हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन कार्यक्रम

आजबाट १० जिल्लाका ६२ लाख जनतालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईंदै

काठमाडौँ, २८ फागुन । सरकारले आजबाट १० जिल्लामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु गर्दैछ । हात्तीपाइले रोग निवारण रणनीति अन्तर्गत सरकारले संक्रमणदर २ वा दुई प्रतिशत माथि रहेका १० जिल्लामा आम औषधि सेवन कार्यक्रम सुरु गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसपटक झापा, मोरङ, बारा, पर्वत, लमजुङ, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा औषधि खुवाईदै छ ।

‘दुई वर्ष माथिका सबै व्यक्तिहरुलाई औषधि खुवाईदैछ । तर गर्भवती, सुत्केरी भएको सात दिन नपुगेको महिला, छारे रोग लागेका व्यक्तिहरु र अन्य गम्भीर रोग लागेका व्यक्तिहरुलाई भने यो औषधि खुवाउन मिल्दैन् । ७० वर्ष माथिका बृद्धबृद्धालाई पनि स्वास्थ्यकर्मीले जाँच गरेर दीर्घ रोग नलागेको एकीन गरेर मात्रै खुवाउने विषयमा निर्णय लिनका लागि निर्देशन दिएका छौँ,’ महाशाखाका निर्देशक डा चुमनलाल दासले भने ।

महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन रामकुमार महतोले यसपटक अभियानमा करीब ६२ लाख जनतालाई आम औषधि सेवन कार्यक्रममा सहभागी गराउने लक्ष्य रहेको बताए । उनले पाँचवटा जिल्लामा तीन प्रकारका औषधि र पाँचवटा जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको समेत जानकारी दिए ।

‘मोरङ, बाँके, कैलाली, कपिलवस्तु र दाङमा तीन प्रकारका औषधि खुवाईदै छ । त्यसमा अघिल्ला वर्षमा खुवाउँदै आएको दुईवटा औषधि डिईसी र अलवेन्डाजोल खुवाईदै छ भने आइभरमेटिन भन्ने थप नयाँ औषधि पनि थपिएको छ । यो औषधि हात्तीपाइले रोग विरुद्धको कार्यक्रममा यसपटक थपिएको भए पनि बिरामीहरुले खाई नै रहेको हो,’ महतोले भने ।  बाँकी पाँच वटा जिल्लामा भने अघिल्ला बर्षमा जस्तै डिईसी र अलवेन्डाजोल नै खुवाईने बताए ।

‘आज तोकिएका बुथहरुमै औषधि खुवाईदै छ । भोली भने स्वास्थयकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुले समुदायमै छिरेर छुटेकाहरुलाई औषधि खुवाउने योजना छ,’ महतोले भने ।

नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजीविको सङ्क्रमणबाट फैलिएको पाइएको छ । सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्यूलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने गर्दछ ।

विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ६३ जिल्लामा सङ्क्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि औषधि सेवन गराउने कार्य सुरु गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *