काउन्सिलिङ’ हुनु त यस्तो पो !

- नेपाली हेल्थ

चितवन, ७ भदौ । उपचारार्थ काठमाडौँ पुगेका गोविन्द तिवारी चिकित्सकको ‘काउन्सिलिङ’ (परामर्श)बाट निकै प्रभावित भए। सोह्र वर्षअघि नारायणगढका शहीदचोकमा प्रहरीको राइफलको कुन्दाले कुटिएर ढाडमा‘ट्युमर’ पलाएपछि उपचार गर्न उनी राजधानी छिरेका थिए। यसो त आफ्नै परिवारका सदस्य चिकित्सक भए पनि उनले यस किसिमको परामर्श जिल्लामा कहिल्यै पाएनन्।

उनी ढाडमा पलाएको ‘ट्युमर’को शल्यक्रिया गर्न वरिष्ठ स्पाइनल सर्जन डा विनोद बिजुक्छेकामा पुगे। उपचारपछि निको भएर चितवन फर्किएका तिवारी डा बिजुक्छेका परामर्शको व्याख्या गरेर नसकिने बताउछन्। उनले भने, “चितवनमा यस्तो परामर्श कहाँ पाइन्छ र ? काठमाडौँमा अरुले के गर्छन थाहा भएन, उहाँको परमर्श सबै चिकित्सकले सिक्नुपर्छ।”

ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल उपनिर्देशकसमेत रहेका डा बिजुक्छे अस्पतालमा वरिपरि चिकित्सकीय समूहसँगै बिरामी र उनका आफन्त राखेर शल्यक्रियापूर्व एक घण्टा हाराहारीमा परामर्श गर्ने गर्छन्। उनले भने, “हामी साना ठूला जस्तोसुकै शल्यक्रियापूर्व बिरामीको अवस्थाका बारेमा पूर्णरुपमा परामर्श दिने गर्छौं।”

उपचारमा गएका बिरामीलाई सबै कुरा बुझाउने चिकित्सकको कर्तव्य भएको उनको भनाइ छ। स्पाइनलसम्बन्धी ठूला शल्यक्रियाका लागि उनी कहाँ बिरामी पुग्ने गर्दछन्। चिकित्सकका परामर्शमा कमजोर हुँदा अस्पतालमा धेरै समस्या आउने गरेको बताइएको छ।

सामान्यत : उठी उठी बिरामी र उनका आफन्तलाई दुई चार शब्द भनेर औषधि लेखी पठाउँदा बिरामी अन्यौलमा पर्ने गर्दछन्। शल्यक्रियापूर्व राम्रो परामर्श नदिँदा शल्यक्रियाका क्रममा दुर्घटना भएमा अस्पताल तोडफोडका घटनासमेत बढ्दो छ। राम्रोसँग परामर्श नपाउँदा औषधि लिएर घर जाने पूर्ण विश्वस्त भएर जान सकिरहेका हुँदैनन्। एउटै चिकित्सकले एकै दिन १०० भन्दा बढी बिरामी परीक्षण गर्दा कस्तो परामर्श हुन्छ रु भन्ने प्रश्न पनि उठ्ने गरेको छ।

सरकारी अस्पतालमा थोरै चिकित्सकले धेरै बिरामी परीक्षण गर्नुपर्दा राम्रो परामर्श दिनै भ्याउँदैनन्। यसो त तिनै चिकित्सकले निजीमा पनि यस्तै व्यवहार गरेको गुनासो आउने गर्दछ। कतिपय चिकित्सक भने परामर्शलाई प्रमुख रुपमा लिने गर्दछन्।

वरिष्ठ मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाईं बिरामी र उनका आफन्तलाई राम्रोसँग परामर्श गर्न नसक्दा अस्पतालमा दुर्घटना हुने गरेको बताउछन्। धेरै चिकित्सकले बिरामी र आफन्तलाई रोगका बारेमा राम्रोसँग नबुझाउने गरेको स्वीकार्दै उनले भने, “जस्तोसुकै रोगका बिरामी भए पनि हामीले राम्रोसँग बिरामी र आफन्तलाई बुझाउनै पर्छ।”

बिरामीको अवस्था यो छ, उपचार पछि यो हुन्छ भनेर प्रष्ट पार्न नसक्दा बिरामी र आफन्त असन्तुष्ट हुने गरेको उनको बुझाइ छ। उनले भने, “बिरामीले बुझ्ने भाषामा चिकित्सकले परामर्श गर्नुपर्छ। जति गर्नुपर्ने हो हामीले गर्न सकेका छैनौँ।” उपचारका लागि लाग्ने खर्चदेखि हुनसक्ने जटिलताका बारेमा समेत बुझाउनुपर्ने उनको भनाइ छ। चितवन मेडिकल कलेजमा कार्यरत डा सेढाईं सबै रोगमा परमर्शको जरुरी रहेकामा जोड दिन्छन्।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालीदास अधिकारी चिकित्सकले भ्याएर पुगेसम्म परामर्श दिने गरेको दावी गर्छन्। सरकारी अस्पतालमा धेरै बिरामी हेर्नुपर्दा पर्याप्त परामर्श दिन नसकिएको भने उनको स्वीकारोक्ति छ। परामर्श मात्रै होइन, धेरै कुराको अभाव सरकारी अस्पतालमा हुने गरेको अधिकारी बताउछन्।

बुद्धिजीवी प्रेम रिमाल उपचार जीवन र मरणसँग सवाल भएकाले परामर्श राम्रो दिनुपर्ने बताउछन्। युरोप, अमेरिकालगायतका देशले परामर्शलाई बढी जोड दिने गरेको भन्दै उनले भने, “यहाँको परामर्श कमजोर छ, चिकित्सकले मैले भनेपछि के भन्नुपर्‍यो भनेर बिरामीसँग भन्ने गर्दछन्।”

पुराना र गनिएका चिकित्सकको परामर्श कमजोर भएको भन्दै उनले नयाँ पुस्तामा परामर्शको विकास हुँदै गएको पनि बताए। परामर्शलाई चिकित्सकले दायित्वका रुपमा लिनुपर्ने उनको भनाइ छ। रासस

 


Facebook Comment


थप समाचार