सन्दर्भ : विश्व मिर्गौला दिवस

मिर्गौला उपचारलाई थप प्रभावकारी बनाउन सरकारलाई मेरा तीन सुझाव

आफ्नो मिर्गौला बचाउन सर्वसाधारण के - के कुरामा ध्यान दिने ?
– प्राडा ऋषिकुमार काफ्ले

आज विश्व मिर्गौला दिवस । नेपालमा विश्व मिर्गौला दिवस मनाउन थालेपछि  मिर्गौलाका सन्दर्भमा केही राम्रा राम्रा कामहरु भएका छन् ।

जस्तै,

  • सन् २००६ देखि विश्व मिर्गौला दिवस मनाउन थालिएको हो ।
  • सन् २००८ मा नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भयो ।
  • सन् २०१० मा जेष्ठ नागरिकलाई डायलासिस निशुल्क भयो ।
  • त्यसपछि हेपाइटाइटिस बी पोजेटिभ,त्यसपछिका वर्षहरुमा विपन्नहरुले यो सुविधा पाए ।

अहिले सरकारले सबैका लागि हेमोडायलासिस निशुल्क गरेको छ । मिर्गौला फेल भएका सर्वसाधारणले जतिपटक डायलासिस गरेपनि पैसा तिर्न नपर्ने व्यवस्था मिलाएको छ । डायलासिस मात्रै होईन, मिर्गौला प्रत्यारोपण सेवा पनि निशुल्क गरेको छ । जो अत्यन्त राम्रो काम हो ।

कोरोना महामारीका कारण गतवर्ष देखि प्रत्यारोपण र डायलासिसमा नियमितता हुन सकेन । अर्थात कहिले नियमित जस्तै हुने र कहिलेकाँही प्रत्यारोपण नै रोक्नुपर्ने अवस्था समेत आएको थियो । जे होस अब भने पुन प्रत्यारोपणले गति लिन थालेको छ । यो पनि सुखद कुरा हो ।

मिर्गौला उपचारका लागि भएका यी सबै कुराहरु आफ्नो ठाँउमा ठिकै होला तर अझ पनि केही मुलकुराहरु गर्न बाँकी नै छ । विश्व मिर्गौला दिवसको अवसरमा मैले सरकारलाई ती बाँकी र गर्नै पर्ने कुराहरुको बारेमा भन्न चाहन्छु । ती के भने ।

१. मिर्गौला प्रत्यारोपितका लागि निशुल्क औषधिको व्यवस्था होस् ।
२.मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण गर्ने बाताबरण बनाइयोस् ।
३ मिर्गौला जोगाउन व्यापक जनचेतनाका कार्यक्रम अघि बढाइयोस् ।

१. मिर्गौला प्रत्यारोपितका लागि निशुल्क औषधिको व्यवस्था होस् :

डायलासिस निशुल्क भयो, प्रत्यारोपण पनि निशुल्क भयो तर मुल कुरा चाहिँ प्रत्यारोपण गरेका व्यक्तिहरुले औषधि खान पाएनन् । आफै किनेर औषधि खान सकेनन् ।  किनभने मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुले शुरुमा दिनको लगभग १ हजार रुपैयाँको औषधि खानुपर्छ । पछि पछि विस्तारै ८ सय, ७ सय गर्दै झर्दै त जान्छ तर जति नै कम भएपनि ५ सय भन्दा घट्दैन । अर्थात प्रत्यारोपण गरेको लामो समय भएको व्यक्तिले पनि मिर्गौला जोगाउनका लागि कम्तिमा दिनको ५ सय रुपैयाँकोे औषधि खानुपर्छ ।

तर, त्यसरी खान सबैलाई सम्भव त छैन् । त्यसले गर्दा प्रत्यारोपणमा पनि अफ्टेरो भएको छ । तसर्थ सरकारले क्षयरोग र एचआईभीका बिरामीले जस्तै मिर्गौला अथवा अंग प्रत्यारोपण गरेका व्यक्तिले जीवन भर खानु पर्ने औषधि निशुल्क गरियोस भन्न चाहन्छु । र सरकारले चाहेमा सजिलै सक्छ पनि ।

२. मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण गर्ने बाताबरण बनाइयोस् :

विकसित देशहरुमा मस्तिष्क मृत्यु भएकाबाट ८ वटा अंग लिएर प्रत्यारोपण गर्न सकिन्छ । अहिले नेपालमा भने मिर्गौला र कलेजो प्रत्यारोपण गर्न सकिन्छ । त्यसमा पनि अझ आवश्यकता देखिएको मिर्गौला नै हो । मस्तिष्क मृत्यु भएकाहरुको अंग लिएर गरिने प्रत्यारोपणका विषयमा बेलाबखतमा चर्चा चले पनि व्यवहारिक रुपमा त्यसको कार्यान्वयन हुन सकेको छैन् । मस्तिष्क मृत्यु भएकाबाट अंग झिकेर गर्नुपर्ने जो प्रत्यारोपण छ, त्यसले गति लिन सकेन । त्यससम्वन्धी माहोल पनि बनेन् ।

माहोल सबैभन्दा सहज ढंगले सञ्चारमाध्यमले बनाउन सक्दथ्यो । सरकारले सञ्चारमाध्यमसंग यस विषयमा सहकार्य गरेन् ।

मस्तिष्क मृत्यु र अंगदानका विषयमा व्यापक रुपमा सार्वजनिक वहस तथा छलफल हुनुपर्दथ्यो । मस्तिष्क मृत्यु भनेको के हो ? किन अंगदान दिने आदि विषयमा जनचेतना जगाउन सकिएन । राज्यले अब यसका विषयमा पनि विशेष छलफल गर्नुपर्छ । ऐन र नीति बनेको छ भनेर मात्रै हुँदैन । त्यसैले फेरी भन्छु म राज्यले भरपुर ढंगले मिडियाको प्रयोग गरी यसबारेमा जनचेतना जगाउनु अहिलेको आवश्यकता हो ।

अर्को कुरा कसैको मस्तिष्क मृत्यु भएको बेलामा वा पिडामा भएका बेलामा अंग माग्न जाने होइन कि पहिल्यै नै यसबारेमा जनचेतना यति बनाउनु परयो कि परिवारले नै अंग लिन आउनुहोस भनेर खबर गरोस ।

त्यसो नगर्ने हो भने मिर्गौला प्रत्यारोपणमा नै समस्या हुन सक्ने देखियो । किनभने जति नातागोता खोले पनि अंग पाउन गाह्रो हुने भयो । किनभने परिवारका धेरै सदस्यहरु अचेल मधुमेह र हाइपोटेन्सनका बिरामी हुन थाले ।

अहिलेसम्म मिडियाले आफ्नै बलबुताले यसबारेमा छलफल चलाएको छ । तर म भन्छु यो निकै नै महत्वपूर्ण विषय भएकोले राज्यले नै केही बजेट छुट्याएर नै मिडियामार्फत यसको बहस सिर्जना गराउनुपर्छ ।

३.  मिर्गौला जोगाउन व्यापक जनचेतनाका कार्यक्रम अघि बढाइयोस्

सरकारले भकाभक डायालासिस खोल्ने, रकम दिने, नेफ्रोलोजिष्ट उत्पादन गर्ने कामलाई प्राथमिकतामा राखेको छ । यसमा मेरो विरोध हुँदै होइन तर प्रिभेन्सन इज बेटर देन क्योर भन्ने जो शव्द छ त्यसको कार्यान्वयन खै ? मिर्गौला फेल भएका बिरामीलाई उपचार गरेर बस्ने कि रोग लाग्नै नदिने ?

कहाँ गयो प्रिभेन्सन ? मिर्गौला रोगबाट बच्ने बचाउने कुरा खै जनतालाई सिकाएको ? हामी डायलासिसको लागि १ अर्व बढी खर्च गरेका छौँ, तर त्यसको पाँच प्रतिशत ५ करोड रुपैयाँ जनचेतनाको लागि खर्च गर्न पर्दैन ? खर्च गर्न सकिदैन् ? यसैले राज्यले अब व्यापक रुपमा जनचेतनाको काम अघि बढाउन पर्छ ।

अहिले हुँदा हुँदा सबैलाई डायलासिस निशुल्क, प्रत्यारोपण निशुल्क सम्म आइपुगिएको छ । र यी सबै कुरामा मिडियालाई सहभागितामुलक भुमिकामा राखेर जनचेतना बढाउने, मस्तिष्क मृत्युको कुरालाई अझ बढी बहसमा ल्याउने र अर्को कुरा मिर्गौला प्रत्यारोपण गरिसकेपछि खाने औषधिमा सहज पहुँचको व्यवस्था मिलाउने काम हुनुपर्छ ।

आफ्नो मिर्गौला जोगाउन आम सर्वसाधारणको दायित्व के त ? के गर्ने उनीहरुले ?

मेरो पुरानो नारा छ आफ्नो मिर्गौलाको जिम्मेवारी आफू । त्यसका लागि केही कुराहरु बुझ्नु पर्छ ।

त्यो भनेको :

  • मेरो शरीर भित्र रहेको मिर्गौला स्वस्थ राख्न मैले दैनिक कम्तिमा तीन लिटर पानी पिउनु पर्ने।
  • हरेक दिन १० हजार पाईला हिड्नु पर्ने,
  • स्वस्थ सफा खाना खानुपर्ने, जसमा साग सब्जी तरकारी दाल र गेडागुडी होस ।
  • दैनिक सातआठ घण्टा सुत्ने
  • खान नहुने चुरोट खैनी जाँड रक्सी नखाने ।
  • उच्च रक्तचाप र मधुमेहलाई ठिक राख्ने । तर यति गर्दा गर्दैै पनि बर्षमा एक पटक मिर्गौलाको परीक्षण गर्ने ।

किन गर्ने परीक्षण ?
त्यो परीक्षणबाट थाहा हुन्छ बिरामीको पिसावमा प्रोटिन गएको छ कि छैन् ? रगतमा क्रियाटिनिन ठिक छ कि छैन ? अल्ट्रासाउन्डमा कुनै खराबी छ कि छैन । यी तीनवटा काम गरियो भने हामीले रोगलाई समयमै पत्ता लगाउन सक्छौँ ।

रोगको उपचारमा दत्तचित्त भएका आधुनिक चिकित्साबाट प्रशिक्षित नेफ्रोलोजिष्टहरु यहाँ छदैछन् । सुविधा छदैछ । तर सहि समयमा उपचार नपाउँदा वा ढिलो हुँदा समस्या भएको हो । त्यसैले हरेक व्यक्तिको दायित्व आफ्नो मिर्गौला स्वस्थ राख्ने र आफ्नो मिर्गौला स्वस्थ भए नभएको बार्षिक परीक्षण गर्ने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *