नेफामा जनस्वास्थ्यकर्मीहरुको कित्ताकाट !

– बसन्त थापा

नेपाल जनस्वास्थ्य संघ (नेफा), नेपालमा जनस्वास्थ्यको क्षेत्रमा कार्य गर्ने प्राबिधिक र ब्याबसायिक जनशक्तिहरुको समन्वय र सहकार्यको माध्यमद्वारा समग्र राष्ट्रकै स्वास्थ्य प्रणाली सुधारमा योगदान गर्ने र स्वास्थ्य सुचनामा पहुँच  पुर्‍याईं सम्पूर्ण नेपाली जनताहरुको स्वास्थ्य अबस्थामा गुणस्तरीय सुधार ल्याउन टेवा पुर्‍याउने ध्येयका साथ लगभग ३ दशक अगाडी स्थापना भएको बिशुद्ध पेशागत संस्था हो।

संस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केहि योगदान त पक्कै गरेको छ तर जुन धेयका साथ संस्था स्थापना भएको थियो, व्यवहारमा हालसम्म गुणात्मक सुधारका कामहरु भएको महसुस गर्न सकिदैन। प्राय: गरी चुनाबी समयमा मात्र सामाजिक संजाल र संचार मध्यममा छाउने यो संस्था, सामान्य समयमा गुमनाम जस्तै हुने गरेको छ।

विभिन्न दल र गुट निकट जनस्वास्थ्यकर्मीहरुको प्यानल सहित चुनाबी चुनावी घोषणा पत्र वा प्रतिबद्धता पत्र हेर्दा कुनै खोट छैनन् तर बिगतका प्रतिवद्धताको कार्यान्वयन अबस्था हेर्दा भने उदेक लागेर आउँछ ।

बिगतको निरन्तरता स्वरुप आगामी पौष २४ गते हुन गईरहेको नेपाल जनस्वास्थ्य संघको नेतृत्वको चुनाबमा स्पष्ट कित्ताकाट देखिएको छ। सैद्धान्तिक रुपमा स्वायत्त र स्वतन्त्र हुनुपर्ने संस्था र यसका सदस्यहरु, राजनीतिक र गुटगत पूर्वाग्रह बोकेर प्रतिस्पर्धामा उत्रिनु लोकतान्त्रिक अभ्यासका हिसाबले त ठिकै नै होला ।

तर, जनस्वास्थ्यकर्मीहरु बिचको सद्भाव र समन्वय बिकासका दृष्टिकोणले त्यति सामान्य नबन्न सक्छ। हालको राष्ट्रिय राजनीतिकमा गुटबन्दिले सिर्जना गरेको परिस्थितिलाई समेत ख्याल नगरी प्रगतिशील र पेशागतको नाममा आ-आफ्नो प्यानलनै खडा गरि चुनाबमा उत्रिदा यसले संस्थाको दुरगामी भूमिकामा कस्तो प्रभाब राख्दछ भन्ने कुराको हेक्का राख्न जरुरी छ ।

त्यसैले जनस्वास्थ्यकर्मीले यसपटक मतदान गर्दा के को आधारमा प्रतिनिधि छान्ने भन्ने कुरामा ध्यान दिन जरुरि छ। त्यसैले साधारण जनस्वास्थ्यकर्मीहरुको हैसियतले सम्पूर्ण अग्रज जनस्वास्थ्यकर्मी र साथीभाईहरुमा भोट हाल्दा निम्न कुराहरुमा ध्यान पुर्‍याउन अनुरोध गर्दछु।

१. गुट गत आस्थाका आधारमा मतदान नगरौ, अबको कार्यसमिति पधाधिकारी र सदस्यहरु चयन गर्दा पेसा, विषय विज्ञता , व्यक्तिगत ब्यबषायिकता, पेशागत योगदानका आधारमा मात्र मतदान गरौ होइन भने नेफालाइ दक्षिणपन्थी (यथास्थितिवादी) दिशामा उत्प्रेरित बनाउन तपाइँ हाम्रो नै योगदान हुनेछ।

२. नेपालमा जनस्वास्थ्यका क्षेत्रमा ठूलो विकृति छ त्यसलाई नियमन र निराकरण गर्न बिगतको घोषणा पत्रहरुमा भनिएजस्तो जनस्वास्थ्य परिसदको परिकल्पना काँहा पुग्यो ? राष्ट्रिय स्वास्थ्य प्रणालीमा जनस्थ्यको क्षेत्र विस्तार र प्रभावमा कति प्रगति भयो ? जस्तै प्रत्येक तहमा नयाँ दरबन्दी सिर्जना, उत्पादन र खपत को सन्तुलनका लागि कस्ता प्रयास भए ? समय सापेक्ष पाठ्यक्रमको विकास र सुधार बारेमा नेफाले कति प्रगति गर्यो भन्ने कुरामा प्रश्न गरौँ,  बिचार पुर्‍याउ। त्यसैले घोषणापत्र मात्र नहेरौ, यसमा बिगतको बस्तुगत प्रगति सँग तुलना गरौँ।

३. नेपालमा जनर स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र बितरणको बर्तमान अवस्था निकैनै चिन्ताजनक छ। विद्यमान अवस्थामा जनस्वास्थ्यकर्मीको उत्पादन हेर्ने हो भने लगभग ३१ बि पी एच र ८ एम पी एच कलेजहरु संचालनमा छन्।

यी कलेजहरुबाट बीपीएच र एमपीएच मात्र बार्षिकरुपमा १५०० भन्दा माथि उत्पादन हुदै गएको अवस्था छ जसमा विदेशबाट पढेर आउनेहरु संख्या पनि उल्लेख्य रुपमा छ। जुन यो संख्यामा समाबेस गरिएको छैन भने उत्पादन भयका जनस्वास्थ्यकर्मीहरुलाई उपयोग वा खपत गर्ने प्रमुख आधिकारिक निकाय भनेको स्वास्थ्य मन्त्रालय हो।

यस मन्त्रालयमा अहिले सम्मको तथ्यांक वा संघियतामा जनस्वास्थ्यकर्मीको दरबन्दी केलायार हेर्ने हो भने ५१३ जना मात्र छ तर स्वास्थ्य व्यवसायी परिषद्मा  दर्ता भएका जनस्वास्थ्यकर्मी को संख्या पाँच हजारको हाराहारीमा (बीपीएच  ३८७५ एमपीएच १११२ डिएचपीई ७७० छ ।

यसबाट यसबाट हामी के स्पष्ट हुनुपर्छ भने अबको चुनाबबाट व्यक्तिगत प्रतिष्ठा र शक्ति आर्जन गर्न खोज्ने नेतृत्व नभएर स्वास्थ्य मन्त्रालय र राज्य संचालनका अन्य निकाय साथै राष्ट्रिय र अन्तरास्ट्रिय संघ संस्था हरुसँग नेगोसियसन गर्न सक्ने नेतृत्वको आवश्यक छ ।

४. जनस्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति (ब्रेन ड्रेन) सम्बन्धि समस्याको समाधान निकाल्न विदेशबाट जनस्वास्थ्य बिषय अध्यन गरेकाहरुको समस्याको समाधानको बारेमा पनि संघले सुझबुझका साथ कदम चल्नु पर्ने अवस्था छ। जसले गर्दा शिक्षामा सर्बब्यपी पहुँचको मान्यतालाइ स्थापित गरोस।

उदाहरणका लागि अहिलेको अवस्थामा कुनै नेपालीले जोन हप्किन्स विश्व बिद्यालयबाट एमपीएच गरेर आयो भने त्यसले नेपालमा समकक्षता नपाउने बाताबरण छ तर उसले संसारको वा नेपालको कुनै कलेजमा गयो र दुई वर्ष बिताएर आयो भने उसले समकक्षता पाउछ किनकि उक्त्त व्यक्ति संग दुई वर्ष समय बिताएको रेकर्ड हुन्छ। यसलाई विश्लेषण गर्ने हो भने हाम्रो बर्तमान शिक्षा प्रणालीले गुणस्तर र सिकाइ विधिलाइ गौण र पढाइमा बिताएको समयलाई मात्र महत्व दिएको महसुस हुन्छ।

नेपालमा जनस्वास्थ्य विधाको स्नातोकत्तर तह एमपीएच को लागि बनेको नयाँ मापदण्ड राम्रो छ तर यसको ब्यबस्थामा भनिएको विदेशका विश्व बिद्यालयबाट पढेकाको बिधार्थीहरुको हकमा जुन २ वर्ष वा १२० क्रेडिट आवरको व्यवस्था गरको छ यो अलि बढी गुणस्तरको नाममा शैक्षिक सिन्डिकेट जस्तो देखिन्छ। गुणस्तर लाई कायम गर्ने हो भने उल्लेखित दुइवटै सर्तहरु लागु हुनु पर्दछ जसले २ वर्ष कलेजमा समय बिताएको नाममा ३६ क्रेडिट आवर पुरा गरेका एमपीएचले समकक्षता पाउने ब्यबस्था छ।

यो व्यबस्थाको सट्टा अग्रगामी सोचका साथ कार्य गर्ने हो भने नेपालमा वा विदेश पढेकाहरुले परिसदमा दर्ता हुन अनुमति परीक्षा र नेशनल तथा इन्टरनेशनल जर्नलहरुमा जनस्वास्थ्य विधामा अनुसन्धान प्रकाशनलाई परिषदमा दर्ता हुन चाहिने सूचककोरुपमा स्थापित गराउन अब आउने कार्यसमितिले पैरवी गरियोस नकि कलेजमा बिताएको समयको लम्बाईलाई होइन।

जसका लागि नेफाले स्वास्थ्य ब्यबसायी परिसद, चिकित्सा शिक्षा आयोग र बिश्वबिद्यालयको पाठ्यक्रम विकास शाखा संग समन्वय गर्नुपर्ने अहिलेको टड्कारो आबश्यकता हो।

५. सबैभन्दा आधारभूत कुरा त के हो भने ५ – ६ हजार आधिकारिक (सम्बन्धित परिषदमा दर्ता) जनस्वास्थ्यकर्मी भएको देशमा नेफाको २०७८ को अन्तिम मतदाता नामावली सुची हेर्दा १७१८ जना (एक तिहाई भन्दा कम) मात्र आबद्ध छन्।

हाम्रो परम्परागत र खर्चिलो निर्बाचन प्रणालीका कारण १७१८ मध्ये पनि धेरै जना अनुपस्थितहुने लगभग निश्चित छ किनभने सिमितले जनस्वास्थ्यकर्मीले मात्र संघिय र प्रादेशिक मुकाम (राजधानी)हरुमा अवसर पाएका छन्। यस्तो परिस्थितिमा कानुनी रुपमा निर्बाचन सम्पन्न त होला तर यसको बैधानिकताको पाटोमा ठुलो प्रश्न चिन्ह खडा भएको छ। त्यसैले हामीले मतदान गर्दा बढी भन्दा बढी सदस्यहरुलाई जोड्न सक्ने नेतृत्व लाई मतदान गरौ ।

६. अब आउने कार्यसमिति र पदाधिकारीहरु लाई मतदान गर्दा कम्तिमा नेफालाई प्रबिधि मैत्री बनाउन सक्ने, गुटभन्दा माथि उठेर सबैलाई समेट्न प्रयास गर्ने, जनस्वास्थ्य क्षेत्रका नीति अनुसन्धान, अवसर, समस्या र चुनौतिहरुको सहि विश्लेषण सहित बस्तुगत र तथ्यपरक समाधानका लागि सक्रिय भई आफैबाट सुरुवाती र पैरवी गर्न सक्ने, चुनाबको समयमा मात्र सिमित नभई निरन्तररुपमा संस्थालाई जिबन्त बनाउन सक्ने, राष्ट्रिय र अन्तरास्ट्रिय नियामक र सरोकारवालाहरु सँग जनस्वास्थ्य बिकासको लागि नविनतम उपायहरु सहित समन्वय र सहकार्य गर्न सक्ने जस्ता आधारभूत गुणस्तर भएका उमेदवार हरुमा ध्यान दिन जरुरि छ।

७. लोकतान्त्रिक बिधि अबलम्बन मान्यताको नाममा गुणस्तरलाई ख्याल नगरी समूहर गुटगत रुपमा मात्र मतदान गरियो भने निर्बाचन नतिजा पनि सोहि बमोजिम आउनेछ फलस्वरूप जनस्वास्थ्यकर्मीहरु माझ आन्तरिक मनमुटाब बढ्ने छ । त्यसकारण केहि घोषित भएका समूहहरु र कोहि समूह बाहिरबाट व्यक्तिगतरुपमै योगदान गर्छु भनेर अगाडी आएका दक्ष व्यक्तित्वहरु छन् भने ठिक पदमा सहि र दक्ष व्यक्तिलाई निर्बाचित गराउ।

अन्त्यमा,
अबको निर्बाचन प्रक्रिया मार्फत पदाधिकारी वा कार्यसमिति सदस्यको हैसियतमा योगदान गर्ने भावनाका साथ उमेद्वारी मनोनयन गर्नु भएका सम्पूर्णमा शुभकामना ! यसले कम्तिमा निर्बाचन समयमा मात्र भएपनि नेफा छ भन्ने महसुस गराउदछ। तर, यथार्थपरक भएर सोच्दा निर्बाचन प्रणालीमा गयौ भने कसैको पराजय, कसैको जित निश्चित हो।

हाम्रो राष्ट्रिय संस्कृति के हो भने जितेकाले गुटको निर्णय अनुसार संस्था संगठन संचालन गर्ने र हारेकाले बिरुद्धमा गुटबन्दी गर्ने, फलस्वरूप सामुहिक सामर्थ्य र दक्षतामा क्षयीकरण हुनेछ र नेफा कमजोर साबित हुने छ। फलस्वरूप भाई फुटे गवार लुटे भन्ने उखानको चरितार्थ हुन जान सक्छ। त्यसैले अझै समय छ, हर प्रकारले सम्भब भए सम्म उमेद्वारी मनोनयन दर्ता गरेका सबै सँगै बसौं, गम्भीरताका साथ छलफल गरौँ, राजनीतिक र गुटगत समूह भन्दा व्यवसायिकतालाई प्राथमिकतामा राखौँ ।

दक्ष व्यक्तिहरुलाई समुहगत नभई सहमतिका साथ निर्बाचित गराऊ, नेफालाई सैद्धान्तिक र व्यहारिक रुपमा स्वायत्त र स्वतन्त्र संस्थाको रुपमा विकास गरौ,होइन भने मतदाताले माथि उल्लेखित कुराहरु लाई ध्यानमा राखी सुझबुझका साथ मात्र मतदान निर्णय प्रक्रियामा सहभागी बनौँ ।

# जनस्वास्थ्यमा एमपीएच गरेका थापा नेपाल जनस्वास्थ्य संघको आजिवन सदस्य हुन् ।


Leave a Reply

Your email address will not be published.