११ बुँदे घोषणा जारी गर्दै सकियो एनएमएको पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलन

काठमाडौँ,  ९ असोज ।  एघार बुँदे काठमाडौँ घोषणा जारी गर्दै नेपाल चिकित्सक संघले आयोजना गरेको पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलन सकिएको छ। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले ‍औपचारिक उदघाटन गरेको सम्मेलनमा विभिन्न पाँच ५ वटा विषयमा छलफल भएको थियो । उक्त छलफलका आधारमा नै संघले ११ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो।

उदघाटनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाजस्ता महामारी र विभिन्न विपत्ति सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानूनी प्रबन्ध हुनुपर्ने बताए।

उनले कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहनेभन्दै कुनै पनि महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा जोड दिए। ‘विपत्तिको सामना गर्नका निमित्त अवलम्बन गर्नुपर्ने आधारहरुलाई नीतिगत रुपमा समावेश गर्न सकेको स्वास्थ्य सेवालाई परिकल्पना गरे बमोजिमको सर्व सुलभ, सहज पार्दै जनताको जीवन रक्षा गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ,’ देउवाले भने।

संघले महामारी तथा प्राकृतिक विपत्तिलाई प्राथमिकतामा राखी”PANDEMIC PREPAREDNESS IN NEPAL नामक सन्देशको तर्जुमा गरेर 1st NMA National Health Summit-2021 को आयोजना गरेकोमा समेत देउवाले खुसी व्यक्त गरे।

संघका अध्यक्ष डा लोचन कार्कीले विश्व कोभिड–१९ को महामारीसँग निरन्तर जुँधिरहेको र यसका लागि विश्वमै विभिन्न खोज तथा अनुसन्धानमूलक गतिविधिहरु निरन्तर संचालन भई रहेको अवस्थामा नेपालले यस महामारीको सामना गरिरहँदाको अनुभव एकै ठाउँमा राख्ने वातावरण बनाउँन सम्मेलन आयोजना गरिएको स्पष्ट पारे।

यस्तो छ एघार बुँदे घोषणापत्र

 

नेपाल चिकित्सक संघ प्रथम राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन–२०७८

घोषणा–पत्र

नेपाल चिकित्सक संघको पहिलो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन २०७८ मा हामी सम्पूर्ण पदाधिकारी र विज्ञ समूहको उपस्थितिमा कोभिड–१९ को तयारी र प्रतिकार्यका विषयमा गहन छलफल गरी यस घोषणापत्रमा सबैको सहमति व्यक्त गर्दछौँ ।

१. नेपालमा कोभिड–१९ को जोखिम कायमै छ । यसको असर स्वास्थ्य र गैरस्वास्थ्य क्षेत्रमा गम्भीर रूपमा परिरहेको छ । यसले ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र अग्रमोर्चामा रहेर कार्य गरिरहेकाहरूमा विशेष असर पारेको छ भन्ने नेपाल चिकित्सक संघको निष्कर्ष छ ।

२. कोभिड–१९ को महामारीका कारण ज्यान गुमाउन बाध्य भएका सम्पूर्णमा हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ । साथै, यस विषम परिस्थितिमा आफू र आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत यस कार्यमा महत्त्वपूर्ण योगदान दिनुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दर्छौं ।

३. स्वास्थ्य क्षेत्रमा जनशक्ति सबल, सक्षम र चुस्त स्वास्थ्य प्रणालीको मेरुदण्ड भएकाले, यसको व्यवस्थापन र वृत्तिविकासका लागि स्वास्थ्य सेवा ऐनलाई परिमार्जन गर्दै चिकित्सक ऐनको पनि विकास गर्नुपर्दछ ।

४. महामारीलगायत अन्य जनस्वास्थ्य विपत्को स्थितिको पूर्वतयारी र प्रतिकार्यका लागि सबल र सक्षम जनशक्तिको आवश्यक हुन्छ । स्वास्थ्य क्षेत्रमा जनशक्तिको यथोचित प्रक्षेपण, वृत्तिविकास, सुविधा र सुरक्षाको व्यवस्था हुनु पनि उत्तिकै जरुरी छ ।

५. कोभिड–१९ महामारी र भविष्यमा आउन सक्ने यस्तै प्रकारका अन्य महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि बहुपक्ष्ीाय सहकार्य अपरिहार्य छ । तसर्थ हामीले वर्तमान अवस्थालाई पार लगाउन र भविष्यमा आइपर्ने महामारीमा स्वतः परिचालन हुनेगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकै नेतृत्वमा बहुपक्षीय संयन्त्रको निर्माण हुनुपर्छ । महामारी प्रक्षेपण तथा निगरानीको निकाय बनाउन जरुरी छ । स्वास्थ्य प्रणाली तथा समग्र स्वास्थ्य क्षेत्रलाई नै मजबुत बनाउन आजकै दिनबाट नेपाल चिकित्सक संघले अझ बढी संवेदनशील र जागरुक भई अन्य सहयोगी संस्था, व्यक्ति र सरकारलाई साथमा लिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने छ ।

६. कोभिड–१९ जस्तो विश्वमहामारीको समयमा आफ्नो क्षमता विकास नभएका कारणले गर्दा नै सामान्यभन्दा सामान्य चिकित्सकीय वस्तु तथा सामग्रीको प्राप्तिका लागि नेपालले कति सङ्घर्ष गर्नुपरेको छ भन्ने हामी सबैलाई थाहा भएकै विषय हो । तसर्थ, भविष्यमा आइपर्ने अन्य महामारीको तयारी गर्दा हामीलाई आवश्यक पर्ने सामग्रीमा आत्मनिर्भर हुने अवस्था सिर्जना हुनुपर्छ भन्ने नेपाल चिकित्सक संघको ठहर छ । त्यसैले स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरूको स्वदेशमै उत्पादन गर्नका लागि सङ्घको तर्फबाट आवश्यक प्राविधिक तथा नीतिगत सहयोग गर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ ।

७. महामारीको समयमा सम्पूर्ण नागरिकलाई न्यायोचित रूपमा निःशुल्क खोप उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो । यसका साथै अन्य देशले सहयोग गरेको र खरिद गरिएको खोपको उचित भण्डारण र समतामूलक पहुँचको सुनिश्चितता गरिनुपर्छ । साथै सरकारले नेपालमा नै खोप उत्पादन गर्न सक्ने विषयमा सम्भाव्यता अध्ययनलगायत थप पहल गर्नुपर्ने देखिन्छ ।

८. भविष्यमा खोप वा अन्य औषधिको आपत्कालीन प्रयोगका लागि आवश्यक पर्ने कानुनको निर्माण आजकै दिनबाट सुरु गर्नुपर्छ भन्ने पनि हाम्रो ठहर छ । ताकि भोलिका दिनमा कुनै पनि कानुन महामारीविरुद्ध लड्नका लागि बाधक नहोऊन् बरु सहयोगी बनून् । तसर्थ यस अवस्थामा सुधार गर्नुपर्ने धेरै कार्यमा हामी सहयोगी भूमिका निर्वाह गर्ने छौं ।

९. संघीय संरचनामा स्वास्थ्य प्रणालीलाई सुदृढ गर्दै जनताको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न तीनै तहका सरकारबिच पर्याप्त समन्वय र सहकार्यलाई अझै बलियो बनाउँदै अघि लानु पर्ने हाम्रो ठहर छ । यसका लागि कुशल नेतृत्वको विकासलगायत हरेक तहका सरकारको भूमिकाको स्पष्टता र यसका लागि चाहिने स्रोत र साधनको सुनिश्चितता गरिनु पर्दछ ।

१०. नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ र सबल बनाउनका लागि अन्वेषण र आविष्कारलाई हामी सबै मिलेर प्रवर्धन गर्नुपर्दछ ।

११. महामारीमा सुचना प्रणालीलाई अझ वैज्ञानिक र प्रभावकारी बनाउँदै तथ्य र प्रमाणमा आधारित नीतिको विकास गरिनुपर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *