स्वास्थ्यका चारवटा ‘परियोजना’मा सहकार्य गर्न नेपालले पठायो ‘डब्लुएचओ’लाई पत्र

काठमाडौँ, २८ असार । नेपालले स्वास्थ्य क्षेत्रमा अघि सारेको चारवटा ‘परियोजना’मा विशेष सहयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई औपचारिक रुपमा पत्र पठाएको छ ।

गत बैशाखको दोस्रो साता नेपाल भ्रमणमा आएका विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोभ गेब्रेयसससंग भएको भेटमा तत्कालिन स्वास्थ्य मन्त्री विरोध खतिवडाले नियमित सहयोगबाहेक अरु चार वटा परियोजनाको प्रस्ताव अघि सार्दै आफूहरुले यी परियोजनामा डब्लुएचओको सहयोगको अपेक्षा गरेको बताएका थिए ।

सो क्रममा डा टेड्रोसले नेपालले राखेको प्रस्तावलाई आफूले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएका थिए । सोही परियोजनालाई अघि बढाउन अहिले पत्र पठाइएको हो ।

‘करीब एक साता अघि हामीले पत्र पठाएका छौँ । सो पत्र डा टेड्रोस आउँदा भएको बेला गरिएको प्रस्तावका विषयमा आधारित छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा संगिता मिश्राले भनिन् ।

के के छन् चार परियोजना ?
डा मिश्राका अनुसार नेपालले अघि सारेको परियोजनामा थापाथलीस्थित परोपकार प्रसूति अस्पताललाई मोटानर्ल एण्ड न्यु बर्न सम्वन्धी कोल्याबरेटिभ सेन्टरको रुपमा विकास गर्ने भनिएको छ । त्यसमा रिसर्च बाहेक गाइनो र चाइल्ड अंकोलोजीको विषयलाई पनि विशेष फोकस गर्ने उदेश्य राखिएको छ ।

यस्तै हेटौंडाको कीटजन्य रोग प्रयोगशाला तथा अनुसन्धान केन्द्रलाई सार्क स्तरीय तालीम केन्द्रको रुपमा विकास गर्न डब्लुएचओको सहयोग मागिएको छ । सो तालीम केन्द्रमा विशेषगरी जलवायू परिवर्तन र कीटजन्य रोगको विषयलाई तालीम तथा अध्ययन् अनुसन्धान गर्ने संस्थाको रुपमा विकास गर्न भनिएको छ ।

नेपालले सहकार्य गर्न खोजेको अर्को परियोजना भनेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई स्तरोन्नती गर्ने विषय हो । यो प्रयोगशालामा जेनेटिक फयासिलिटी अझ बढाउने । यस्तै जेनेटिकको स्टेट अफ आर्ट लेबरटरीको रुपमा सातवटै प्रदेशमा विस्तार गर्ने योजना छ ।

‘किनभने पछिल्लो समय जेनेटिक रोगहरु बढ्दै जाँदा यसको परीक्षणका लागि आवश्यक प्रयोगशालाको क्षमता विकास हुन सकिरहेको छैन्,’ डा मिश्राले भनिन् ।

नेपालले डब्लुएचओसंग सहकार्य गर्न खोजेको अर्को परियोजनामा अत्यावश्यक औषधि (एसेन्सियल ड्रग्स) नेपालमै उत्पादन गर्ने र सामान्य सर्जिकल कियरको प्रडक्सहरु नेपालमै बनाउने लगायतका विषय छन् । यस्तै यहाँ नभएका महंगा औषधिहरु भारत सहितका अन्य मुलकबाट सस्तोमा ल्याउने व्यवस्था मिलाउन समन्वयका लागि समेत आग्रह गरिएको छ ।

‘डा टेड्रोसको यसअघि भएको नेपाल भ्रमणका क्रममा यी कुराहरु उच्चस्तरीय तहबाट उठेका हुन् । यहि कुरालाई नेपालले प्रक्रियामा अघि बढाएको हो,’ डा. मिश्राले बताईन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *