स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको आठौँ शिखर सम्मेलन आजबाट सुरु हुँदै
काठमाडौँ, २७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन आजबाट सुरु हुँदै छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा गर्ने यो सम्मेलनमा देश तथा विदेशबाट स्वास्थ्य वैज्ञानिकहरुको सहभागिता बताइएको छ ।
बबरमहलस्थित कार्की व्याङ्क्वेटमा आगामी मंगलबारसम्म चल्ने सम्मेलनको नारा ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धन : नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने तय गरिएको छ ।
परिषदका कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीले औपचारिक उद्घाटन समारोह सोमबार (भोली)का लागि तय गरिएपनि आजबाट प्रि समिटको सेसन सुरु हुने बताए ।
सम्मेलनमा स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद् र नीति निर्माणकर्तालाई एकै ठाउँमा ल्याई नीतिनिर्माण गर्न तथा बढ्दै गएको जनस्वास्थ्यका विषयमा भएका अनुसन्धानलाई एकीकृत ढंगले अघि बढाउने बताए ।
सम्मेलनको पहिलो दिन आज पूर्व–सम्मेलन गरिनेछ। जसमा सङ्घीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड–१९, दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्वको अवस्थाजस्ता विषयमा प्रस्तुतीकरण र छलफल हुने जनाइएको छ।
प्रस्तुतकर्तामध्येबाट एक–एक जनालाई उत्कृष्ट प्रस्तुतीकरण र उत्कृष्ट पोष्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ। यस्तै बायोमेडिकल जनरलमा विगत पाँच वर्षमा सबैभन्दा बढी लेख प्रकाशित गर्ने एक नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गरिनेछ।
साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कारलगायत स्वास्थ्य क्षेत्रमा वैज्ञानिक अनुसन्धान कार्यान्वयन र आविष्कारमा महत्वपूर्ण योगदान पुर्याउने ६० वर्ष पुगेका नेपाली वैज्ञानिकलाई स्वास्थ्य अनुसन्धान लाइफ टाइम एचिभमेन्ड अवार्डद्वारा सम्मानित गरिनेछ।
तीन दिने शिखर सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड –१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवम विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेसन अनुसन्धान विषयमा अनुसन्धानकर्ताहरूले आफ्नो खोज तथा अनुसन्धानका बारेमा १५३ वटा अनुसन्धान मूलक कार्यहरू परिषदमा पेश गरेको र तीमध्ये ११२ मौखिक प्रस्तुतीकरणका लागि र ४१ वटा पोष्टर प्रस्तुतीकरणका लागि प्राप्त भएको परिषदले जनाएको छ ।
तर प्राप्त लेखलाई बाह्य तथा अन्तरिक समीक्षा गर्दा ४० लेखहरु मौखिक प्रस्तुतीकरणका लागि छनौट भए भने बाँकी रहेका मध्ये उत्कृष्ट अंक ल्याएकालाइ अनुसन्धानकर्ताको स्वीकृति लिएर पोष्टर प्रस्तुतीकरणका लागि थप गरिएको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]