टाइफाइडबिरुद्धको राष्ट्रिय खोप अभियानको तयारी पुरा
१५ महिना देखि १५ वर्ष उमेर समूहका ७४ लाख बढी बालबालिकालाई खोप दिईंदै
काठमाडौँ, २२ चैत । सरकारले टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानको तयारी पुरा भएको जनाएको छ । स्वास्थ्य सेवा विभागले मंगलबार टेकुमा पत्रकार अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो जानकारी दिएको हो ।
विभागका अनुसार खोप अभियानको अवधी आगामी २५ चैत देखि १८ बैशाख सम्मका लागि तोकिएको छ । तर कतिपय प्रदेश र जिल्लाले आज (मंगलबार) बाटै खोप लगाउन थालेका छन् । यो खोप सुरु गर्ने नेपाल दक्षिणपूर्वी एशियामै पहिलो बनेको छ ।
जन्मेको १५ महिना देखि १५ वर्ष उमेर समूहका ७४ लाख १५ हजार १६३ जना बालबालिकालाई दिने यो खोप अभियानका लागि आवश्यक जनशक्ति, खोप केन्द्र र खोप देशभर पुगिसकेको जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले खोप पूर्ण रुपमा सुरक्षित र प्रभावकारी रहेको भन्दै आफ्ना नानी बाबुहरुलाई ढुक्कले लगाउन आम अभिभावकलाई आग्रह गरे । उनले टाइफाइड संक्रमणलाई तत्काल न्युनिकरण गर्न खोप उपयुक्त विकल्प भएको सुनाए ।
‘टाइफाइड पानी जन्य रोग हो । स्वच्छ खानेपानी नहुँदा र सरसफाइमा ध्यान पुर्याउन नसक्दा यो रोगको संक्रमण फैलने डर बढी हुन्छ । त्यसैले अहिले हामीले निशुल्क रुपमा प्राप्त खोपको उपयोग गर्नु बढी प्रभावकारी हुन्छ,’ महानिर्देशक डा. सिंहले भने ।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले यो खोपका लागि एक दशक अघि देखि तयारी भएपनि यसपटक मात्रै सफल भएको बताए । उनले खोप दक्षिणपूर्वी एशियामा पहिलो पटक आएको भएपनि पूर्ण सुरक्षित र प्रभावकारी भएको दोहोर्याए ।
उनले भने, ‘कतिपयले पहिलो पटक आउँदा शंका व्यक्ति गर्नुहुनसक्छ । तर शंका मान्नु पर्दैन ढुक्कले लगाउनु होला ।’
उनले अभियानका लागि ग्लोवल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले यो निशुल्क रुपमा यो खोप उपलव्ध गराएको बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग बाल तथा खोप शाखा प्रमुख सागर दाहालले खोप सल्लाहकार समितिको सिफारिसको आधारमा खोप समितिले निर्णय गरेर अभियान सुरु गरिएको जानकारी दिदै अभियानको तयारीका बारेमा विवरण प्रस्तुत गरेका थिए ।
उनले २४ दिन सम्म चल्ने यो अभियान पछि नियमित खोप कार्यक्रममा टाइफाइडबिरुद्धको खोप समेत समावेश हुने जानकारी दिए । नियमित कार्यक्रममा जाँदा यो खोप १५ महिना पुगेका सवै बालबालिकालाई एक पटक दिइने बताए ।
अहिलेसम्म नियमित खोप कार्यक्रममा १३ वटा खोप दिईदै आएको छ ।
दाहालले विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले प्रति १ लाख जनसंख्यामा १ सय भन्दा बढी संक्रमण दर भएको अवस्थालाइ रोगको उच्च दरमा बर्गिकरण गरेको बताउँदै नेपालमा अहिले प्रति १ लाख जनसंख्यामा १०६२ जनालाई संक्रमण देखिएको बताए ।
विभागका अनुसार नेपालमा विगत ५ वर्षको तथ्याँक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जना भन्दा बढीमा टाइफाइड रोग संक्रमण पुष्टि भएको पाईएको छ । विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खाना जन्य संक्रामक रोगहरु मध्ये तेश्रो र अस्पताल भर्ना हुने कारणहरु मध्ये यो रोग चौथो कारणमा रहेको देखिएको छ ।
यो रोगको संक्रमण सबै उमेर समूहमा हुन्छ तर १५ वर्ष मुनीका बालबालिकामा अन्य उमेर समूह भन्दा बढी संक्रमण देखिएको छ ।
टाइफाइड संक्रमण साल्मोनेला टाइफीबाट हुने गम्भीर रोग हो । जुन ढल वा संक्रमित व्यक्तिको दिसाामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ ।
यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने ,पखाला लाग्ने र बान्ता हुने हुन्छ साथै कहिलेकाहीँ ज्यानै जान पनि सक्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




