धादिङ अस्पतालमा मेरा दुई वर्ष र सुधारका लागि भएका प्रयासहरु

प्रदेश अन्तरगर्त समायोजन भई धादिङ अस्पताल आएको आज ठ्याक्कै दुई बर्ष भएको छ । म २०७६ भदौ १३ गते समायोजन भई यहाँ आएको थिएँ ।

समस्यै समस्याको चाङ  त्यसबेला……

त्यसबेला १५ बेडमा सञ्चालित यो अस्पतालमा भौतिक संरचना र बिरामीको चाप ठिक ठिकै देखिन्थ्यो । तर काम गर्ने क्रममा केही दिन देखि नै थाहा भयो कि यहाँ थुप्रै खालका समस्या र जनगुनासा थुप्रिएका रहेछन् ।

पहिलो गुनासो अस्पतालको व्यवस्थापन राम्रो भएन भन्ने, दोस्रो अस्पतालबाट आधारभूत जाँचहरु समयमा उपलव्ध नहुनु वा रिपोर्ट ढिलो गरी आउने भन्ने, हुन पनि प्रयोगशालामा भएका सामानहरु थन्केर बसेको थियो । ती मेसिनका लागि चाहिने रिएजेन्टहरु थिएन । कतिपय मेसिनहरु विग्रिएको पनि थियो । यस्तै फार्मेसीमा बिरामीलाई चाहिने आवश्यक औषधिहरु पनि थिएन ।

अस्पतालको परिसरभित्र एम्बुलेन्सहरु लाइन लागेर बस्ने, बिरामी आउने बित्तिकै काठमाडौँ लैजान हानथाप गर्ने वातावरण थियो।
अस्पतालमा बिरामीहरु बस्ने, टिकट काट्नको लागि उभिने ठाउँ समेत कम थियो।

अस्पताल परिसर भित्र होहल्ला र कोलाहलको वातावरण थियो जसले गर्दा बिरामीहरुको तनावमा थप तनाव भइरहेको थियो।

निःशुल्क औषधि पर्याप्त संख्या र मात्रामा उपलब्ध थिएन। निःशुल्क औषधी वितरण हुने ठाउँमा कर्मचारी समयमा उपलब्ध नहुने ।
अल्ट्रासाउण्ड पनि बिग्रिरहन्थ्यो । अर्थात सेवा नियमितता थिएन ।

सिमित संख्यामा गर्भवती महिलाहरूको नर्मल डेलिभरी भएपनि अप्रेसन गरेर बच्चा निकाल्ने ( सिजरियन सेक्सन) सिमित मात्रामा आक्कल- झुक्कल हुने गरेको थियो ।

अन्य विभागमा पनि आफूखुसी बिना जानकारी बिदामा बस्ने वा नआउने जस्ता बेथितिहरु थियो। जसले गर्दा धेरैजसो गर्भवती महिलाहरु काठमाडौं जान बाध्य थिए।

प्रदेश सरकारले ५० बेडको अस्पतालको रुपमा विकास गर्ने योजना गरेतापनि सोहीअनुसारको भौतिक संरचना यस अस्पतालमा थिएन।
बाहिर जिल्लाबाट यस अस्पतालमा काम गर्न आउने तथा २४ घण्टे काम गर्नुपर्ने कर्मचारीहरूको लागि बस्ने क्वाटरको व्यवस्था थिएन।
अस्पताल तथा क्वाटरमा खानेपानी र शौचालयको समस्या थियो।

सामाजिक सेवा इकाई तथा स्वास्थ्य बीमा कार्यक्रम यस अस्पतालमा भइसकेको थिएन जसले गर्दा बिरामी हरूको निःशुल्क उपचार गरिरहँदा सोबापत कुनैपनि शोधभर्ना रकम यस अस्पतालले पाएको थिएन।

अस्पताल आर्थिकरूपले अस्तव्यस्त घाटामा चलिरहेको थियो।

अस्पतालजन्य फोहर मैला व्यवस्थापन को लागि जीटीजेडबाट भौतिक संरचनाको लागि सहयोग पाएको भएपनि फोहरमैला व्यवस्थापन व्यवस्थित रुपले सुरु भइसकेको थिएन। बिरामी भर्ना गर्ने वार्डमा बिरामीका कुरुवाहरु घण्टौं उभिराख्नुपर्ने बाध्यता थियो।

कुन बिभागमा कति जना बिरामी आएरु कस्तो प्रकारको बिरामीहरु आएरु अस्पतालको दैनिक खर्च आम्दानी के कस्तो छरु
जस्ता सामान्यभन्दा सामान्य प्रश्नको उत्तर पाउन कठिन थियो।

एकातिर विकास समिति आर्थिकरूपले धरासायी थियो भने अर्कोतिर विकास समितिबाट काम गर्ने कर्मचारीहरूको तलब भत्ता बढ्न सकेको थिएन। अस्पतालका स्वास्थ्यकर्मी चिकित्सक लगायत सफाइ कर्मचारीहरु दिनरात काम गरेपनि आत्म प्रेरित(सेल्फ मोटिभेसन) भएर काम गर्ने कुनै वातावरण थिएन। जुन हरेक काम गर्ने कर्मचारीको लागि आवश्यक हुन्छ।

समाधान यसरी सुरु गरियो….

मैले अहिले धादिङ अस्पतालमा पुगेको शुरुवाती दिन सम्झिएको छु । त्यसबेला अस्पताललाई समग्र रुपमा हेर्न दृष्टीकोण कस्तो थियो र अहिले कस्तो बनेको छ तुलना गरेको छ ।

त्यसबेला समग्र रुपमा हेर्दा एकातिर अस्पतालको सेवाप्रति जिल्लावासी र उपचारले लिन आउने बिरामीहरूको गुनासो थियो । अर्थात अस्पतालमा पेसेन्ट सेटिस्फ्याक्सन राम्रो थिएन । अर्कोतिर कर्मचारी स्टाफहरु पनि अस्पतालप्रति उत्साहका साथ काम गरेजस्तो देखिएको थिएन ।

यस्तै यस्तै थुप्रै साना भन्दा साना ठुलो भन्दा ठुलोसमस्याहरु छँदै थियो।

त्यसैले अस्पतालको उपचार तथा अन्य सेवालाई कसरी छरितो, विश्वासिलो, गुनासो रहित, बिरामी–केन्द्रित, पारदर्शी र आर्थिक रुपले समृद्ध बनाउन सकिन्छ ? त्यसको बारेमा योजना बनाएँ । तर यसको लागि पूर्ण रूपमा समर्पित प्रशासनको टिम हुन आवश्यक थियो।

त्यसको लागि सबभन्दा पहिले हामी प्रशासनको टिम अब कसरी अगाडि बढ्ने भन्ने कुराको योजना बनायौं तत्काल नै कार्यन्वयन गर्न लागि पर्यौ। तर,  सुरु कहाँबाट गर्ने भन्ने प्रश्न मेरो मनमा अझै चलिरहेको थियो।

सुरुवातमा यस अस्पताललाई सहयोग गर्ने संघसंस्था हरुबाट के कस्तो सहयोग लिन सकिन्छ त्यसको बारेमा योजना बनाई वन हार्ट वल्डवाइडबाट तत्कालका लागि युएसजी मेसिन ल्याएर अल्ट्रासाउण्डलाई सूचारु गरियो ।

यस्तै निक साइमन्स इन्टिच्युट, नेपाल मेडिस रोटरी क्लव अफ धादिङहरुसंग सहयोग र सहकार्यका लागि सम्झौता गरियो र कार्यायोजना तयार गरियो ।

त्यसपछि गर्भवती महिलाहरूको नियमित अपरेसन सेवा संचालन गरियो जुन अहिलेसम्म अटुटरूपमा चलिरहेको छ।

ल्याब तथा एक्सरेमा बिग्रिएको मेसीनहरु बनाइयो र आवश्यक रिएजेन्ट हरूको खरिद गरी सेवाहरु सुचारू गरियो।

अस्पतालको औषधि पसलको लागि आवश्यक औषधिहरु टेन्डर गरी उनीहरु उपलब्ध गराइयो।

निःशुल्क औषधिहरु को उपलब्धता बढाइयो र वितरण गरियो।

अस्पताल जन्य फोहरमैला व्यवस्थापनलाई सुदृढ गरी नमुना फोहरमैला व्यवस्थापन सुरु गरियो।

अस्पतालको परिसर एम्बुलेन्स पार्किङको रूपमा प्रयोग भइरहेको थियो। जसलाई अस्पताल परिसरबाट बाहिर पार्किङ गर्ने निर्णय गरी अस्पतालको परिसरलाई शान्त सफा बनाइयो।

प्रदेश सरकारले ५० बेड को अस्पतालको रुपमा विकास गर्ने योजना गरेतापनि सोहीअनुसारको भौतिक संरचना यस अस्पतालमा थिएन। त्यसको लागि सामाजिक विकास मन्त्रालयमा पहल गरी पुरानो अस्पताल भवनको माथि एक तल्ला थप्न बजेट र कामको सुरुवात गराइयो।

त्यस्तै बनिरहेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको क्वाटर सम्पन्न गर्न गराउन पहल गरी स्टाफहरुलाई क्वाटरमा बस्ने व्यवस्था मिलाईयो।
त्यस्तै बिरामी र बिरामीका कुरुवाहरू लगायत स्वास्थ्यकर्मी हरूको लागि २४घण्टा खाना व्यवस्थापनको लागि २४ घण्टे क्यान्टिन सुचारु गर्नुको साथै व्यवस्थित गरियो।

प्रारम्भिक चरणमा यो कामहरु सामान्य भएपनि अति नै आवश्यक थियो।

त्यसपछि योजना अनुसार अस्पतालमा कमि रहेको अति आवश्यक उपकरणहरु जस्तै अल्ट्रासाउण्ड मसिन, त्यस्तै प्रयोगशाला विभागमा थाइरोइड, भोआईटिडी, हार्मोन एसे जस्तो जाँच गर्ने उपकरणहरु, क्षयरोग जाँच गर्ने जीन एक्सपर्ट मेसिन, पीसीआर जाँच गर्ने मेसिन लगायतको व्यवस्था गरियो । यी मेसिनहरु चाडै नै सञ्चालनमा आउँदैछ । यस्तै आकस्मिक विभागमा एईडी भेन्टिलेटर जस्तो उपकरणको व्यवस्था गरियो ।

बिस्तारै विस्तारै सेवा सुविधाहरु थपिँदै जाँदा बिरामीलाई पनि सेवा दिन स्वास्थ्यकर्मीहरुलाई सहज हुन थाल्यो। बिरामीहरूको पनि यस अस्पतालको सेवाप्रति विश्वास बढ्दै गयो।

अस्पतालको सम्पूर्ण विभागलाई सफ्टवेरको माध्यमबाट एक ठाँउमा जोडनका लागि र सम्पूर्ण विभागहरु गतिविधि हेर्नका लागि सेन्ट्रलाइज्ड गर्न इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम प्रत्येक विभागमा इन्स्टल गरियो र सञ्चालनमा ल्याइयो ।

यस्तै फार्मेसी, एक्सरे, ओपीडी, पोष्टअपरेटिभ सेवा र आकस्मिक सेवामा पहिलो वर्षमा केन्द्रित भई सेवा विस्तार तथा संचालन गरियो।
त्यस्तैगरी अस्पतालमा पोष्टमार्टमका सामग्रीहरू र मेडिकल अधिकृत हरुलाई आवश्यक तालिम दिई सेवालाई छिटो छरितो तरिकाले प्रभावकारी बनाइयो।

कुनै पनि अस्पतालमा रहेको औजार उपकरणहरु चुस्त दुरुस्त राख्नको लागि बायोमेडिकल डिपार्टमेन्टको आवश्यकता पर्दछ । यो बर्ष धादिङ अस्पतालमा एनएसआईको सहयोगमा बायोमेडिकल डिपार्टमेन्ट स्थापना गरिएको छ ।

कोभिड १९ को सुरुवात भएसंगै आइसोलेसन लगायत फिभर क्ल्नििक त्यसको लागि चाहिने जनशक्ति र नमूना संकलनका लागि चाहिने आवश्यक सामग्री र यस्तै एनपीएचएल र पीपीएचएलसंग समन्वय गरी स्वाव कलेक्सनमालाई प्रभावकारी बनाईयो ।

यसबीचमा वनहार्ट वल्र्ड वाईडसंग समन्वय गरी धादिङ अस्पताललले मेन्टल एण्ड न्युनेटल हेल्थ हेल्पलाइन सञ्चालन गरी दुर्गममा रहेको गर्भवती महिलाहरुलाई समयमा सल्लाह सुझाव र उद्धारको लागि सहयोग गरेको छ । यो सेवा सञ्चालन भएका जिल्लाहरुमध्ये धादिङ जिल्लाबाट सबैभन्दा धेरै गर्भवतीहरु लाभान्वित भएका छन् ।

त्यस्तैगरी यसवर्षदेखि सामाजिक सुरक्षा इकाई मार्फत ५० देखि १०० प्रतिशतसम्म बिरामीको अवस्था हेरी छुटमा उपचार गर्ने व्यवस्था अस्पतालले गरेको छ। हालसम्म १ हजारभन्दा बढी व्यक्तिले सो आंशिक तथा पूर्ण निःशुल्क सेवा लिइसकेका छन्।

त्यस्तै पछिल्लो आर्थिक वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम पनि प्रभावकारी रुपमा चलेको छ।

तर अहिले सम्म सर्वसाधारणमा स्वास्थ्य बीमा गर्दा हुने फाइदा को बारेमा राम्रो ज्ञान नभएको कारणले बिमा गर्नेको संख्यामा राम्रो सुधार हुन सकेको छैन।

अरु थप कार्यक्रमहरु यसरी हुँदैछ

यस वर्षदेखि प्रसूति गृहबाट विशेषज्ञ चिकित्सकहरुको द्वारा महिनामा एकपटक पाठेघरको शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ। हालको कोभिडको कारणले केही समयका लागि स्थगन भएपनि आउने दिनमा यो लगातार सञ्चालन हुनेछ।

यो वर्ष शहीद गंगालाल हृदय रोग केन्द्र सग समन्वय गरी हृदयघातको बिरामीहरूको लागि प्रारम्भिक चरणमा विशेषज्ञको निगरानीमा धादिङ अस्पतालमा उपचार र आवश्यक बिरामीलाई निःशुल्क औषधिको सुरुवात गरिएको छ।

त्यस्तैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग समन्वय गरी निकट भविष्यमा धादिङ अस्पतालमै स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सकहरु को पठनपाठनको व्यवस्थापन हुनेछ।

गत वर्ष गरिएको सामाजिक परीक्षणमा सेवाग्राही धादिङ अस्पतालको सेवाबाट सन्तुष्ट रहेको र राम्रो सेवा प्रभाव भएको देखिएको छ।
हालसालै आठ वटा भेन्टिलेटरसहित १० बेडको आईसीयू सञ्चालन भएको छ । ४ बेडको एसएनसीयूमा लागि स्तरबृत्ति गरी ५ बेडको एनआईसीयूमा सञ्चालन गर्ने र निकट भविश्यमै १० बेडको एचडीयू सञ्चालन गर्ने योजना रहेको छ ।

यस्तै निकट भविस्यमै थ्रीपार्ट लाउण्ड्री मेसिन जडान गरी सञ्चालनमा ल्याउने योजना रहेको छ । अहिले थप थप ५० सिलिण्डरको अक्सिजन प्लान्ट र लिक्वीड अक्सिजन प्लान्ट व्यवस्थापनमा लागि परेका छौँ । यस्तै निकट भविस्यमै ख बर्गको दुईवटा एम्बुलेन्स अस्पतालमा ल्याउने योजना रहेको छ ।

यी सबै कामहरु भएपनि विशेषज्ञ चिकित्सक देखि प्रशासनका कर्मचारीहरुको संख्या आवश्यक मात्रामा नहुँदा सहज तरिकाले काम सम्पन्न गर्न कठिन रहेको छ ।

अन्त्यमा, अस्पताल राम्ररी विकास हुनको लागि स्थानीयहरूको सहयोग ,विश्वास र सल्लाह को आवश्यकता पर्दछ। त्यसपछि मात्र त्यहाँको अस्पतालको सेवा प्रभावकारी हुन सम्भव हुन्छ ।

यो हस्पिटल हाम्रो हो भन्ने भावना हामी जिल्लाबासीहरुमा विकास हुनुपर्छ।

यस अस्पताललाई हामी सबैले आआफ्नो ठाउँबाट सहयोग माया गरेमा आउने दिनमा सामान्य र मध्यम प्रकृतिको बिरामी काठमाडौँ जानुपर्ने बाध्यताको अन्तय हुनेछ।

# डा.  झा  धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट हुन् ।

 

 

 

 

 

 

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *