कोभिड-१९ का बिरामीका लागि वीर अस्पतालले सुरु गर्‍यो टेलि कन्सलटेशन सेवा

काठमाडौँ, १६ मंसिर । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले कोभिड -१९ का बिरामीका लागि टेलि कन्सलटेशन सेवा सेवा सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयको समन्वय र विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा वीरले आजबाट यो सेवा प्रारम्भ गरेको हो ।

यसअघि यो सेवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन एकाई (एचईओसी)बाट हुँदै आएको थियो ।

विहीबार अस्पतालमा आयोजत कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी अधिकारी डा भुपेन्द्रकुमार बस्नेत र विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को नेपालका लागि देशीय प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवले सेवा सुभारम्भ भएको घोषणा गरे । वीरले दिने सेवा यसअघि मन्त्रालयले सञ्चालनमा ल्याएको ११३३ नम्बरको हटलाइनबाट लिन सकिन्छ ।

‘सरकारले कोभिडको दोस्रो लहर सुरु भएपछि कोभिड नियन्त्रण सम्वन्धी अध्यादेशबाट वीरलाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालमा रुपान्तरण गर्दा त्यसको एउटा मुख्य कार्य टेलि कन्सलटेसन गर्नु भन्ने पनि थियो । त्यसैको अहिले कार्यान्वयन गरेका हौँ’ सेवा प्रारम्भ पछि वीरका निमित्त कार्यकारी अधिकारी डा बस्नेतले भने ।

उनले कोभिड सम्वन्धी सबै सेवाहरु आवश्यक परे विशेषज्ञ समेतको सहयोगमा चौविसै घण्टा लिन सकिने बताए ।

‘११३३ मा फोन गर्नुहोस र आफूलाई परेको समस्याबारेमा भन्नुहोस् । हाम्रा चिकित्सकहरुले आवश्यक उपचार र उपायका बारेमा सहज ढंगले बताइदिनुहुनेछ । फोन गर्नका लागि पैसा लाग्दैन् । देशैभरबाट यो सेवा चौविसै घण्टा लिन सकिन्छ,’ डा बस्नेतले अगाडी थपे ।

उनका अनुसार बिहीबारदेखि सुरु भएको टेली मेडिसिन केन्द्रबाट हाललाई कोरोना संक्रमणको विषयमा चिकित्सकीय परामर्श दिइने छ। त्यसका लागि १ जना मेडिकल अफिसर र २ जना पारामेडिक्स गरी ३ जनाको टोली ३ सिफ्टमा रहनेछ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवले नेपालमा सात वटा प्रादेशिक टेली मेडिसिन केन्द्र र एउटा केन्द्रीय टेली मेडिसिन केन्द्र स्थापना गर्न विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको जानकारी दिए। उनले टेलिमेडिसिन विभिन्न स्थानमा स्वास्थ्य सेवा प्रदान गर्ने तथा स्वास्थ्य सेवा सम्वन्धी जानकारी आदान प्रदान गर्ने माध्यम रहेको भन्दै सेवालाई पहुँचयोग्य, धान्न सक्ने र समतामूलक बनाउनका लागि टेलिमिेडिसिन र टेलिकन्सलेटसनले अहम भूमिका खेल्ने बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय एचईओसीका डा नवराज जोशीले कोभिड देखापरेपछि पहिलो लकडाउनबाट नै मन्त्रालयलेले टेलि कन्सलटेसन सेवा सुरु गरेको भन्दै एकैदिन साढे सात हजार व्यक्तिको टेलिफोन प्राप्त गरेको अनुभव सुनाए ।

उनले आपतविपतका बेला यस्ता सेवा खासगरी स्वास्थ्यका विषयमा अझ महत्वपूर्ण हुने भन्दै अब कोभिड युनिफाइड केन्द्रीय अस्पतालले अझ सहज ढंगले यो सेवा उपलव्ध गराउने विश्वास व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *