स्वास्थ्य सेवा प्रवाहमा जाजरकोटको बारेकोट गाउँपालिका उत्कृष्ट

जाजरकोट, ७ कात्तिक । दुर्गम क्षेत्रकोे बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा अन्य पालिकालाई उछिनेको छ। स्वास्थ्य सेवा कार्यालयले स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरेका समीक्षामा अन्य सात पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएकोे जनाएको छ। अघिल्लो आर्थिक वर्षमा बारेकोट पहिलो नै भएको थियो।

स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ सूचकलाई आधार बनाई गरिएका समीक्षामा बारेकोटले १०० मा ६१.९२ अङ्क ल्याएर प्रथम भएको हो। त्यस्तै भेरी र नलगाड नगरपालिका क्रमशः दोस्रो र तेस्रोे भएको सो कार्यालयले जनाएको छ।

यसैगरी छेडागाड नगरपालिका ४९.६०, कुशे ५४.६१, शिवालय ४८.२६ र जुनिचाँदे गाउँपालिकाले ४२.१७ अङ्क प्राप्त गरेका थिए। भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोटका सबै ठाउँमा सडक पुगेको छैन।

पछिल्लो समय जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढेको छ। बढ्दो जनचेतनाका साथै गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि सुरक्षित सुत्केरी हुनेको दर बढेको जनाइएको छ। घरमै सुत्केरी हुँदा समस्या आउनेबित्तिकै धामी, झाँक्रीको सहारा लिने स्थानीयवासी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा जाने गरेको बारेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए।

स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भए यातायात खर्चका साथै न्यानो झोला, स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउन थालेपछि झन् महत्व बढेको हो।

उनका अनुसार स्वास्थ्य सस्थामा नियमित गर्भजाँच गर्नेको सङ्ख्यासमेत बढेको छ। नलगाड, छेडागाड र शिवालय गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा प्रवाह गरिरहेका छन्। अधिकांश गाउँमा कच्ची सडकको ट्रयाक खुलेसँगै स्वास्थ्य सेवा पाउन सहजता आएको जनाइएको छ।

स्टेचरको अभाव

कुशे गाउँपालिकाका सबै वडामा स्टेचरकै अभाव भएको छ। चालीस स्टेचर अभाव रहेको जनाइएको छ। सो पालिकामा प्रसूति गराउने पाँच शय्याको माग भए पनि अझै तीन अपुग रहेको छ।

सामान्य खालको शय्याको सङ्ख्यासमेत अभाव रहेको समीक्षामा बताइएको छ। प्रसूतिगृहमा चाहिने टर्च लाइट शून्य छ। सुरक्षित गर्भपतन सेवा गाउँपालिकामा नहुँदा समस्या हुँदै आएको छ। दर्ताबिना १३ मेडिकल सञ्चालनमा रहेकोसमेत पाइएको छ। पूर्ण संस्थागत प्रसूति भएको वडाका सङ्ख्यासमेत शून्य छ।

नाम मात्रैका भाडामा सञ्चालनमा रहेका पाँच बर्थिङ सेन्टर रहेको स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकाको सबै स्वास्थ्य संस्था भाडामा सञ्चालनमा रहेको पाइएको छ। तीन रोपनी जग्गा मात्र स्वास्थ्य संस्थाको नाममो छ। मापदण्डअनुसार निर्माण भएका प्रसूति केन्द्रको सङ्ख्या शून्य छ। त्यस्तै नलगाड नगरपालिकामा वर्ष दिनदेखि एक्सरे नहुँदा समस्या हुँदै आएको छ। त्यस्तै गर्भनिरोधक सुई डिपोको गत चैतदेखि नै अभाव रहेको पाइएको छ। सबै स्वास्थ्य संस्थामा औषधिको अभाव सधैँ रहने गरेको बताइएको छ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *