सञ्चालन अनुमति नपाउँदा पूर्वाञ्चलमा एक बर्ष देखि थन्कियो पेट सिटिस्क्यान मेसिन

पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक वर्ष अघि जडान भएको पेट सिटिस्क्यान मेसिन देखाउँदै कार्यकारी निर्देशक प्रसाईं

झापा, ८ भदौ । बिर्तामोडस्थित पूर्वाञ्चल अस्पतालले क्यान्सर बिरामीका लागि ल्याएको पेट सिटिस्क्यान उपकरण (मेसिन) सञ्चालनको अनुमति नपाउँदा एक वर्षदेखि थन्किएको छ । सो मेसिन सञ्चालनमा नआउँदा क्यान्सरका बिरामी पेट सिटी गराउन ठूलो रकम खर्च गरेर भारत जान बाध्य भएका छन् ।

न्युक्लियर मेडिसिन अन्तरगतको पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर रोगको पहिचान गर्न, बिरामीको अवस्थाबारे जानकारी लिन मद्दत पुग्ने पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा बीरेन्द्रकुमार यादव बताउँछन् । उनी भन्छन, ‘पेट सिटीले क्यान्सर कहाँ कहाँसम्म फैलिएको छ, उपचार कस्तो भइरहेको छ भन्ने समेत जानकारी लिन सहज हुन्छ । क्यान्सर रोगमा प्रयोग भएको औषधि शरीरमा प्रभावकारी भए नभएको तथा शरीरमा क्यान्सर सेल भए नभएको पत्ता लगाउने काम समेत यसबाट हेर्न सकिन्छ ।’

‘सरकारले पेट सिटिस्क्यान मेसिन खरीद गर्नका लागि अनुमति त दियो तर सञ्चालन गर्ने बेलामा कानून बनेको छैन भन्दै रोकिएको छ । यसमा प्रयोग गर्ने रेडियो आइसोटोभका लागि छुट्टै कानून बन्नुपर्छ भनेर रोकेको हो । कानून कहिले बन्छ थाहा छैन् करोडौँ रकम खर्च गरेर ल्याइएको मेसिन अहिले सञ्चालन गर्न नपाई थन्किएको छ,’ अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाईले भने । उनले अगाडी थपे, ‘पेट सिटी सञ्चालन गर्न नपाउँदा नेपालबाट हजारौँ बिरामी भारत जान बाध्य छन् । यहाँ केही हजारमा हुने परीक्षण भारतमा गएर लाखौँ खर्च गर्न बाध्य छन् । हामीले कानून नबनेको भए छिटो बनाऔँ भनेका छौँ तर सुनवाइ भएको छैन ।’

स्वास्थ्य मन्त्रालयले खरीद अनुमति दिएको, वन तथा वातावरण मन्त्रालयबाट अस्पतालका लागि यो उपकरण आउछ भनेर वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) समेत पास गरिएको अवस्था हो तर न्युक्लियर मेडिसिनका लागि छुट्टै कानून बन्ने तयारी भएको भन्दै त्यो नआउँदासम्म नचलाउनु भनेर उर्दि भएको छ ।  ‘त्यसले हामी एक बर्ष देखि थन्किएर बसेका छौँ,’ कार्यकारी निर्देशक प्रसाईँले भने ।

त्यसो त सरकारले २०६४ सालमै राष्ट्रिय परमाणु नीति ल्याएको थियो । त्यसमा न्युक्लियर मेडिसिनको विषयमा र आइसोटोव्सको प्रयोगको बारेमा समेत उल्लेख गरिएको छ । सो नीतिको दफा ६.९.१ मा ‘चिकित्सा क्षेत्रमा नाभिकीय औषधि ( न्युक्लियर मेडिसिन) को प्रयोगका निमित्त रेडियो आइसोटोभ तथा इलेक्टिोनिक संयन्त्रको विकास गरिनेछ,’ भनिएको छ । अहिले त्यहि कानून संसोधनको क्रममा रहेको भन्दै कार्यान्वनयमा रोक लगाएको हो ।

करीब ३५ करोड रुपैयाँ बढीको मेसिन सञ्चालनमा नआउँदा अस्पताललाई समेत खर्चको बोझ थपिएको छ । मेसिन बाताकुनुल बनाएर राख्नु पर्छ । यसका लागि अपरेटर देखि न्यूक्लियर मेडिसिन चिकित्सकसमेत अस्पतालले एक वर्षदेखि तलब खुवाएर राखिसकेको छ । बैंकको व्याज र उपकरण सञ्चालनका लागि लागि आवश्यक म्यानपावर समेत गर्दा मासिक झण्डै ४० लाख खर्च भइरहेको कार्यकारी निर्देशक प्रसाईंले भने ।

अहिले देशभरबाट नै क्यान्सरका बिरामी पेट सिटिस्क्यान गर्न भन्दै झापा आउन खोजि रहेका छन् । तर ती बिरामीले खोजे अनुसार पेट सिटी सम्वन्धी सेवा दिन सकिईराखेको छैन् ।

पेटसिटीकै लागि भारत जाँदा बिरामीको करीव चार पाँच लाख खर्च हुने गरेको छ । तर नेपालमा अस्पतालले उपकरण सञ्चालनको अनुमति पाए आफूहरूले एक बिरामीको रु ६० देखि ७० हजारमा सो परीक्षण गर्न सक्ने डा यादव बताउँछन् ।

पूर्वाञ्चलले पेट सिटीका लागि चाइने रेडियो आइसोटोभ भारतको कोलकत्ताबाट ल्याउने योजना बनाएको छ । कोलकत्ताबाट सिलगुडीको वागडुग्रा विमानस्थलमा एक घण्टा र त्यहाँबाट आधा घण्टामा विर्तामोडमा उक्त रेडियो आइसोटोप ल्याइसक्ने भएकाले आफूहरूले बिरामीको उपचार गर्नका लागि पेटस्क्यान उपकरण राखिएको कार्यकारी निर्देशक प्रसाईले बताए ।

उनले उक्त उपकरणबाट दैनिक २० देखि ५० जना बिरामीको उपचार गर्ने योजना बनाएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *