नेपाल नर्सिङ संघको हिरक जयन्ती र आजको नर्सिङ सेवा

गत १५ माघका दिन नेपाल नर्सिङ संघको ६० औँ बार्षिक दिवस अर्थात हिरक जयन्ती । कोभिड महामारीका कारण भौतिक उपस्थिति गरेर मनाउन सकिएन ।
यद्धपी ‘हिरक जयन्ती र आजको नर्सिङ’ विषयमा भर्चुअल माध्यमबाट अन्तरक्रिया कार्यक्रम सञ्चालन गरियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा निवर्तमान अध्यक्ष एवम सल्लाहकार प्राध्यापक तारा पोख्रेल, पूर्व विशेष स्वास्थ्य सचिव विजया केसीसहित नेपाल नर्सिङ संघका पदाधिकारी तथा अन्य नर्सिङ सहकर्मी तथा स्वास्थ्यकर्मी साथीहरु सहभागी हुनुहुन्थ्यो ।
प्राविधिक समस्याका कारण केही अथितिहरु जुममा जोडिन सक्नुभएन । उहाँहरुको छलफल पछि नै तय गरिएको कार्यक्रम हुँदा पूर्णता दिन सकिएन, त्यसको लागि क्षमाप्रार्थी छु, तर पनि धेरै कुरो स्पष्ट रुपमा आएको छ।
कार्यक्रममा चलेको छलफल र त्यसमा उठेका सन्दर्भमा आधारित रहेर मैले यहाँ केही धारणा राख्ने कोशिश गरेको छु ।
………………………………………………………………..
खासमा ६० औं वर्ष पार गरी रहँदा पनि विश्वमा स्थापित नर्सिङ पेशाले नेपालमा अति उपेक्षित र पक्षपाती व्यवहारको सामना गरिरहनु परेको छ। जसको ज्वलन्त उदाहरण शैक्षिक क्षेत्र त्यो पनि अन्तर्राष्ट्रिय ख्याति प्राप्त त्रिभुवन विश्व विद्यालय आफै भुक्त भोगी छ। यता यसको प्रत्यक्ष असर चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, सम्बन्धित परिषद, लगायत भातृ संगठन आदी सबैमा परेको छ।
प्राध्यापक चिकित्सकहरुलाई क्लिनिकल स्वास्थ्यकर्मी तर नर्सहरू किन क्लिनिकल स्वास्थ्यकर्मी हुन् सक्दैन। त्यस्तै परीक्षा लिन जाँदा चिकित्सकहरुले पाइने विशेष परीक्षा भत्ता र नर्सहरूले पाइने विशेष परीक्षा भत्ता किन फरक ? कि चिकित्सकले लिने परीक्षाको समय र तयारी, नर्सले लिने परीक्षाको समय र तयारी अर्कै फरक फरक हुने कुरो हो ? नर्सिङ विशुद्ध उच्च स्तरीय अभ्यासमा आधारित विषय हो, नर्सिङका शिक्षकहरुलाई नन् क्लिनिकल समूहमा राख्न मिल्दछ र ? कुनै पनि स्वास्थ्य क्षेत्र उपभोक्ताहरूको र स्वास्थ्य प्रदायक स्वास्थ्य कर्मीहरुको सत प्रतिशत स्तरीय र सुरक्षाको सुनिश्चितता अभ्यास बिना व्यवहारमा लागु गर्न मिल्दछ र ? यक्ष प्रश्न यहाँ नीर नै छ।
शैक्षिक जगतमा यति पक्षपातीपूर्ण व्यवहार गरिन्छ भने अन्य क्षेत्रमा किन नहोस्, शिक्षा यस्तो क्षेत्र हो जसले समाज र राज्यलाई डोर्याउने गर्दछ। त्यसैले यो कुरो समयमा सम्बोधन हुन् अति आवस्यक छ।
………………………………………………………………
हाल देशभित्र ४५ (५० हजारको हाराहारीमा लाईसेन्स प्राप्त नर्सहरू छन् । त्यस्तै निजी, सामूदाय र सरकारीमा गरी २५–३० हजार जति नर्सहरू कार्यरत छन् । जबकि कम्तीमा ८० – ८५ हजार नर्सहरू स्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नको लागि वर्तमान अवस्थामा सेवामा खटिन चाहिन्छ। यसको मतलब हाल नर्सिङ जनशक्तिको त्यतिकै राज्य भित्र खाँचो छ । यसअघि उल्लेखित मन्त्रालयहरु, चिकित्सा शिक्षा आयोग, सिटिइभिटी, अन्य स्वास्थ्य सम्बन्धी परिषदहरु, भातृ संगठनहरु किन समय अनुरूप चलायमान हुन सकिएको छैन् ? एक अर्काबीच समन्वय र सहकार्य गर्न किन सकिरहेको छैन् ? यो बारे बृहत बहस चलाउन अति आवश्यक छ।
आज चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नर्सिङ परिषद, सिटिइभिटी बीच सहकार्यको अभावले देश भरी एक्कासी नर्सिङ जनशक्तिको अभाव हुने छ। स्वास्थ्य मन्त्रालयले अस्पताललाई चुस्त दुरुस्त बनाउन सकि रहेको छैन, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सिटिइभिटी आदीहरूको सहकार्य र समन्वयको अभावले नर्सिङ शिक्षा भताभुङ्ग हुन गई रहेको छ। साथै यससंग सम्बधित नर्सिङ शिक्षक बेरोजगार हुन गइरहेको छ त्यस्तै यस शिक्षामा गरिएको लगानी डुब्ने अवस्थामा छ। यो बारे नेपाल नर्सिङ सङ्घ, नर्सिङ परिषद, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय किन बेखबर ? नर्सिङ विज्ञ कुन क्षेत्रमा आफ्नो विज्ञता दिन असक्षम छन् ?
त्यो खुलेर नै बहस गरौं, चाहे त्यो स्वास्थ्य अनुसन्धान विषय किन नहोस्, स्वास्थ्य संस्था तथा जनशक्ति व्यवस्थापन विषय बारेमा किन नहोस्, विविध संक्रमित र असंक्रमित रोगहरुको निदान र व्यवस्थापन बारेमा किन नहोस् वा स्वास्थ्य शिक्षाबारे किन नहोस्। एकसे एक अब्बल नर्सहरू छन् ।
………………………………………………………
जनस्वास्थ्य विषय र नर्सिङ विषय भिन्न हुन, स्नातक नसिङ विषयमा गरी स्नाकोत्तर जनस्वास्थ्य विषयमा गरेर नर्सिङ क्षेत्र ओगट्ने व्यवस्था अन्त्य गरिनु अति आवश्यक पनि छ। सायद नर्सिङ जगत अहिले यो पीडामा छटपटाई रहेको छ, दुई नाउँमा गोडा राखी समुन्द्रको यात्रा तय गरिने व्यवस्थाको अन्त्य गरिनु अति आवश्यक छ।
यो लेखिन्दा धेरैले धारे हात लगाउने छन् तर सत्य जे हो त्यो लेखिनु आवस्यक छ। नर्सिङका क्षेत्र स्पष्ट रुपमा उल्लेख गरिन् आवस्यक छ। जनस्वास्थ्य विषय आफैमा अब्बल पनि छ कारण त्यहाँ लिङ्ग विभेद छैन र त्यो क्षेत्रको सिमाना सुरक्षित गर्ने, कार्य दायरा बढाउने काम द्रुत गतिमा गरिएको छ।
यसको प्रमाण यो कोरोनाको महाप्रकोपको अवधिमा पनि प्रदेश स्तरीय र केन्द्र स्तरीय नेपाल जनस्वास्थ्य संगठनको निर्वाचन गराउन सफल भयो तर नर्सिङ सङ्घले प्रदेश स्तरीय निर्वाचन गराउन सकिरहेको छैन् । त्यस्तै जिल्ला कार्य समितिको अवधि सकी रहँदा पनि पुन नयाँ कार्य समिति गठन गर्न सकिरहेको छैन। कारण लिङ्ग विभेदस् पुरुष नर्सहरुको शून्य उपस्थिती र जति छन् उनीहरुलाई जानी जानी बढी उपेक्षित गरिनु पनि हो।
नेपाल नर्सिङ परिषद, नेपाल नर्सिङ सङ्घ, त्यस्तै विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगमा पुरुष नर्सहरुलाई नेपाल सरकार लगायत सम्बन्धित सरोकारवालाहरुले स्थान नदिनु पनि आजको नर्सिङमा दिशाहिनको अवस्थामा गुज्री रहनु परेको हो भन्ने हाम्रो ठम्याई छ ।
………………………………………………………………………
निजी अस्पताल र शिक्षण संस्थाहरुले किन प्रमुख पद पुरुष नर्सहरुलाई दिउन् नि जब महिलाहरूलाई भावनामा बहकाई आफ्नो दुनो सोझ्याउन पाउँदछ । त्यस्तै बाहिरी सम्पर्क सीमित हुनाले, त्यस्तै कानुनी र समाजिक सूचनाका श्रोतहरू सीमित हुने हुनाले श्रम शोषण देखि अन्य शोषण गर्न उनीहरुलाई सहज हुनेछ। सिमित यस अर्थमा कि उहाँहरु अन्य घरायसी कार्यले गर्दा अति व्यस्त हुने हुनाले र संस्कार पनि घर भित्र नै व्यस्त बनाउने हुनाले बाहिरी कुरोको जानकारी सीमित हुने गर्दछ। तर नर्सिङ दया, माया र करुणाको क्षेत्र हो त्यो मात्र महिलाहरुमा बढी हुन्छ भनेर बाठाहरुले बाख्यान गरेको पाइन्छ ।
मुस्लिम धर्म, बुद्ध धर्म, क्रिश्चियन धर्म लगायत हिन्दू धर्म ( ब्रम्हा, विष्णु, महेश्वर) किन नहोस् त्यहाँ ईश्वरको परिकल्पना पुरुषहरुको नै बढी गरिएको छ तर मानव सेवा प्रदायक पेशा नर्सिङमा किन महिलाहरुको मात्र बढी व्याख्यान् ?
धेरै स्तरीय निजी, सामुदायिक तथा सरकारी अस्पतालहरुमा नर्सिङ जनशक्तिहरुलाई अति कम तलब र सेवा सुविधामा खटाइएको छ, त्यस्तै अहिलेको सरकार आफै बिचौलियाको रुपमा नर्सिङ जनशक्तिलाई विदेश पठाउने कार्यमा अघि बढेको छ । आफ्नो नागरिकहरुको स्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउनु कता हो कता भएको जनशक्ति बाहिर पठाउने र यहाँ कृतिम अभाव सृजना गराउने बिचौलियाको काममा अग्रसर भएको छ।
अनेक बहानामा नर्सिङ कलेजहरू धमाधम बन्द गराउनु, त्यस्तै बेलायत, इजरायल, जापान, साउदी अरब र कोरिया आदी देशहरुमा नर्सिङ जनशक्ति पठाउनु कस्तो विषमतापूर्ण कार्य हो ।
स्कूल हेल्थ नर्सहरुलाई सरकारी निकायमा स्थायी दरबन्दी सृजना गरिनु अति आवश्यक छ । त्यस्तै उद्योग नर्सको संरचना सृजना गर्नु पर्ने आवश्यक छ । निजी मेडिकल कलेजहरुलाई पनि आफ्ना संस्थामा कार्यरत शिक्षक, कर्मचारीका सन्तानहरूलाई छात्रवृत्ति कोटामा त्यही कलेजमा प्रवेश परीक्षाको पूर्णांकको आधारमा अध्ययन गराउने व्यवस्था नेपाल नर्सिङ परिषद, नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग आदीको ध्यानार्कषण हुन अति आवश्यक छ।
पहिला शिक्षा क्षेत्र सुद्दिकरण गरौँ तब अन्य क्षेत्र आफै सद्धिकरणको लागि सक्रिय हुनेछ। भनिन्छ कुनै राज्यलाई ध्वस्त गर्नु छ भने त्यहाँ गोला बारूद पड्काउन पर्दैन शिक्षा प्रणाली सिथिल र अस्तव्यस्त बनाई दिनु पर्दछ सबै क्षेत्र धरासायी हुने छ। त्यसैले चिकित्सा शिक्षा आयोग र सम्बन्धित सरोकारवाला स्वास्थ्य शैक्षिक क्षेत्र ओगट्नेहरुबीच समन्वय र सहकार्य हुन अति आवश्यक छ। राज्यको संस्कृति, भूगोल र आम नागरिकको क्रय गर्न सक्ने क्षमता अनुरूप र संविधानलाई व्यवहारमा उतार्न सक्ने रणनिती अनुरूप अगी बढ्नु पर्दछ।
# सुब्बा नेपाल नर्सिङ संघका बरिष्ठ उपाध्यक्ष हुन् ।
सम्पर्क इमेल : [email protected]