डा. राजवंशी : जसले भारतीय आकासमा ३० हजार फिट माथि उडिरहेको बिमानका यात्रुलाई सीपीआर दिएर बचाए

काठमाडौँ, २५ असार । बिराट मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा ललितकुमार राजवंशीले आफू यात्रारत विमानमा यात्रा गरिरहेका एक जना भारतीय महिलाको ज्यान बचाएका छन् । शुक्रबार विहान भारतको बेङलोरबाट बागडोग्रा आउने क्रममा ३० हजार फिट माथि उडिरहेको बिमान भित्रै एक ५१ बर्षीया महिलालाई कार्डियाक एरेस्ट भएको थियो ।

सोही विमानमा यात्रा गरेका डा राजवंशीले तत्काल सीपीआर दिएर ती महिलाको ज्यान जोगाएका हुन् । उनले त्यसपछि पुरा दुईघण्टा ती महिलाको मोनिटरिङ गरेर बागडोग्रा आईपुगेका थिए ।

हिजो शुक्रबार विहानको सो घटना कसरी घट्यो र त्यसमा कसरी सफलता हात लाग्यो ? डा राजवंशीले नेपाली हेल्थका लागि रामप्रसाद न्यौपानेसंग यात्राको बारेमा कुराकानी गरेका थिए ।

उनै डाक्टर राजवंशीसंग गरिएको कुराकानीको सम्पादित अंश :

……………………………………………………………………………….

म बिराटनगरस्थित बिराट मेडिकल कलेजमा डिपार्टमेन्ट अफ एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर मा एसोसिएट प्रोफेसरको रुपमा कार्यरत छु । केही दिन अघि व्यक्तिगत कामको सिलसिलामा भारतको बेङलोर गएको थिएँ । हिजो (शुक्रबार) फर्कने दिन थियो । इन्डिगो एयरको टिकट लिएको थिएँ । विहान ६ बजेको फ्लाइट थियो, ‘बेङलोर टू बागडोग्रा (सिलिगुडी) ।’

बेङलोरबाट विमान तोकिएकै समयमा (टेकअफ लियो) उड्यो ।

टेकअफ भएको करीब आधा घण्टापछि विमान भित्र ‘मेडिकल इमरजेन्सी’ आईपरेको भन्दै ‘एनाउन्समेन्ट’ गरियो । त्यहाँ भनिएको थियो एक जना यात्रुलाई स्वास्थ्यमा समस्या देखिएकोले विमानमा डाक्टर, प्यारामेडिक्स, नर्स लगायत कोही मेडिकल पर्सन हुनुुहुन्छ भने कृपया आईदिनु होला भनेर ।

म बिमानको अलि पछाडीपट्टिको सिटमा थिएँ । तर त्यो एनाउन्समेन्ट आउनु अघि नै मैले केही अगाडीको सिटमा बसेको यात्रुलाई केही समस्या भएको अन्दाज गरिसकेको थिएँ । किनभने म भन्दा ८ – १० ‘रो’अगाडीको सिटमा भइरहेको गतिविधिले मलाई अन्दाज गर्न गाह्रो भएको थिएन ।
‘एनाउन्समेन्ट’ हुने वित्तिकै म उठेर हतार हतार त्यहाँ पुगेँ र आफू नेपालको डाक्टर भएको परिचयपत्र सहित जानकारी गराएँ । विमानका ‘क्रु मेम्बर’ हरुले तत्कालै समस्या अवगत गराए ।
……………………………………………………………………………………………..

बीचको सिटमा बसेकी एक जना ५१ बर्षको महिला यात्रु जो चार दिन अघि बेङलोरमा मिर्गौलाको पत्थरीको अप्रेसन गरेर फर्किदै हुनुहुँदो रहेछ, उहाँको स्वास्थ्यमा समस्या भएको रहेछ । उहाँ सुरुमा पूर्ण बेहोस नभएपनि बेहोसी अवस्थामा हुनुहुन्थ्यो । पसिना आईरहेको थियो, हात खुट्टा जीउ पुरै चिसो भईसकेको थियो । तत्काल नाडी छामें तर नाडी पनि थिएन ।

म सीपीआरको विषयमा विशेष दख्खल राख्ने चिकित्सक हुँ । म कार्यरत विराट मेडिकल कलेजमा समेत मैले यस विषयको प्रशिक्षकको भूमिका समेत निर्वाह गर्दै आईरहेको छु ।

हात खुट्टा चिसो, नाडी नै हराएको बिरामी हुनु भनेको लगभग लगभग कार्डियाक एरेस्टको कन्डिशन हो । यसमा समयको बर्बादी नगरी कन सिपीआर गर्नुपर्ने हुन्छ ।

त्यो कन्डिसन देख्ने वित्तिकै मैले ‘क्रु मेम्बर’ लाई कार्डियाक एरेस्ट भएको बताएँ र त्यसको तयारी गर्न भनें । उनीहरुले इलेक्टीक सक सहित इमरजेन्सी मेडिकल किट अन्तरगर्तका सबै समानहरु लिएर आए । तर त्यसबेलासम्म उहाँ अलिकति होसमै हुनुहुन्थ्यो ।

कार्डियाक एरेस्ट भएको व्यक्तिलाई औषधि पनि दिनु पर्ने हुन्छ । भाग्यवस त्यो फ्लाइटको मेडिकल किटमा एस्प्रिन र नाइट्राइड औषधि रहेछ । यी औषधिहरु हार्ट एटेकको बेलामा तत्कालै दिनु पर्छ । त्यो औषधि पनि दिएँ । त्यसको ५ १० मिनेटपछि उहाँ पूर्ण बेहोस हुनुभयो । त्यसपछि सिटबाट यात्रु ओहोर दोहोर गर्ने बीचको ‘रो’ मा झारयौँ ।

– डा. ललितकुमार राजवंशी

बेहोस र नाडी पनि नभएपछि सीपीआर त दिनै पर्छ । उहाँको कन्डिसन क्रु मेम्बर र बिरामीको छोरालाई बताएर मैले सीपीआर सुरु गरिहालें । करीब दुई मिनेट जति सीपीआर दिएपछि यसो हेरेको नाडी आउन थाल्यो । त्यसपछि सीपीआर रोकें । त्यसपछि मोनिटर गरेर राख्यौँ । त्यसको १५-२० मिनेटपछि उहाँले आँखा खोल्नु भयो ।
…………………………………………………………………………………………………….

त्यत्रो विमानमा मेडिकल इमरजेन्सी घोषणा गरेर पाइलटले स्वास्थ्यकर्मी खोज्दा म मात्रै गएको थिएँ । यसको मतलव त्यहाँ अरु चिकित्सक तथा स्वास्थ्यकर्मी थिएनन् होला भन्ने नै बुझ्नु परयो ।

सीपीआर दिने कन्डिसन आउनु अघि नै मैले बिरामी कार्डियाक अरेस्ट भएको भनेको थिएँ र नजिकको एयरपोर्टमा विमान डाइभर्ट गर्नुपर्छ भनेर सल्लाह दिएको थिएँ । पाइलटले त्यसको तयारीमा लागेको क्रुमेम्बरमार्फत जानकारी पठाईसकेको थियो ।

तर, जब सीपीआरले काम गरयो । नाडी आईसक्यो भनेपछि पाइलटले पुन मसंग सल्लाह मागे । फ्लाइटलाई गन्तव्य तिर निरन्तरता दिने कि नजिकैको एयरपोर्टमा डायभर्ट गर्ने होला भनेर ।

मैले पल्स आईसकेको छ, अहिलेलाई रिभाईभ भयो, कन्टिनिउ गर्न सकिन्छ भनिदिएँ । त्यसपछि बिमान गन्तव्य तर्फ अर्थात बागडोग्राका लागि नै कन्टिन्यु गरियो ।

त्यसपछि क्रु मेम्बरले मेरो सिट बिरामी महिला भएको ठाँउ निर सारिदिए । त्यसपछि ३० हजार फिट माथिको करीब दुईघण्टाको उडान अवधी भर मैले ती महिलालाई मोनिटरिङ गरेर आएँ । बागडोग्रा आउँदा उहाँ होसमा आइसक्नु भएको थियो ।

……………………………………………………………………………………………..

उहाँ हाइपोटेन्सिभ बिरामी रहेछ । प्रेसरको औषधि खाईरहेको । मोनिटरिङ गर्दै गर्दा मैले ती महिलाको इसिजी रिपोर्ट हेरेको थिएँ । हाइपोटेन्सनको चेन्जेजहरु देखिएको थियो । उच्च रक्ताचाप सम्वन्धी समस्या रहेछ भन्ने थाहा भएको थियो ।

त्यसैले पनि यो कार्डियाक एरेस्टको केश हो भनेर भन्न बल पुगेको थियो । यस्तो केसमा जति सक्दो चाडो थाहा पाएर उपचार सुरु गर्नुहुन्छ त्यति नै छिटो र राम्रो रिकभर हुने सम्भावना हुन्छ ।

हृदयघातका बिरामीहरु नबच्नेको कारण नै यहि हो । एक त तुरुन्त थाहा पाईदैन । त्यसपछि अस्पतालसम्म आईपुग्दा ढिलो भईसक्छ । त्यसकारण यस्तो थाहा पाएर समयमै उपचार गर्ने हो भने यो ठूलो समस्याको कुरा होईन । बेलैमा लक्षण चिनेर सीपीआर दिन सक्यो भने बिरामी सजिलै रिकभर हुनसक्छ । दुई तीनवटा लक्षणहरु थाहा पाएपछि मुटु थिच्ने काम गर्न सकियो भने बिरामी यस्तो कन्डिसनबाट बाँच्ने सम्भावना धेरै हुन्छ ।

बिरामी होसमा आईसकेपछि इन्डिगो एयर भित्रको अवस्था

मैले अनुभूति गरेको कुरा ………………………………………………………….

म एक जना डाक्टर । यात्राको क्रममा एक जना व्यक्तिलाई स्वास्थ्य समस्या भयो र मैले सेवा गर्ने मौका पाएँ । मैले सहजै बिरामीको केश थाहा पाएँ र उपचार विधि अपनाएँ र ज्यान बचाएँ ।

अस्पतालमा भए यो हाम्रा लागि ठूलो काम पनि होईन । तर त्यो अस्पताल होइन अर्के ठाँउ हो । जहाँ अन्य सहयोग र विकल्पको केही पनि ठाँउ छैन् । स्रोत साधन केही पनि छैन् । निश्चित स्रोत साधनबाट तपाईँले तत्काल निर्णय लिएर काम गर्नुपर्ने अवस्था छ । त्यो एकदमै गाह्रो कुरा रहेछ । मान्छे वरीपरी झुम्मिएका छन् । नजर लगाएका छन् । बिरामीको छोरा पनि संगै छ, त्यस्तो अवस्थामा उडिरहेको प्लेनमा मुटु थिच्ने काम सजिलो कुरा होईन । मान्छेले सजिलै त्यसलाई लिन पनि सक्दैनन् । अस्पताल भित्र त्यो गर्नु र बाहिर गर्नु धेरै फरक कुरा हो ।

तर त म आफै सीपीआरको ट्रेनर भएको र हामीले विगत ६ ७ बर्ष देखि यस सम्वन्धी तालिम दिइरहेकोले गर्दा सजिलो भयो । फेरी म आफै आईसीयूमा काम गर्ने र आईसीयू स्पेसिलिष्ट भएकोले पनि त्यो सजिलो भयो होला भन्ने ठान्छु ।

मैले समस्या भोगेको कुरा ………………………………………………….

अहिले पनि हाम्रो जनमानसमा सीपीआर गरिहाल्नु पर्छ भन्ने सचेतना आइसकेको छैन् । जवकी यो गर्नुपर्ने सुरुवाती चरणमै हो । ढिलो भएर कोल्याप्स भइसकेपछि यो गर्नुको अर्थ हुँदैन् ।

यहि केसकै हेरुम न, सुरुमा उहाँको नाडी थिएन । सुरुमा अलिकति होसमा हुनुहुन्थ्यो, अलिकति आँखा घरि घरि खोल्नु हुन्थ्यो तर नाडी थिएन । जहाँ हामीले सिपीआर गर्नैपर्छ । जसको पल्स हुँदैन त्यो मुटु नै नचलेको भनिएको हो । मुटु नचलेपछि कतिवेर थेग्ने ? त्यसपछि त्यो ढिलो चाँडो मुटु बन्द हुन्छ मान्छे बेहोस हुन्छ नै । नाडी छैन भने हामीले सीपीआर गरि हाल्नु पर्छ ।

त्यो अवस्थामा मैले नाडी छैन सीपीआर गरौँ भन्दा खेरी क्रु मेम्बर तथा उनको छोराले एकछिन पर्खने भन्न थाले ।

मलाई थाहा छ सीपीआर गर्नुपर्छ । गरिन भने यो १० १५ मिनेटमा कोल्याप्स हुन्छ । त्यो थाहा हुँदा हुँदै पनि मैले त्यहाँ सीपीआर गर्न सकिन । वरिपरिको बाताबरणले गर्दा । छोराले पनि आमाको अप्रेसन गरेकोले कमजोर भएर यस्तो भएको हो भन्ने । मैले त्यसबेला महसुस गरे त्यस्तो ठाँउमा सीपीआर दिने निर्णय गर्नु पनि गाह्रो कुरा रहेछ ।

पाँच मिनेटसम्म त उनीहरुले केही हुँदैन पर्खिउ भन्ने थियो । तर जव बिरामी पूर्ण बेहोस भयो त्यसपछि उनीहरुले पनि स्वीकार गरे । त्यसपछि सीपीआर गर्न कन्भिन्स भए ।

मेरो अनुरोध……………………………………………..

जनमानसमा सीपीआरको महत्व बुझाउन अत्यन्त जरुरी छ । सीपीआर दिनका लागि मेडिकल डाक्टर नै हुुनुपर्छ भन्ने छैन् । दिनु पर्ने अवस्था अर्थात लक्षण चिन्ने र दिने तरिका बुझाएपछि अन्य सर्वसाधारणले पनि यो सजिलै गर्न सक्छन् ।

यसले इमरजेन्सी अवस्थाबाट मान्छेलाई बचाउँन सकिन्छ । राज्यले यसबारेमा व्यापक जनचेतना र तालिमको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखेको छु । मैले फेरी पनि भन्छु सीपीआर भनेको कुरा सबैले लिन मिल्छ । मेडिकल पर्सनले मात्रै होइन । तपाईँ हामी सबैले लिन मिल्छ ।

कुन बेला गर्ने सीपीआर ?……………………………

यो सडेन कार्डियाक अरेस्ट भएका बेला गर्ने पर्ने उपचार विधि हो । मान्छेमा हृदयघात भएर अचानक वेहोस हुने अवस्था आउँदा यो गर्नुपर्छ ।
अचानक बेहोस हुने अवस्था मुख्य त दुईवटा कारणले हुन्छ । एउटा हर्ट एट्याक, अर्को ब्रेन एट्याक ।

तर धेरै जसो भनेको मुटुको एट्याकलाई बचाउन सकिन्छ । ब्रेन हेमरेज होइछ भने सीपीआरले काम गर्दैन ।

अचानक मान्छे हिडिरहेछ ढल्यो रे के गर्नै ? त्यसका लागि दुई तीनवटा सिम्पल तरिका छ । जस्तो कि मान्छे पहिला होसमा छ कि छैन त्यो हेर्ने । होसमा छैन भने बिरामीको नाडी र सास फेरिरहेको छ कि छैन त्यो हेर्ने । त्यो पनि छैन भने यो कार्डियाक एरेस्ट हो भनेर बुझ्ने र सीपीआर दिने ।

सीपीआर भनेको दुईवटा हातले छातीमा थिचेर उसको मुटुलाई चलाउने हो । बाहिरबाट थिचेर भित्रको मुटु चलाउने हो । मुटु चलेन भने रगत संचालनमा अवरोध हुन्छ । मान्छे विहोस हुने र अन्य अंगहरु नै फेल हुने हुन्छ । मुटु थिचेर संचालन भएपछि मुटु आफै जोगियो । अर्को मस्तिष्कमा पनि अक्सिन पुग्छ र त्यो पनि बाँच्दछ ।

यस्तो अवस्थामा जति चाँडो सीपीआर दियो बिरामी बच्ने सम्भावना त्यति नै बढी हुन्छ । जति ढिलो भयो बिरामी बच्ने सम्भावना कम हुन्छ । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको स्वास्थ्य नीतिमा यो विषयलाई गम्भीरताका साथ लिईयोस । यसले धेरैको अकाल मृत्यु हुनुबाट बचाउँन सक्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *