उपचार हामीले गतवर्ष वीर, त्रिवि शिक्षण र पाटन गरी तीनवटा अस्पतालमा नमूनाका रुपमा सुरु गरेका थियौँ । यो आर्थिक बर्षबाट हामीले देशभरी नै यो कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

नमूनाको रुपमा कार्यक्रम सुरु गर्दा कति संक्रमित भेटिएका थिए ?

तीनवटा अस्पतालमा जम्मा ५६ जनाले मात्रै उपचारमा सहभागीता जनाए । सुरुमा ‘को -इन्फेक्सन’को रुपमा हेरेका थियौँ । अब ‘मोनो इन्फेक्सन’ अर्थात एचआईभी नभएकालाई पनि ‘हेप सी’ भएको छ भने उपचार गर्ने भन्ने योजना अघि बढदै छ । मलाई लाग्छ यो पनि एउटा ठूलो उपलव्धी हो ।

तपाईँले नेतृत्व गरेको यो केन्द्रसंग सधै जोडिने एउटा विषय छ, संक्रमितले खाने औषधिको अभाव । तपाईँको पालामा यसको व्यवस्थापन कसरी भएको छ ?

यो सेन्टरको नेतृत्व लिईसकेपछि मेरो अर्को ठूलो उपलव्धी भनेको औषधिको सहज उपलव्धता हो । तपाईँले उल्लेख गरे जस्तै म आउनु पहिले संक्रमितका लागि आवश्यक औषधि अभाव भयो भन्ने मैले नी धेरै पटक सुने । समयमा औषधि ल्याउन नसकेको, संक्रमितले समयमा औषधि खान नपाएको कुरा चल्थ्यो । तर अहिले त्यस्तो भएको छैन् ।  मैले आए देखि नै यो समस्या दोहोरिन हुन्न भनेरै सुरु देखि नै सजकता र आवश्यक तयारी गर्दै आएँ ।

औषधि अभाव हुने समस्या कहाँबाट सुरु हुँदो रहेछ ?

अब पहिले हामीले युनिसेफसंग औषधि खरीद गर्ने तर समयमा नआउने हुँदो रहेछ । मैले यहाँको नेतृत्व भएको बेला कोभिडको उच्च संक्रमण थियो । त्यसबेला झनै औषधिको झनै समस्या थियो । सरकारले निशुल्क दिन्छु भनेको र नियमित खानुपर्ने औषधि एआरभी अभाव हुने समस्या केलाएर सम्वन्धित पक्षको ध्यानाकर्षण गराएँ । अनि मैले औषधिको लागि ‘आईसीबी’ अर्थात इन्टरनेशनल बिडिङ गर्न थाल्यौँ । यो भन्दा अघि यस्तो थिएन । म यहाँ बसेको दुई बर्ष भयो यो अवधीमा यसरी नै विडिङ गर्न थाल्यौँ । यसरी खरीद गर्दा मूल्य समेत सस्तो पर्ने र सरकारलाई पनि नाफा हुँदो रहेछ । यसबर्ष मात्रै हामीले राज्यलाई छ करोड रुपैयाँ नाफा गरिदिएका छौँ ।

भनेपछि अब औषधिको अभाव भन्ने समाचार सुन्नु पर्दैन ?

म यहाँ रहुँ वा नरहुँ आउँदो २३ महिनासम्म एआरभी ‘स्टक आउट’ हुँदैन । हामीसंग अहिले पनि १८ महिनासम्म पुग्ने औषधि मौज्दात नै छ । त्यसबीचमा थप औषधि आउने गरी काम भईसकेको छ ।

ओएसटीमा चाहि समस्या हो ?

हामीलाई अर्को समस्या भनेको ओएसटी हो जो दुई महिना अघि निकै चर्चामा थियो । ओएसटी भनेको ओरल सस्सिच्युसन थेरापी) हो । एक खालको लागू औषध जस्तै हो । प्रयोगकर्ताहरुले सुई प्रयोग नगरुन भन्ने हो । प्रयोग नगरेपछि त हामी बच्न सफल हुने भयौँ नि ।

त्यसैले हामीले त्यस्ता प्रयोगकर्तालाई ओएसटी उपलव्ध गराउँछौँ । यसलाई खासमा उपचार गरेको पनि भनिदैन । यो रोकथाम कार्यक्रम अन्तर्गत पर्छ । यो पनि हाम्रो पाटनरको सहयोगमा चल्ने कार्यक्रम हो । हामीले यसका लागि १२ वटा सेन्टर र दुईवटा सव सेन्टरहरु तोकेका छौँ । १२ वटा जो सेन्टर छ त्यसमा ८ वटा सरकारको र ४ वटा एनजीओको हो ।यो बाढ्ने औषधि ग्लोबल फन्डको सहयोगमा प्राप्त गर्ने हो । नेपालमा सेभ द चिल्ड्रेनले उपलव्ध गराउँदै आएको छ । यसमा बर्षौ देखिको नम्बर नै बढ्न सकेन । १ हजार ६० र १हजार ७० जनाले मात्रै सेवा लिन्छन् । खर्च एकदमै धेरै छ । तर यो सेवा गर्दैनौँ भन्न पनि पाईदैन । अन्तराष्ट्रिय स्तरबाट नै स्वीकार गरेको कामर्यक्रम हो ।

ओएसटीमा सहभागी हुनेको संख्या पनि कम देखियो नि होईन ?

हो, यो किन नबढेको भने दुईवटा कारणले हो जस्तो लाग्छ । जस्तै इलामबाट हरेक दिन औषधि खान झापा आउन त सक्दैन । कि टेक अवे डोज भनेर ८ – १० दिनको लागि दिने व्यवस्था हुनुपरयो । त्यो छैन । अर्को भनेको सरकारबाट ८ सेन्टर भन्दा बढाउन पनि सकेनौँ ।

यो एक खालको लागू औषध जस्तै हुने भएकोले आपूर्तिमा पनि झन्झट छ । कस्तो हुन्छ भने हामीले आउँदो बर्ष यति औषधि खानुपर्छ होला भनेर विवरण सहित पठाउँछौँ औषधि व्यवस्था विभागमा । त्यहाँबाट स्वीकृति भएपछि त्यो जान्छ गृह मन्त्रालयमा । त्यसपछि मात्रै औषधि अर्डर गर्ने हो र अर्डर गरेका ६० दिन भित्र औषधि आउने हो । यो महिना सोही प्रक्रियामा एक महिना ढिला भयो । पहिला पहिला चार चार महिनासम्म औषधि आयातको प्रक्रिया रोकिन्थ्यो । सीपमेन्टमा समस्या आयो भनेर औषधि ढिला गर्छन् त्यसको जवाफ नेपालका लागि सेभ द चिल्ड्र«ेनले दिनु पर्छ भन्ने हो । यसमा सरकारको केही छैन तर गाली सरकारले सधै खाईरहनु पर्छ ।

हाम्रो अर्को गाह्रो भनेको सिरिन्ज कण्डम, लुब्रिकेन्टहरु जति पनि खरीद हुन्छ ती चिजहरु हाम्रो बसमा हुँदेन । हामीकहाँ आएर दाखिला हुन्छ । तर त्यो खरीद बाहिरबाट अर्थात सेभले खरीद गर्छ । तर जहिले पनि यसको गुणस्तरमा प्रश्न उठि रहेको छ । कमसल सामान हो कि भन्ने आशंका बढ्दै गइरहेको छ । त्यसैले ती चिज हाम्रो क्षेत्राधिकारमा नभएको हुनाले केही समस्या देखिएको छ । यसलाई सुधार्न हामीले खरीद गर्ने टोलीमा एक जना सरकारी कर्मचारी पनि पठाउने व्यवस्था मिलाएका छौँ ।

संक्रमित ट्रान्सजेन्डर समूहले सेन्टरमा गएर औषधि खान आफूहरुलाई अफ्टेरो पर्ने गरेको गुनासो गर्छन् नि यसमा यहाँहरुले केही सोच्नु भएको छ ?

मैले यहाँ बसेर गरेका कामहरुमा आफूलाई आत्म सन्तुष्टी मिलेको विषय तपाईँले उठाएको यो विषयमा पनि हो । यसअघि यो ट्रान्स जेन्डर (टीजी) समूहले पनि औषधि खानका लागि एआरटी सेन्टरमा जानु पर्दथ्यो । मैले एक पटक मधेश प्रदेशमा एआरटी सेन्टरमा जाँदा एक जना टीजी बैनीले भन्नुभयो कि म बरु मर्छु सेन्टरमा गएर औषधि खान्न । पछि बुझ्दै जाँदा उहाँलाई सेन्टरमा जाँदा अलि ‘ह्यारेसमेन्ट’ हुँदो रहेछ वा गरिदो रहेछ । यो कुराले मलाई एकदमै छोयो ।
सरकारले सानो सानो कुरामा सेवा सुविधा त दिएकै छ । तर यो पनि दिन सकिन्छ भनेर उनीहरुकै कम्युनिटीलाई चलाउने गरी दिने व्यवस्था मिलाईदिएँ । देशभर रहेका ८४ वटा सेन्टरमध्ये टीजीका लागि भनेर १६ वटा डिस्पेन्सिभ सेन्टर खोलिदिएको छु । यो टीजीको संख्या जति बढी हुँदै गयो गयो सेन्टर पनि थपिदै गएको छ । ट्रान्सजेन्डरहरुले अव औषधि खान एआरटी सेन्टर जानु पर्दैन् । उनीहरुले रेकर्ड र डाक्टरलाई देखाउन पर्ने बेलामा एआरटीमै गरिन्छ तर अरु बेला जान परेन । उनीहरुलाई ह्यारेसमेन्ट नहोस भनेर नै उनीहरुले नै नेतृत्व गरेको संस्थालाई औषधि उपलव्ध गराईएको छ ।
यहि देखेर फिमेल सेक्स वर्करहरुबाट पनि हामीलाई पनि यस्तो सुविधा चाहियो भनेर माग आएको छ । तर सबैलाई यसरी दिन पनि सम्भव हुँदैन । रेकर्डिङ र रिपोर्टिङमा समस्या पर्छ । हामी त रेकर्डको आधारमा औषधि किन्छौँ । रेकर्डमा आएन भने समस्या पर्छ ।

औषधि खरीदमा कति जति खर्च पर्छ ?

ओएसटी हामीले खरीद गर्नु पर्दैन । पाटनरहरुले खरीद गर्नुहुन्छ । हामीले यहाँबाट खरीद गर्ने भनेको डिटरमाइन किट, टेष्टिङको लागि । यस्तै अरु टेष्टिङका रिएजेन्टहरु, एआरभी औषधिहरु । जम्मा जम्मी करीब ३४ करोड रुपैयाँको हुन्छ ।
औषधि खाने २० हजार लगभग छन् । त्यतिका लागि यतिका खर्च हुन्छ । माइग्रेट भएकाहरु, जेलका कैदीहरु, सुई लिनेहरु, महिला यौनकर्मी, समलैगिक पुरुष, ट्रान्सजेन्डर, यी छ वटा ग्रुपका लागि जति हुन्छ परीक्षण गर्ने भन्ने हुन्छ । १० करोड हामीलाई डिटरमाइन किटलाई आउँछ । यसले मात्रै पुग्दै पुग्दैन हामीले हरेक वर्ष ३ देखि ४ करोड रुपैयाँ सहयोगी संस्थासंग पनि माग्नु पर्छ । एक जनाले करीब साढे ६ डलरको औषधि खानुपर्छ । तर जिन्दगी भरि नै खानुपर्छ । त्यसैले यसलाई ध्यान दिएर सन् २०३० सम्ममा एचआईभीलाई कम गर्न सकेम भने यस कार्यक्रमको सार हुन्थ्यो ।

२०३० सम्मको लक्ष्य पुरा होला त ?
लक्ष्य पुरा हुनुपर्छ । त्यसका लागि हामी सबै मिलेर काम गर्नुपर्छ । फस्ट र सेकेण्ड पिलर राम्रो छ । फस्ट पिलर भनेको ३० हजार मध्ये ९० प्रतिशतले थाहा पाउनु पर्ने भन्ने हो । अहिले ८७ प्रतिशत पुगेको छ । उपचारमा पनि त्यस्तै छ ८९ ९० प्रतिशत नै पुगेको छ । जतिले थाहा पाए त्यसमध्येको ९० प्रतिशत पुरयाउनु पर्ने हो । समस्या हाम्रो तेस्रो पिलरमा छ । औषधि खाने मान्छेलाई निरन्तरता दिन र भाइरल लोड सप्रेस गर्न हामीलाई गाह्रो भएको छ । यसमा जम्मा ४९ प्रतिशत छ ।

यसमा सबैभन्दा ठूलो कारण भनेको औषधि लिएर भारत गईदिने प्रबृत्ति हो । उता पट्टी किन्न पर्छ । अर्को कुरा किन्न जाँदा थाहा पायो भने समस्या पर्छ भन्ने पनि होला । त्यसैले औषधि लिएर विदेश जाने तर हाम्रो फलोअप र टेष्टमा आईदिदैनन् फर्केर । त्यसैले फलोअप नै हराउँछ ।
एचआईभीको अर्को समस्या भनेको क्रस बोर्डरको रहेको छ ।

भारतबाट आउनेहरुलाई हामीकहाँ आउँदा औषधि दिएका छौँ भनेर हामी कहाँबाट भारत जानेलाई पनि त्यता निशुल्क औषधिको व्यवस्था हुनुपर्दथ्यो । नेपालीले औषधि किन पाउँदैन् ? दोस्रो कुरा एचआईभी भयो भन्दैमा जुन संस्थामा काम गर्दछ मजदुरहरुलाई निकाल्न पाईदैन तर त्यसको डरले उनीहरुले भन्दैनन् । यसमा पनि काम गर्नुपर्नेछ । त्यसैले अहिले हाम्रो इस्यु भनेको क्रस बोर्डरलाई ध्यान दिने हो भने यसलाई धेरै अगाडीसम्म जान सक्छौँ । धेरैलाई ज्ञान भईसकेको छ । जो जति आएको छैनन् । उनीहरुलाई ल्याउन गाह्रो छ ।

केन्द्रको अर्को समस्या भनेको बेरुजु बढी छ भन्ने पनि हो ? यहाँको पालामा कस्तो छ बेरुजुको समस्या ?

ठिक भन्नु भयो । हामीकहाँ विसं २०७२ साल देखि २०७५ सम्म निकै बढी बेरुजु थियो । म आईसकेपछि यसमा पनि काम गरेको छौँ । धेरै बेरुजु भनेको पेस्की फस्र्यौटमा रहेछ ।

आव २०७७/७८सम्म कुल बेरुजु ३९ करोड ८८ लाख थियो । हामीले यो वर्ष १ करोड ३० लाख बेरुजु संपरीक्षण गरिसकेको छौँ । थप २५ करोड ३६ लाख रुपैयाँ पनि संपरीक्षणका लागि पेश गरिसकेका छौँ । यस पछि हाम्रो बेरुजु फस्र्यौट प्रगति ६६.८५ प्रतिशत हुन्छ । हाम्रै बेरुजु फस्र्यौटले पनि विभागको बेरुजु घटाउन मद्धत गरेको छ ।

अस्पतालको पनि नेतृत्व गर्नुभयो । अस्पताल र यहाँको नेतृत्व गर्नमा के फरक पाउनु भयो ?
दुबै ठाँउमा नेतृत्व गर्दा आफ्नो भूमिका म्यानेजर कै हो । तर अस्पताल र यहाँ त कामको प्रकृति नै फरक छ । त्यहाँ अस्पतालको सेवाहरु विभिन्न वाडहरु हुन्छ । त्यहाँ काम गर्दा सेवा मेरै प्रत्यक्ष सहभागितामा छिटो हुन्थ्यो । सबै वाडहरु, डाक्टर र स्टाफहरु बिरामीहरु हेर्थे, राम्रो नराम्रो के भइरहेको छ आफैले अनुभूति गर्न पाइन्थ्यो । अर्थात बिरामीको सेवा दिनका लागि सिधै काम गर्न सक्थे । यसमा त्यस्तो प्रत्यक्ष नहुँने रहेछ । यसमा नीतिहरुमा बढी काम गर्नु पर्छ । मैले पत्राचार गर्न सक्छु सिधै एक्सनमा जान सक्दिन ।

यहाँ त काम गर्ने कर्मचारीहरु पनि धेरै गैर सरकारी संस्थाबाट हुनुहुन्छ भन्ने छ नि ?
यो कार्यक्रमका लागि ग्लोबल फण्डले दिएको जति पनि पैसा छ त्यो नेपाल सरकारलाई नै दिएको हो । विगतमा सरकारले विश्वास जित्न नसक्दा त्यो पैसा सेभ द चिल्ड्र«ेनमा गएको हो । भनेपछि सेभका जति पनि स्टाफ भनेर गरेका छन् त्यो नेपाल सरकारकै हो । तर यहाँ बुझाई कस्तो छ भने उनीहरु एनजीओका हुन् । उनीहरुले धेरै पैसा खान्छन्, काम पनि सबै उनीहरुले गर्छन भनेर एक खालको जिम्मा लगाएको जस्तो अवस्था थियो । तर म आएपछि त्यसो गर्नु हुन्न भनेर सुधार्ने प्रयास गरेँ । सरकार अन्तरगर्त नै काम गर्नुपर्छृ भनेर धेरै काम गरेँ । अहिले सबै स्टाफ हाम्रो अन्तरगर्त छ । ती कर्मचारीहरुले विदा लिनु पर्दा हाम्रो अनुमति लिएर मात्रै बस्नुपर्छ । हाम्रो लेटर हेड उनीहरुले चलाउन पाउँदैन । कुनै पनि कार्यक्रममा हाम्रो लिड रोल हुन्छ ।

अव औषधि पठाउँदा हामी आफै बसेर क्वान्टिफाई गछौँ । उनीहरुका मद्धत लिन्छौँ तर क्वान्टिफाई हामी आफैले गर्छौं । पहिले जस्तो धेरै औषधि माग्यो, अभाव भयो भने चर्चामै आउन सक्दैन । औषधि पठाउँने बेला कसलाई कति पठाउने त्यो लिष्टमा हाम्रो हस्ताक्षर अनिवार्य हुन्छ । जे होस् एनजीओ भन्ने भ्रम हटाएको छु ।

स्टाफहरुको कस्तो छ ?
उनीहरुको स्टाफ अहिले १० जना छन् । उताबाट तलव खाने । कार्यालय सहयोगी तथा तल्लो तहको स्टाफहरु पनि उनीहरुकै बसेका छन् करीब ६ जना । हाम्रो चाही हामीकहाँ चालक सहित १५ जना हुनुपर्नेमा उपचार शाखामा १ जना,एसआई सेक्सनमा २ जना मात्रै, डाक्टर जनस्वास्थ्य अधिकृत हुनुहुन्न । फार्मासिस्टको त दरबन्दी नै छैन् । यस्तो कम जनशक्तिको भरमा चलाएका छौँ तर पनि ९१ प्रतिशत प्रगति भएको छ । विभागका शाखामध्ये हामी कम भएको छैन् ।कुनै पनि औषधिको अभाव छैन् । पहिले पहिले जसरी हल्ला सुनिएको थियो । अहिले त्यस्तो पनि छैन् ।
काम कुनै पनि रोकिएको छैन् । यसको श्रेय सबै स्टाफलाई जानुपर्छ ।

अन्तमा केही भन्नु छ कि ?
एनसीएएससीलाई सरकारले अलिकति पहिचान गरिदिनु परयो । यो रोगलाई प्राथमिकतामा राख्नु परयो । किनभने सनु २०३० पछि ग्लोबल फण्डले हात झिक्यो भने सरकारलाई ठूलो भारी पर्छ । किनभने बिरामी त नेपाली नै हुन नि । त्यसैले जनशक्ति र क्षमता मिलाउनु पर्छ । अनि योजनावद्ध रुपमा काम अघि बढाउनु पर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *