चिकित्सा शिक्षा आयोगद्धारा चिकित्साशास्त्र तर्फ स्नातक तहको शैक्षिक कार्यक्रमको शुल्क बृद्धि
अब चिकित्साशास्त्र तर्फ स्नातक तहमा भर्ना हुनेले ३.६ प्रतिशत शुल्क बढी तिर्नु पर्ने
काठमाडौँ, १८ जेठ । चिकित्सा शिक्षा अयोगले चिकित्सा शास्त्र तर्फ स्नातक तहमा अध्ययन् शुल्क बढाएको छ । मंगलबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आयोगको नवौँ बैठकले नयाँ भर्ना हुने विद्यार्थीका लागि सबै विषयका लागि ३.६ प्रतिशतले शुल्क बृद्धि गर्ने निर्णय गरेको हो ।
आयोगका सदस्यसचिव डा भोजराज काफ्लेले अबको सत्रमा भर्ना हुने विद्यार्थीका लागि नयाँ शुल्क लागू हुने बताए ।
‘चार वर्ष देखि शुल्क बृद्धि भएको थिएन । अरु सबै कुराको मूल्य बृद्धि भएर कहाँ पुग्यो । त्यसैले हामीले केही प्रतिशत शुल्क बृद्धि गरेका हौँ,’ काफ्लेले भने ।
आयोगका सदस्य एवं नेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्धिन अन्सारीले ऐन अनुसार गर्नुपर्ने शुल्क समायोजन विगत ४ बर्ष देखि हुन नसकेको अवस्थामा एकदमै थोरै मात्रै शुल्क समायोजन गरेको बताए ।
‘हामीले चार वर्ष देखि शुल्क समायोजन हुन सकेको छैन् । यो वर्षको अहिलेको मुद्रास्फितिलाई मात्रै हेरेर हुँदैन । विगत चार वर्ष देखिकै अवस्थालाई हेरिनुपर्छ र शुल्कमा कम्तिमा १५ प्रतिशत बृद्धि हुनुपर्छ भनेका थियौँ । बैठकमा सोही अनुसार प्रस्ताव ल्याईएको पनि थियो । तर पछि ३.६ प्रतिशतमै खुम्च्याइयो,’ उनले भने ।
अन्सारीले स्नातक तहमा पढाई हुने सबै विषयलाई अहिले तोकिएको शुल्कमा ३.६ प्रतिशतले बृद्धि गरेको सुनाए ।
चिकित्सा शिक्षा ऐनको दफा १८ को (क) ले शिक्षण शुल्क सम्वन्धी व्यवस्था कसरी मिलाउने भनेको छ । त्यसमा ‘विश्वविद्यालय, प्रतिष्ठान वा शिक्षण संस्थाको लागत तथा सञ्चालन खर्च, मुद्रास्फिति, भौगोलिक अवस्थिति, छात्रबृत्ति तथा निशुल्क सेवा समेतलाई दृष्टिगत गरी विश्वविद्यालय प्रतिष्ठान तथा शिक्षण संस्थासंग परामर्श गरी शुल्क निर्धारण गर्ने छ,’ भनिएको छ ।
‘चार वर्ष अघि बनेर कार्यान्वयन भएको ऐनको यो बुदा अहिलेसम्म कार्यान्वयन आएको थिए । त्यसैले पनि हामीलाई निकै नै मर्का परेको छ । हिजोको बैठकमा अहिलेको बृद्धि गरिएको शुल्क अत्यन्त थोरै भएको हामीले फरक मत राख्यौँ तर निर्णयमा त्यसको सुनुवाई आएन,’ अन्सारीले भने ।
कति हुने भयो नयाँ शुल्क ?
शैक्षिक सत्र २०७७/७८ मा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्रका मेडिकल कलेजमा ४० लाख २३ हजार २५० रुपैयाँ शुल्क तोकेको थियो । बृद्धि भएपछि यस एमबीबीएसको लागि ४१ लाख ६८ हजार ८७ रुपैयाँ तिर्नु पर्नेछ ।
उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार २५ रूपैयाँबाट बढेर ४५ लाख ९५ हजार ७२१ रुपैयाँ पुगेको छ ।
त्यस्तै बीडीएसका लागि गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शुल्क तोकिएकोमा यो शैक्षिक सत्रमा बढेर २० लाख ९२ हजार २८४ पुगेको छ ।
बीएससी नर्सिङ कार्यक्रमको लागि गत शैक्षिक सत्रमा विद्यार्थीले १० लाख शुल्क तोकिएकोमा यस वर्ष बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




