अन्तर्वार्ता :

‘दावी रकमको अध्ययन् गरी सोधभर्ना प्रक्रियामा जाँदा भुक्तानीमा केही ढिला भएको हो’

डा. दामोदर बसौला, कार्यकारी निर्देशक स्वास्थ्य बीमा बोर्ड

नेपालमा स्वास्थ्य बीमा सुरु भएको आगामी २५ चैतमा छ वर्ष पुरा हुन्छ । जिल्लागत हिसावमा यो कार्यक्रम अहिले देशभर पुगेको छ । तर कभरेज र सेवाको हिसावमा गुनासाहरु पनि बढ्दो क्रममा देखिएको छ । खासगरी अस्पतालहरुले स्वास्थ्य वीमा बोर्डबाट उपचार वापतको रकम भुक्तानीमा ढिलाई हुँदा सेवा नै रोक्ने चेतावनी दिन थालेका छन् । सोधभर्ना रकम भुक्तानीमा किन ढिलाई हुन्छ ? यसै सन्दर्भमा नेपाली हेल्थले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलासंग सम्छिप्त कुराकानी गरेको छ ।

पछिल्लो पटक पाल्पास्थित युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा बोर्डले उपचारवापत पाउनु पर्ने रकमको ठूलो हिस्सा सोधभर्ना नगरेको भन्दै सेवा बीमा कार्यक्रम नै अवरुद्ध हुनसक्ने बताएको छ, अस्पतालहरुलाई रकम सोधभर्ना गर्न किन ढिलाई ?

रकम भुक्तानी वा सोधभर्ना गर्न केही बाँकी छ । तर पहिलेको जस्तो धेरै पुरानो पुरानो र ठूलो रकम बाँकी छैन् । हामीले पुरानो बक्यौता सल्टाउँदै गएको छौँ । तर के पनि हो भने अस्पतालहरुले दिनहुँ सेवा दिईरहेका छन् । उनीहरुलाई पनि पैसाको खाँचो हुन्छ । यताबाट सोधभर्नामा ढिलाई हुँदा केही अफ्टेरो त परेको होला । तर सेवा दिने वित्तिकै पैसा सोधभर्ना गर्न सक्ने अवस्थामा अलि पुगिसकेका छैनौँ । केही समय लाग्छ । तर भुक्तानी चरणवद्ध रुपमा भईरहेको छ ।

भुक्तानी त भइरहेको छ तर किन ढिलाई भइरहेको छ भन्ने प्रश्न हो, अस्पतालले सेवा रोक्ने अवस्था आएपछि त्यसको असर त स्वास्थ्य बीमा कार्यक्रमलाई नै पर्ने हो नि होइन र ?

यसमा मैले केही कुरा स्पष्ट गर्न चाहें । अवको केही दिनमा अर्थात २५ चैतमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ६ वर्ष पुग्दैछ । यो अवधि सम्म आईपुग्दा सेवाग्राहीको संख्या बढ्दो क्रममा छ । तर कार्यक्रमका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न ढिलाई भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सुरु भए देखि नै अस्पतालमा सोधभर्ना सम्वन्धी काममा केही विलम्ब हुँदै आएको रहेछ । मुख्य कारण जनशक्ति नै हो । म आईसकेपछि यसलाई गतिदिनका लागि विभिन्न पहलकदमी लिएको छु ।

तर, सिमित जनशक्ति र बढ्दै गएको बिमितको संख्याले हामीलाई काम गर्न केही अफ्टेरो भएको छ ।

अर्को कुरा अस्पतालले रकम दावी गर्ने वित्तिकै रकम सोधभर्ना गर्न मिल्दैन । त्यसको सबै विवरण अध्ययन गर्नुपर्छ । त्यसका लागि केही समय लाग्छ । अहिले स्वास्थ्य बीमा बोर्डले उपचार सेवाका लागि देशभर ४४० वटा अस्पतालसंग सम्झौता गरेको छ । दैनिक २० – २५ हजारको हाराहारीमा उपचारको दावी आउँछ । त्यसलाई अध्ययन् गरेर सोधभर्ना गर्दा केही समय लागेको हो । अब हामीले यसलाई थप सिस्टमेटिक गर्दै गईरहेको पनि छौँ । समस्याको बिस्तारै समाधान हुँदै आइरहेको पनि छ ।

तर अस्पतालहरुले त महिनौँ र वर्षौ देखिको सोधभर्ना पाएनौँ भन्दैछन् नि ?

हामीले पछिल्लो पटक यहि महिनाको पहिलो साता तिर ७० करोड सोधभर्ना स्वरुप भुक्तानी गरयौँ । त्यसअघि गत मंसिर र पुसमा दुई किस्तामा भुक्तानी गरेका थियौँ । यो गत कात्तिक महिनासम्मको भुक्तानी रकम थियो । मंसिर यताको हामीले भुक्तानी गर्न बाँकी नै छ । र कात्तिकसम्मको बक्यौता लगभग सबै अस्पतालले पाएका छन् । केही केहीमा सानो रकम बाँकी होला ।
फेरी आउँदो हप्ता अर्को किस्ता रकम सोधभर्ना गर्दै छौँ । त्यसका लागि काम भइरहेको छ । अहिले मंसिर, पुस, माघ महिनाको दावी रकमको अध्ययन हुँदैछ ।

माग गर्नासाथ लैजानुहोस भनेर रकम दिने अवस्था पनि छैन । त्यसैले समस्या भएको हो । मैले पटक पटक भन्दै आएको छु । पहिले देखिको हिसाव मिलाउँदै आउँदा केही ढिलाई जस्तो भएको हो ।

मिसन अस्पतालले त भनिसक्यो ५ बैशाखसम्म रकम भुक्तानी नभए ६ बैशाख देखि सेवा बीमा कार्यक्रम बन्द गर्दछौँ भनेर, तपाईँहरुको जवाफ के छ ?
केही दिन अघि पाल्पा मिसन अस्पतालबाट एक टोली आएको थियो । सोधभर्ना रकम केही बाँकी नै छ । त्यसबारेमा बसेर छलफल पनि गरेको हो । उहाँहरुलाई सबैकुरा बुझाएको पनि हो । यसलाई छिटै समाधान गर्ने हिसावले नै कुरा भएको हो । उहाँहरुले पैसा नै नपाएको भन्ने होइन । जति मागिएको हो त्यति पठाउन सकिएको छैन् । तर हामीले यसलाई स्पीडअप गरिरहेका पनि छौँ । त्यसैले मिसन अस्पताललाई हाम्रो अनुरोध सेवा जारी राख्नुस् पैसा छिटै नै पाउनु हुन्छ । स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउने तपाईँहामी सबैको दायित्व हो ।

स्वास्थ्य बीमा बोर्डसंग अस्पतालहरुको गुनासो रकम भुक्तानी भएन भन्ने नै बढी हुन्छ, त्यसको असर स्वास्थ्य बीमा गर्नेहरुलाई नै पर्ने भयो नि ?

मैले फेरी पनि भने, स्वास्थ्य बीमा लागू भएको २०७२ साल पछाडीको बाँकी रकमहरु मिलाउँदै आएका छौँ । अब कात्तिकसम्मको लगभग सबै अस्पतालले रकम पाएका छन् । हाम्रो बाँकी भनेको यहि मंसिर पछिको मात्रै बाँकी छ । हेरेर भुक्तानी गर्ने प्रक्रिया अघि बढी रहेको छ । हामीकहाँ दिनमै २० हजार बढी भुक्तानी दावी आउँछ देशभरबाट । हाम्रो अहिलेको जनशक्तिले ६ हजार ७ हजार भन्दा बढी हेर्न सक्दैनन् । किनभने जनशक्तिको कमी छ । बीमा सुरु हुँदाको जो संरचना छ अहिले पनि त्यहि नै छ । त्यसले केही समस्या पारेको छ । अस्पतालको दावीको अनुपात हेर्दा जनशक्ति ५० ६० जना चाहिन्छ तर त्यहाँ अहिले २१ जना मात्रै छन् । त्यहि पनि थपेर २१ पुगेको हो । नत्र त १५ १६ जना मात्रै थिए । अटोमेटिक सिस्टमले काम गर्ने अवस्था पनि अहिले छैन् । म्यानुअल रुपमा हेरेर मात्रै काम गर्नुपर्ने हुन्छ । त्यसले गर्दा केही ढिलाई भएको हो ।

अर्को कुरा अहिले अस्पतालमा भएको समस्या पनि समाधान गर्नुपर्ने छ । बोर्डमा भएको समस्या पनि बुझिदिनु पर्ने छ । थोरै जनशक्तिले पनि धेरै काम गरेको अवस्था हो । यो चाँडै नै समाधान हुन्छ ।

अहिलेसम्म स्वास्थ्य बीमा कतिले गरे ?

सरकारले यसवर्ष ५० प्रतिशत घर परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने भन्ने लक्ष्य लिएको थियो । अहिलेसम्म ३० प्रतिशत घर परिवार स्वास्थ्य बीमामा आवद्ध भएका छन् । जनसंख्याको हिसावले गर्दा करीव ५३ लाख जनसंख्या बीमामा आवद्ध छन् । सेवा लिनेको दर अहिले ४० प्रतिशत छ । र यो बढ्दो क्रममा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *