स्वास्थ्य अनुसन्धान परिषदद्धारा स्वास्थ्य पत्रकारका लागि रिसर्च कम्युनिकेशन सम्बन्धी तालीम प्रदान

काठमाडौँ, १८ असार । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य पत्रकारहरुका लागि एक दिन रिसर्च कम्युनिकेशन सम्वन्धि तालिम आयोजना गरेको छ । ‘ट्रेनिङ वर्कसप अन रिसर्च कम्युनिकेशन : रोल अफ मिडिया’ नाम दिइएको उक्त तालिममा ४० बढी स्वास्थ्य पत्रकार सहभागी थिए ।

तालिममा हेल्थ कन्सर्न नेपालका प्रमुख डा सुवास प्याकुरेलले स्वास्थ्य अनुसन्धानको प्रवद्र्धनमा मिडियाको भूमिको बारेमा प्रस्तुति दिएका थिए । पत्रकारितामा इथिक्स र प्राक्टिसका विषयमा कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले प्रस्तुति राखेका थिए ।

यस्तै बैज्ञानिक खोजमा आधारित रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा त्रिविका सहप्राध्यापक एवं जनस्वास्थ्यविद डा खेम कार्की, यस्तै वैज्ञानिक लेखन र सञ्चारको विषयमा परिषदका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाले प्रशिक्षण दिएका थिए ।

त्यसअघि स्वास्थ्य पत्रकारहरुलाई यो प्रशिक्षण किन आवश्यक छ ? परिषद्को काम कर्तव्य र भूमिकाका के छ ? भन्ने बारेमा परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालीले प्रस्तुति दिएका थिए ।

सो अवसरमा बोल्दै डा ज्ञवालीले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने अभिप्राय र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा कसरी कलम चलाउने भन्ने विषयमा सहयोग होस भन्नका लागि तालिमको आयोजना गरिएको बताए । उनले आफूहरु गुणस्तरीय अनुसन्धान होस भन्ने चाहेको भन्दै त्यसका लागि राज्यले बजेट बढाउनु पर्ने बताए ।

स्वास्थ्य बजेटको २ प्रतिशत अनुसन्धानमा छुट्याउनु पर्छ तर यहाँ त एउटा एमआरआई मेसिन किन्ने जति पनि बजेट पाउदैन रिसर्चले उनले भने । उनले अनुसन्धानका लागि स्वास्थ्यको करीब ०.५ प्रतिशत बजेट छुट्याइएको जानकारी दिए ।

प्रमुख तालिम अधिकृत डा धिमाललले अहिले पनि परिषद्ले स्वास्थ्यका विषयमा धेरै नै अनुसन्धान गरिरहेको भन्दै त्यसका नतिजालाई मौलिक (नेपाली) भाषामा कसरी प्रस्तुति गर्ने भन्ने चुनौती रहेको बताए । उनले साधारण भाषामा जनतालाई सुसूचित गर्ने गरी खोजबाट आएका निस्कर्षहरुलाई प्रस्तुति गर्नुपर्ने बताए ।

डा प्याकुरेलले स्वास्थ्य अनुसन्धानको प्रवर्धन गर्न संचार माध्यमको भूमिका एकदमै महत्वपूर्ण रहेको भन्दै यसमा लगानी बढाउनुपर्ने बताए । उनले परिषद र पत्रकारबीच सहकार्य हुनुपर्ने बताए ।

यसैगरी त्रिविका सहप्राध्यापक डा कार्कीले स्वास्थ्य पत्रकारिता साइन्स हो भन्दै यसलाई सम्वेदनशील भएर लाग्न आग्रह गरे । उनले साइन्सको न्युज ब्रेकिङ गर्न हतार गर्न नहुने र यो सन्तुलित र भरपर्दो, बनाउनु पर्नेमा जोड दिए । उनले आफ्ना समाचारलाई विश्वासिलो बनाउन लेखमा अनुसन्धानकर्ताको भनाई, विज्ञ तथा सरोकारवालाको प्रतिक्रया समेत समावेश गर्नु पर्ने बताए।

कार्यक्रममा नमिता घिमिरेले नेपालमा स्वास्थ्य अनुसन्धान कति कसरी भइरहेको छ भन्नेबारेमा प्रस्तुति दिएकी थिईन । उनले अनुसन्धान गर्नु अघि के के प्रक्रिया पुरा गर्नुपर्छ भन्ने विषयमा समेत जानकारी गराएकी थिईन ।

कार्यक्रमको अन्तमा सहभागीहरुको तर्फबाट बोल्दै स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले यस्ता अन्तर्क्रिया तथा तालिमले पत्रकारको क्षमता अभिबृद्धिमा सहयोग पुग्न जाने भन्दै यस किसिमको तालिम समय समयमा हुनुपर्ने बताए ।

उनले मञ्चले भविस्यमा परिषदसंग सहकार्य गर्दै स्वास्थ्य अनुसन्धानको विषयलाई पत्रकारिताको माध्यमबाट थप प्रभावकारी ढंगले
उजागर गर्न प्रयास गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *